माधव नेपाल सकारात्मक, उपेन्द्रको अस्वीकार

|

काठमाडौं : ‘बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ। त्यसमा वामदेवजी पनि मिसिनुभएको छ। औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन‚ छिट्टै यस विषयमा निर्णय हुनेछ‚’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार जनकपुर पुगेर भने। 

उनले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा समझदारी बनाएर विशेष खालको चुनावी मोर्चा वा पार्टी एकता संयोजन समिति बनाउनेबारे छलफल भइरहेको उनको भनाइ थियाे। 

सत्ता गठबन्धन नटुटाउने बताउँदै आएका प्रचण्डले वामपन्थी एकता गराउने भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरुसँग छलफल गरिरहेका छन्। 

सत्ता गठबन्धनभित्र वामपन्थी भन्दै एकताको पहल गरेको प्रचण्डले एमाले र कांग्रेसलाई नै टक्कर दिने गरी चुनावी मोर्चा बनाउने पहल गरेका हुन्। 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमध्ये कांग्रेसले एक सय सिट ल्याएर ५ वर्ष आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। तर त्यही निर्णयप्रति प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताहरु असन्तुष्टि पोख्दै आइरहेका छन्। 

प्रचण्डले आगामी निर्वाचनमा यही गठबन्धनलाई कामय राखेर आलोपालो प्रधानमन्त्री बन्ने रणनीतिमा छन्। यसअघि पनि ०७४ सालको निर्वाचनमा पनि प्रचण्डले कांग्रेससँग सहकार्य गरिरहेको बेलामा एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकतासम्म गरेका थिए। 

तर केपी ओली आलोपालो प्रधानमन्त्रीको सहमति तोडेपछि तत्कालीन नेकपामा विवाद भएको थियो। जुन जम्न नसकेपछि अहिले विभाजित भएर ४ टुक्रा बनेको छ। त्यसैको फाइदा कांग्रेसले उठाएर बहुमत ल्याएर आफ्नो नेतृत्वको सरकार गठन गर्ने लक्ष्य बनाएको छ। 

त्यसो त माओवादी केन्द्रका नेता वर्षमान पुन ४ पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताउँछन्। 

संसद परिसरमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन। समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ। आगामी निर्वाचनमा मोर्चा बनाएरै जान्छौँ।’ 

उनले आफूहरुले मोर्चा बनाएर गएपछि कांग्रेससँग आवश्यकताका आधारमा मात्रै तालमेल गर्ने प्रष्टाए। 

प्रचण्ड-बाबुराम एकै ठाउँमा!

नेकपा माओवादीको नेतृत्वमा विसं २०५२ सालमा शुरु गरेको दशवर्षे जनयुद्ध कालमा प्रचण्ड र बाबुराम एकै ठाउँमा थिए। तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड र बाबुराम दुवैले सत्ताको बागडोर सम्हाले। 

माओवादी छाडेर बाबुरामले ०७३ जेठ ३० गते ‘नयाँ शक्ति’ पार्टी घोषणा गरेका थिए तर सफल भएनन्। प्रचण्ड भने अझै माओवादी नेतृत्वमै छन्। 

बाबुरामले नयाँ शक्तिलाई मधेशकेन्द्रित दल जसपामा लगेर हेलेको भए पनि अहिले अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेपछि वैकल्पिक बाटो खोजिरहेका छन्। तर,जसपाबाट खेदिएका बाबुराम अहिले उनै जनयुद्धको सहयात्री प्रचण्डसँग नजिकिएका छन्।

चुनावको मुखमा प्रचण्डले आफ्नो सहयात्री बाबुरामसँगको बाक्लिँदो भेटले वैकल्पिक शक्तिको रुपमा समाजवादी केन्द्र बनाउनेबारे दुवै पक्ष सकारात्मक भएको बाबुरामनिकट नेता गंगानारायण श्रेष्ठ बताउँछन्। 

उनले भने, ‘अहिले समाजवादी केन्द्र निर्माणको विषयमा छलफल चलिरहेको छ। कुनै निर्णय भइसकेको छैन। तर समाजवादी केन्द्र बनाउँदा ठूलो शक्ति बन्नसक्छ। त्यसैले हामीले आगामी निर्वाचनअघि नै एउटा स्वरुपमा दिनुपर्छ भनेका छौँ।’

प्रचण्डले बाबुरामलाई माओवादीमै फर्काउने प्रयास नगरेका होइनन्। तर बाबुरामले कम्युनिष्ट नामसँगै चित्त नबुझाएको कारणले समाजवादी केन्द्र निर्माणबारे छलफल अघि बढाएको माओवादी नेता दिनानाथ शर्मा बताउँछन्। 

समाजवादी केन्द्र कस्तो हुन्छ? यसको उद्देश्य र लक्ष्यबारे कुनै निश्चित भइनसकेको उनले बताए।  

त्यसबारे उनको भनाइ: 

समाजवादी केन्द्रको विषयमा छलफल चलिरहेको छ। बाबुरामजी विषेशगरी समाजवादी केन्द्र बनाउनुपर्छ भनेर लागि राख्नुभएको छ। नेकपा समाजवादी केन्द्र राख्नुपर्छ भन्नेबारेमा पनि छलफल चलेको छ। तर उहाँ (बाबुरामजी)ले कम्युनिष्ट पार्टीलाई मन पराउनुभएको छैन। त्यसैले समाजवादी केन्द्र भयो भने आफू पस्न सजिलो हुन्छ भन्ने उहाँको कुरा हो। 

