वातावरणविद् भन्छन्, ‘काँटछाँट नगरे दुर्घटना अझै बढ्छ’

|

काठमाडौं : सिंहदरबारभित्रै गत जेठ ५ गते हावाहुरीले भाँच्चिएर खसेको रुखको हाँगाले लागेर सिंहदरबारका कर्मचारी विजय कार्कीको मृत्यु नै भयो।

पाल्पाको रम्बा गाउँपालिका–५ घर भएका २७ वर्षीय कार्की राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत थिए। विभागको परिसरमा रहेको रुखको हाँगा भाँच्चिएर उनको टाउकोमा लागेको थियो। 

फेरि हिजो (आइतबार) भक्तपुरको सल्लाघारीमा गुडिरहेको बा २ ख ३५८४ नम्बरको मिनीबस र बा ६१ प ३९७८ नम्बरको स्कुटरमाथि सल्लाको रूख बजारिँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार आइतबार मध्याह्न १२ बजे काठमाडौंबाट यात्रु बोकेर कमलविनायकतर्फ मिनीबस जाँदै थियो। 

यो घटनाबाट भक्तपुर नगरपालिका–२ व्याँसीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेलको मृत्यु भएको छ।

यी घटना उदाहरण मात्र हुन्। सरकारले समयमा सडक किनारका रुखको संरक्षण नगर्दा वर्षेनी अकालमै सर्वसाधारणले ज्यान गुमाइरहेका छन्। अझै पनि एअरपोर्ट, सल्लाघारी, त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेका रुखले जोखिम निम्त्याएको छ। यसबाट पैदल यात्रु र सवारीचालक त्रासमा हिँड्न बाध्य छन्। 

देशभर ३ महिनामा ९ जनाको ज्यान गयो

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि साउन ९ गतेसम्म अर्थात ३ महिनामा हावाहुरीले देशभर ९५ घटना घट्दा ९ जनाको ज्यान गएको छ।

‘हावाहुरीले रुख ढल्दा किचेको, घर टहरा भत्काएको लगायत घटनामा ९ जनाको ज्यान गएको तथ्यांक छ,’ प्राधिकरणका सहसचिव रामेश्वर मरहट्ठाले भने।

प्राधिकरणका अनुसार यही हावाहुरीले ३४ जना घाइते भएका छन्। सडक किनारामा रहेको  रुखहरूको उचित व्यवस्थापन नगरिए मानवीय क्षतिको अझै बढ्ने उनले बताए।

वातावरणविद् भन्छन्, ‘बेवास्ताले घटना बढे’

वातावरणविद् भूषण तुलाधर सरकारकै बेवास्ताले अकालमै सर्वसाधारणले ज्यान गुमाइरहेको बताउँछन्। उनी भन्छन्, ‘रुख रोपेर मात्र हुँदैन, त्यसको हेरचाह संरक्षण गरिनुपर्छ, काँटछाँट गर्नुपर्छ तर सरकारले यसमा बेवास्ता गर्‍याे।’

उनका अनुसार काठमाडौं उपत्यकाभित्रै सडक किनारका अधिकांश रुख ढल्न लागेका छन्। यस्ता जोखिमपूर्ण रुख खोजेर वेलैमा काट्नुपर्ने उनको सुझाव छ। ‘बिजुलीको नांगा तारले रुखको हाँगा जहाँ छोएको छ, त्यहाँ पनि जोखिम हुन्छ,’ उनले भने।

उनका अनुसार जथाभावी सडक विस्तार गरिँदा रुखका जरा कमजोर बन्ने र रुख ढल्ने गर्छन्। कुनै रुखको बढी हाँगा भएकाले थेग्न नसक्दा पनि ढल्ने गरेको उनको भनाइ छ। ‘हावाहुरी धेरै चलेका वेला यस्ता रुख कमजोर बनेका हुन्छन्,’ उनले भने।

​शहरको हरियाली प्रवर्द्धन गर्न भन्दै रुख रोपेर मात्र नहुने उनको भनाइ छ। ‘स्थानीय तह, सडक विभागलगायत निकायले सडक खनिरहेका छन्,’ उनले भने, ‘तर व्यवस्थापनतर्फ ध्यान दिएन।’ सरकारले वेलैमा जोखिम रहेका रुखको व्यवस्थापन नगरे यस्ता घटना अझै दोहोरिइरहने उनले बताए।

किन काँटछाँट गरिँदैन?

रुखले सडकमा यात्रा गर्ने सर्वसाधारणको ज्यान लिँदा यता वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका सूचना अधिकारी सरोजा अधिकारीले भने रुख संरक्षण र काँटछाँट गर्ने जिम्मा स्थानीय तहको रहेको जानकारी दिइन्।

‘हामीले वृक्षरोपण गर्ने कामचाहीँ गर्छौं तर यसको रेखदेख, कुन रुख जोखिमपूर्ण छन्, यी काट्ने जिम्मा स्थानीय तहको हो,’ उनले भनिन्। प्राधिकरणका सहसचिव मरहट्ठाले पनि सडक किनारका रुखको व्यवस्थापन सडक विभागलगायत निकायले गर्नुपर्ने बताए। ‘हामीले समन्वय गरि काम भने गरिरहेका छौँ,’ उनले भने।

जोखिमपूर्ण रुख हटाउँदै आएका छौँ : सडक विभाग

सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारी जोखिमपूर्ण रुख निरन्तर काट्दै आएको दाबी गर्छन्। कहिलेकाहीँ राम्रो अवस्थामा रहेको रुख ढल्दा भक्तपुरको जस्तै घटना हुने गरेको उनले बताए।

‘सडक किनारमा रहेको जोखिम रुखहरू काटिरहेका छौँ,’ उनले भने, ‘यो निरन्तरको काम हो, रुखका हाँगाहरू पनि काटि नै रहेका छौँ। कहिलेकाहीँ नसोचेको घटना घट्छ।’ भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले पनि सल्लाघारीको जोखिम रुख कटान गरिने जानकारी दिए।

‘कहाँको कुन क्षेत्रको रुख त्यहीअनुसार सेना, सडक विभागलगायतले हेर्छ, स्थानीय तहभित्र पर्दैन। यहाँको सल्लाघारीको जोखिम रुख भने जिल्ला प्रशासन कार्यालय र सडक विभागको छलफलपछि काट्ने निर्णय भएको छ,’ उनले भने। कतिपय ठाउँका रुख कानुनी नियमले गर्दा पनि काट्न समस्या हुने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.