|

एजेन्सी : विश्वव्यापी रुपमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएको र नेपालसँग खुला सिमाना भएको छिमेकी भारतमा पनि यसका बिरामी देखिँदै गएपछि नेपालमा पनि पूर्वतयारी थालिएको छ।

टेकुस्थित एक मात्र केन्द्रीय सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सम्भावित मंकीपक्स संक्रमणको जोखिमलाई ध्यान राख्दै यसको उपचारका लागि बेड छुट्याएको हो।

विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेलगत्तै टेकु अस्पतालले १० वटा ‘एयर बेड’ छुट्याएको हो। अस्पतालले हाल इमर्जेन्सी उपचारका लागि ४ वटा र अन्य आइसियूमा बेड छुट्याएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बताए।

‍उनले भने‚ ‘मंकीपक्स तथा अन्य सरुवा रोगको जोखिम भएकाले यो बढिरहेको बेला हामीले एयर बेड छुट्याएका हौँ।’ 

के हो ‘एयर बेड’?

विभिन्न प्रकारका भाइरसबाट संक्रमितको उपचार गर्दा भाइरस हावाको माध्यमबाट अर्को व्यक्तिमा नसरोस् भनेर बिरामीलाई राखेर उपचार गर्ने एउटा ठूलो प्लास्टिकको बेड हो एयर बेड।

सामान्य भाषामा झुलसहितको बेड भनेर बुझिने उक्त एयर बेडभित्र बिरामीलाई राखिने र त्यसैमा बाहिरसम्म झोडिएको डन्डीबाट बिरामीले फेरेको श्वास बाहिर फालिने हुँदा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम न्यून हुने भण्डारीले बताए।

‘सामान्य बुझाइको भाषामा झुलसहितको विशेष बेड हो, यसभित्र बिरामीलाई राखिन्छ र बेडमा सान प्वाल पारेर पाइप जोडिएको हुन्छ। उक्त प्वालबाट बाहिरको हावाभित्र गएर बिरामीले श्वास लिन्छ भने संक्रणमजन्य हावा विशेष प्रविधिको माध्यमद्वारा त्यसबाट बाहिर फालिन्छ‚’ उनले भने।

गत असार २ गते दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएपछि टेकु अस्पताल भर्ना भएका थिए। पछि परीक्षणमा उनलाई कुष्टरोग पुष्टि भएको थियो।

त्यस वेलादेखि नै मंकिपक्सका सम्भावित बिरामी राख्ने छुट्टै बेड व्यवस्था गर्नेबारे छलफल भएता पनि भारतमा मंकिपक्सका बिरामी बढ्दै गएपछि र डब्लुएचओ पनि यसलाई लिएर जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेपछि अस्पतालले छुट्टै बेड व्यवस्था गरेको भण्डारीले बताए।

के छ सरकारको तयारी?

यता मंकीपक्सको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विमानस्थलसहित १४ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा निगरानी बढाएको छ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा‍. समीर अधिकारीका अनुसार नेपाल-भारत सीमामा कडाइमा साथ निगरानी बढाउनुका साथै देशभर १४ जना फोकल चिकित्सकसमेत तोकिएको बताए। ‘हामीले सबै सीमा नाकामा निगरानी बढाउन निर्देशन दिइसकेका छौँ‚’ उनले भने।

नेपालमा नै पुष्टिको लागि नमूनाको परीक्षण पनि पिसिआर विधिबाट गर्नुपर्ने हुँदा हाल नेपालमा धेरै ठाउँमा पिसिआर परीक्षण उपकरण भएकाले यसको नेपालमा नै पहिचानको लागि परीक्षण हुने उनले बताए।

‘हामीसँग धेरै ठाउँमा पिसिआर मेसिन छन् अब विश्व स्वास्थ्य संगठनको सहयोगमा परीक्षणका लागि आवश्यक किट आउँदैछन्‚ त्यसपछि यहीँ नमूना परीक्षण हुन्छ‚’ उनले भने।

मन्त्रालयले पूर्वतयारीका लागि इपिमिडियोलजी, उपचार प्रोटोकल, प्रयोगशाला निदान रणनीति आदिको अभिमुखीकरण प्रदान गरिसक्नुक साथै यसको जोखिम न्यूनीकरण गर्ने तयारी र प्रतिकार्यका कदमहरु सिफारिश गरेको छ।

अब नाकामा अभिमुखीकरण गर्ने, स्वास्थ्यकर्मीलाई तालिम दिने, संक्रमणको पहिचान र निदानका लागि प्रयोगशाला क्षमता विकास गर्ने, संक्रमणको जोखिम हुन सक्ने जनसंख्या वा समुदायमा सम्भावित संक्रमणबारे जानकारी दिन मुख्य समुदाय आधारित समूहहरु, यौन स्वास्थ्य र नागरिक संजालहरुलाई संलग्न गराउने मन्त्रालयको योजना रहेको छ। ​

मंकीपक्स द्रुत गतिमा फैलिरहेको छडा पुनम क्षेत्रपाल

यता डब्लुएचओले दक्षिण-पूर्वी एसिया क्षेत्रका देशहरूलाई मंकीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ। दक्षिण-पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम क्षेत्रपाल सिंहले  विज्ञप्ति जारी गर्दै मंकीपक्स द्रुत गतिमा फैलिरहेको र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको जनाएकी छन्।

डब्लुएचओका अनुसार विश्वभर ७५ देशका १६ हजारमा मंकीपक्स सङक्रमण पुष्टि भएको छ। दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा ३ र थाइल्याण्डमा १ गरी जम्मा ४ जनामा मंकीपक्सको सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ।

भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मंकीपक्स सङ्क्रमणको पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रभावित समुदायलाई सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपाय तीव्र बनाउनु, स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रण बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धान बढाउनु संक्रमण रोक्ने मुख्य उपाय हुन्।

मंकीपक्स सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ। सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासको प्रत्यक्ष सम्पर्कमा आएमा बिरामीबाट अर्को मानिसमा यो रोग सर्न सक्छ।

हाल प्रकोप फैलिएका देशमा मंकीपक्स सङ्क्रमणमध्ये मुख्य रूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ। सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सामग्रीबाट पनि रोग सर्न सक्छ।

पछिल्लो समय १२ देशसम्म पुगिसकेको यो भाइरस पश्चिम र मध्य अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो। यो भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो।

त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो। पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.