समाजवादी केन्द्र कुनै पार्टीको एकताको लागि भन्दा पनि युथ फोरमको लागि एकताबद्ध बनाएर जानुपर्छ भन्ने हो। त्यसको पहलकदमी बाबुरामजीले गर्नुभएको छ। यसको स्वरूपको विषयमा कुनै टुंगो लागेको छैन। वामपन्थीहरू एक हुनुपर्छ भन्ने हो। समेटिनुको उद्देश्य हुन्छ। त्यसमा के को लागि भन्ने पनि हुन्छ। 

चुनावलाई केन्द्रमा राखेर हो कि? कुनै संगठन, एकता र समाजवादी केन्द्रको लागि हाे कि भन्ने स्वरुप आइसकेको छैन। अहिले प्रचण्ड र बाबुरामजीले एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपालाई पनि समेट्नुपर्छ भनेर लाग्नुभएको छ। त्यसबारे कुनै निश्चित भइसकेको छैन। 

माधव नेपाल सकारात्मक 

समाजवादी केन्द्र निर्माणको विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सकारात्मक छन्। अध्यक्ष नेपालले एमाले बाहेकका वामपन्थी एकतामा जोड दिएको भए पनि सम्मानित नेता झलनाथ खनाल भने एमालेसँग तालमेल गरेरै जानुपर्ने पक्षमा छन्। उनले पार्टीभित्र अध्यक्ष नेपालमाथि दबाब बढाइरहे पनि एमालेले सकारात्मक सन्देश दिएको छैन। 

उनले समाजवादी केन्द्र बनाउने कुरामा नेकपा ब्यूँताउनदेखि नयाँ शिराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको सार्वजनिक रुपमै बताइसकेका छन्। 

समाजवादी केन्द्रको विषयमा पार्टीभित्र छलफल थालनी भएको प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन्। 

उनी भन्छन्, ‘हामी वामपन्थी एकताबद्ध हुनुपर्छ भन्ने पक्षमै छौँ। त्यसैले अहिले समाजवादी केन्द्र निर्माणको विषयमा पार्टीमा प्रवेश भएको छ। तर त्यसबारे कुनै ठोस धारणा बनिसकेको छैन।’

यता, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने गठबन्धनप्रति सकारात्मक छैनन्। स्थानीय तहको निर्वाचनमा आफूहरुलाई धोका भएको भन्दै उनले एमालेसहितको वाम एकताको पक्षमा आवाज उठाइरहेका छन्। 

‘कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन सक्दैन। तालमेल गर्दा  सम्मानजनक भूमिका दिनुपर्छ। के भनेको त्यो? बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही? अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने? केको लागि जाने? पुच्छर बन्न?‚’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए। 

उपेन्द्रको अस्वीकार  

प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेका बाबुरामलाई साथ लिएर समाजवादी केन्द्र निर्माणको गृहकार्य गरिरहेको बेलामा उनले फरक मत राखेका छन्।

समाजवादी केन्द्रको विषयमा प्रचण्डसँग निरन्तर संवाद गरिरहे पनि बाबुरामसँग पार्टीबाट अलग भएलगत्तै एकै ठाउँमा मिसिन उपेन्द्र सकारात्मक नदेखिएको उनीनिकट नेताहरु बताउँछन्। त्यसो त उपेन्द्रले ग्रिन सिग्नल दिएकै कारणले प्रचण्ड निरन्तर छलफलमा जोडिएको माओवादीका एक नेता बताउँछन्। 

ती नेता भन्छन्, ‘तत्काल बाबुरामजीसँग सँगै बस्न नैतिक रुपमा पनि उहाँलाई समस्या परेको छ। त्यसैले चुनावी मोर्चाको लागि भने उहाँ सकारात्मक नै हुनुहुन्छ।’ 

यता, जसपा नेता मनिष सुमन आफूहरूको पार्टी नै समाजवादी भएकाले समाजवादी केन्द्रमा जानुपर्ने आवश्यक नभएको बताउँछन्। 

उनी भन्छन्, ‘समाजवादी केन्द्रबारे पार्टीमा औपचारिक रुपमा प्रवेश पाएका छैन। अध्यक्षज्यूसँग कुरा आएको भन्ने थियो। तर हामीले हाम्रो पार्टी नै समाजवादी भएकाले कम्युनिष्टहरूसँग जोडिएको समाजवादी केन्द्रमा जानुपर्छ भन्ने नभएर अस्वीकार गरिसकेका छौँ।’

समाजवादी केन्द्र बनाउनुको सट्टा सबै जसपामै आए सहज हुने उनको बुझाइ छ। 

तपाईंहरु पनि गठबन्धनमा हुनुहुन्छ। एउटै मोर्चाबाट जाँदा सहज हुने भएकाले प्रस्ताव गर्नुभएको होला? नि भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धन र समाजवादी केन्द्रको विषयमा एकै हुँदैन। गठबन्धनमा त कांग्रेस पनि छ नि। त्यसैले हामीले त्यहाँ जान आवश्यक छैन।’   

जसपाले कारवाही गरेर अलग बाटोमा हिँडेको भएपनि उपेन्द्र–बाबुराम अहिले सत्ता गठबन्धनमै छन्। प्रचण्डले चुनावलाई केन्द्रमा राखेर एमाले र कांग्रेसलाई काउन्टर दिने उद्देश्यले नयाँ शक्ति निर्माण थालेकाले उपेन्द्रले तत्काल उप-गठबन्धन पनि छाड्ने मनस्थिति नबनेको राजनीतिक वृत्तमा चर्चा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.