सल्यान : सामुदायिक विद्यालय भनेको नेपाली समाजमा विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने विद्यालय हो जस्तो हुँदै आइरहेको छ। सामान्य आम्दानी गर्नेहरू पनि ठूलाबडाको सिको गरेर सकी नसकी संस्थागत विद्यालयमा पढाउन बाध्य छन्।
दक्ष र अनुभवी शिक्षक र भौतिक सुविधा हुँदा समेत सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने र अंग्रेजी बोल्नु र पढ्नुलाई मात्र छोराछोरीले राम्रो पढिरहेको भन्ने अभिभावकको बुझाइ छ। अधिकांश अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउन नाक खुम्च्याउँछन्।
केही यस्ता सामुदायिक विद्यालय पनि छन् जुन संस्थागत विद्यालयलाई समेत माथ गर्दै आएका छन्। अभिभावक र शिक्षकबीचको सम्बन्ध प्रगाढ बनाउन सक्ने हो भने सामुदायिक विद्यालयको पढाइ जस्तो संस्थागत विद्यालयमा पनि हुँदैन भनेर उदाहरण दिएका छन्। त्यसमध्येको एक विद्यालय हो‚ जिल्लाको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरामा रहेको कालिका प्राथमिक विद्यालय।
शिक्षक र अभिभावकबीच आपसी समझदारीबीच अघि बढ्न सक्ने हो भने सामुदायिक विद्यालय पनि अब्बल विद्यालय बन्न सक्छ भनेर उदाहरण दिएको छ‚ यस विद्यालयले। सैद्धान्तिक ज्ञानको माध्यमबाट मात्र भन्दा पनि व्यवहारिक र जीवनोपयोगी शिक्षालाई आफूहरूले पहिलो प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक बालाराम वलीको भनाइ छ।
'अबको विद्यार्थीलाई घोकन्ते र किताबी किरो बनाएर मात्र सिकाउन नसकिने निष्कर्ष निकालेर सानै उमेरदेखि जीवनोपयोगी शिक्षालाई जोड दिएका छौँ', उनले भने।
पालिकामा एक आवासीय विद्यालयमा बनाऔं
प्राथमिक तहबाट कृषि र जीवनोपयोगी शिक्षा दिन सकिए भोलि गएर कोही पनि बेरोजगार बस्नु नपर्ने सोच बनाएका प्रधानाध्यापक वलीले पालिकाभित्र कम्तिमा एउटा विद्यालयलाई आवासीय बनाउन आग्रह गर्छन्।
शिक्षक विद्यालयमा बस्यो भने जीवनोपयोगी शिक्षा प्रदान गर्न थप मद्दत पुग्ने उनको बुझाइ छ। 'मैले पालिका गाउँपालिकामा अध्यक्ष, प्रमुख प्रशासकीय, शिक्षा शाखा लगायत सम्पूर्णलाई भनेको छु- पालिकामा कम्तिमा एक विद्यालयलाई नमुना विद्यालय घोषणा गरेर आवासीय बनाऔं’, उनले भने।
आफ्नै करेसाबारी
विद्यालयले अभिभावकको सहयोगमा विद्यालयमा करेसाबारी बनाएको छ। करेसाबारीमा विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी रोपेर त्यसबारे विद्यार्थीलाई सिकाउने गरिएको छ।
‘हामीले कुनै पनि विषयलाई प्रयोगात्मक तरिकाबाट सिकाउँछौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर वलीले भने, ‘किताबी ज्ञानका साथै जीवनोपयोगी सीपको विकासमा समेत ध्यान दिएका छौँ।’ करेसाबारीमा उत्पादित तरकारीले विद्यार्थीलाई दिवा खाजा व्यवस्थापनमा समेत सहज भएको छ। करेसाबारीमा धान, अदुवा, काउली, टमाटर, बन्दा, साग, प्याज आदि उत्पादन हुने गरेको छ।
प्रयोगात्मक सिकाइले उपलब्धि बढ्यो
विद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन गरिएको छ। बाल विकासदेखि ३ सम्मका विद्यार्थीलाई कार्पेट राखेर बालमैत्री बसाइँ व्यवस्थापन गरिएको छ भने कक्षा ४ र ५ का लागि यु र भी आकारमा अन्तरसंवादात्मक तरिकाले पढाउन मिल्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले पढाइ सुधारका लागि विभिन्न पहल गरेपछि विद्यालयको सिकाइ उपलब्धि सुधार हुँदै गइरहेको अध्यक्ष वलीको भनाइ छ। ‘पहिले हाम्रो विद्यालय औसत विद्यालयको रूपमा थियो’, उनले भने, ‘अहिले हाम्रो सिकाइ उपलब्धि ६६ प्रतिशतभन्दा बढी छ। जिल्लाकै सिकाइ उपलब्धि भने ५५ प्रतिशतको हाराहारीमा छ। चालू शैक्षिक सत्रमा विद्यालयमा ८८ विद्यार्थी रहेका छन्।'
विद्यालयले अभिभावकसँग सम्बन्ध विकासका लागि तीन महिनामा अभिभावक भेलाको साथै छुट्टै आमा अभिभावक भेला गरिरहेको शिक्षक अभिभावक संघका अध्यक्ष डम्बरबहादुर खत्रीले बताए। विद्यालयलाई हरित, शान्त र सुरक्षित रूपमा विकास गर्न आफूले सकारात्मक अनुशासनलाई जोड दिएको प्रअ वलीले बताए।
प्राथमिक तहमै कम्प्युटर शिक्षा
८८ जना विद्यार्थी रहेको विद्यालयमा सबै कक्षाका विद्यार्थीले हप्तामा एकदिन कम्प्युटरबारे सिक्न र चलाउन पाउँछन्। यसले उनीहरूको ज्ञान र सीपको विकासमा अझ मद्दत पुगेको विद्यालयका प्रधानाध्यापक वलीको भनाइ छ। विद्यालयमा कम्प्युटरको व्यवस्थापनका लागि युवा क्लब, अभिभावक सामुदायिक वन समूह, पूर्व विद्यार्थी र गाउँपालिकाले सहयोग गरेका थिए।
विद्यालयमै संग्रहालय
विद्यालयले पुराना लोप हुन लागेका ग्रामीण क्षेत्रमा पाइने सामग्रीलाई विद्यालयमा संग्रहालय बनाएर राखेको छ। हराइसकेका र हराउन लागेका सामग्रीको विद्यार्थीलाई ज्ञान होस् भनेर विद्यालयमा संग्रहालयको व्यवस्था गरिएको छ। स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यक्रम अघि बढाउन सजिलो भएको छ।
बढ्दो शहरीकरणसँगै पुराना सामग्री लोप हुँदै जान थालेपछि यस्तो रणनीति बनाएर विद्यार्थीलाई सिकाउन थालेको वलीले बताए। विद्यालयको चर्चा हुन थालेपछि विद्यालयमा सरोकारवाला निकाय, शिक्षक तथा विद्यार्थीसमेत पुग्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।