काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यार्थीहरूलाई यातना र बढी पुस्तकको भारी नबोकाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिएको छ।
प्याब्सनले बुधबार आयोजना गरेको आइटी र लाइब्रेरियन तालिमका लागि हस्ताक्षर कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले यस्तो निर्देशन दिएका हुन्।
ढुंगानाले भने, ‘अहिले विद्यार्थीलाई शिक्षकले दिएको यातना र भारी पुस्तकको झोला बोकाएको विषय मिडियामा चर्चामा छ। झोला जोखेको भिडियोले म आफैँ दुःखी छु, हामीले विद्यालयलाई यसो नगर्न सर्कुलर जारी गरिसकेका छौं। फेरि भन्छु- कुनै शारीरिक र मानसिक यातना दिन पाइँदैन, नदिनु होला।’
उनले विद्यार्थीहरूलाई नयाँ ढंगले पढाउन शिक्षकहरूलाई तालिम प्रदान गर्दै आएको र आचारसंहिता छिट्टै ल्याउने बताए। विद्यार्थीहरूलाई ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई झोला बढीभन्दा बढी बोकाउने होइन,छैन पनि। अब करिकुलम रिसर्च बेसमा जान्छ, धेरै पुस्तक कापी बोकाउने उद्देश्यमा हामी छैनाैँ।’
पछिल्लो समय निजी विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई विद्यालयमै चरम यातना दिने घटना सार्वजनिक हुँदै आएका छन्। त्यस्तै, मापदण्डविपरीत अनावश्यक पुस्तक विद्यालयले बोकाइरहेका छन्।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि पाठ्यसामग्री र खाजासहित ४ केजीसम्म, आधारभूत तह कक्षा ६ देखि ८ का लागि ६ केजीसम्म र माध्यमिक तहका लागि ८ केजीसम्म मात्रै बोक्न पाउने उल्लेख छ।
अझ पूर्वप्राथमिक तहका विद्यार्थीका लागि पाठ्यसामग्री सहितको झोला बोक्न निरुत्साहित भनिएको छ। तर अहिले विद्यार्थीले बोकेको झोलाको तौल १० केजीभन्दा माथि छ। जसकारण विद्यार्थी र बालबालिका सास्ती खेप्न बाध्य भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।