|

बागलुङ : कृषिमा आधुनिकीकरण हुन थालेपछि बागलुङका कृषक कागती खेतीतर्फ आकर्षित भएका छन्। ५ वर्षअघिसम्म बागलुङका विभिन्न स्थानमा व्यावसायिक रुपमा कागती खेती गरेको पाइँदैनथ्यो तर अहिले धेरै ठाउँमा कागती खेतीमा कृषकको आकर्षण बढेको पाइन्छ। निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको संख्या बढेको छ।

५ वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीय स्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेको छ। ३/४ वर्षमै फल दिने कागती कृषकले लगाउन थालेपछि भारतबाट आउने कागतीको माग घटेको स्थानीय व्यापारी बताउँछन्।

केही समय अगाडिसम्म गलकोटमा बाहिरबाट कागती आयात भएको देखेपछि गलकोट नगरपालिका वडा नम्बर ९ छिसका मित्रप्रसाद खरेललाई कागती खेती गर्न मन लाग्यो। ६ वर्षअघि आफ्नै जग्गामा परीक्षणका लागि खरेलले सय बोट कागतीका बिरुवा रोपे। कागती रोपेपछि उनले कागतीको संभावना र जग्गा व्यवस्थापनबारे अध्ययन अवलोकनसमेत गर्न भ्याए।

खरेलले लगाएका सय बोटमध्ये ८० बोटले ३ वर्षमै उत्पादन दिन थाले। उनले अहिले १० रोपनी जग्गामा ५ सय कागतीका बिरुवा छन्। उनले बाहिरबाट आउने कागती रोक्नकै लागि खेती गरेको बताउँछन्।

‘गलकोटमा भारतबाट कागती आएको देखेँ, शुरुमै धेरै बिरुवा लगाउन सकिनँ। विस्तारै कागती खेतीको विषयमा बुझ्दै गएँ, बिरुवा फस्टाउँदै गयो‚’ खरेलले भने ‘अहिले ३ वर्ष भयो ८० बोटले उत्पादन दिन थालेको भने नयाँ बिरुवा थपेर ५ सय बोट पुर्‍याएको छु। पहिलो वर्ष असिनाले खासै उत्पादन भएन, गत वर्ष ४०० केजी कागती पहिलो पटक बिक्री गरेको थिएँ, अहिले राम्रै फल लागि रहेको छ। सबै ५०० बोटले नै उत्पादन दिन ३ वर्ष अझै लाग्ला।’

५०० बोटले कागती उत्पादन गर्न थालेपछि वार्षिक २/३ लाखसम्मको कागती बिक्री गर्ने लक्ष्य राखेको खरेलले बताए। उनले सानो क्षेत्रबाट कागती खेती थाले पनि अहिले गलकोटका एक दर्जन किसानले व्यावसायीक कागती खेती थालेका छन्। केही वर्षमा गलकोटले कागती बिक्री गर्ने तयारीका साथ धमाधम व्यावसायीक कागती खेती थालिएको छ।

गलकोट नगरपालिका-११ रिघाका युवा दानबहादुर श्रीषले गलकोट क्षेत्रकै सबैभन्दा ठूलो परिमाणमा कागती लगाएका छन्। २०७६ सालमा बाँझो जमिन किनेर १ हजार ५०० कागतीका बिरुवा लगाएका उनको फर्ममा अहिले कागतीको बोटमा फूल खेल्न थालेको छ।

कागती उत्पादनको संभावना अध्ययनपश्चात ३६ रोपनी जग्गामा ३ वर्षअघि कागती खेती थालेका श्रीष कागतीका बिरुवा फस्टाउँदै गएपछि दंग परेका छन्। उनले आफ्नो कागती फर्ममा आगामी वर्ष व्यावसायिक रुपमा कागती उत्पादन हुने बताए।

‘झाडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा ३ वर्षअघि मात्रै लगाएको थिए, अहिले कागतीका बोट हुर्कंदैछन्। अहिले सामान्य फल लाग्ने अवस्था छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु‚’ श्रीषले भने‚ ‘सबै बिरुवाले पूर्ण रुपमा उत्पादन दिन थालेमा गलकोटको बजारको कागतीको माग धान्न सक्ने योजना हो।’

तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिक रूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर युवाले २०७४ सालमा श्रीष कृषि तथा पशु फार्म दर्ता गरेका छन्। गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको भनाइ छ।

कागती खेतीको प्रोत्साहनका लागि गलकोट नगरपालिकासमेत सक्रिय छ। गलकोट नगरपालिकाले शुरुवाती चरणमा कागतीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको, सिँचाइको लागि व्यवस्थापन गरेको र प्राविधिक सल्लाह सुझाव दिँदै आएको गलकोट नगरपालिका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार गलकोट नगरपालिकाले १ सय बोट कागती लगाउने किसानको अभिलेख राख्ने गरेको छ।

गलकोट नगरपालिकाभरि २०० भन्दा बढी कागतीका बिरुवा लगाउनेको संख्या ५ जना, १०० भन्दामाथि बिरुवा लगाउनेको संख्या ५ र ५० विरुवा लगाउने किसानको संख्या १० जना गरी व्यावसायीक कागती खेती थाल्ने किसानको संख्या २० पुगेको छ।

‘गलकोटमा पछिल्लो समय व्यावसायिक कागती खेती फस्टाउँदै आएको छ, किसान कागती खेतीप्रति आकर्षित भएका छन्‚’ कृषि शाखा प्रमुख सुवेदीले भने‚ ‘पालिकाले सक्दो सहयोग गरेको छ, नगरपालिकाले तरकारीमा नै गलकोटलाई आत्मनिर्भर गराउने लक्ष्य लिएको छ, कागतीमा केही वर्षमै आत्मनिर्भर हुनेछ ।’ गलकोट नगरपालिका क्षेत्रमा कागती खेतीको राम्रो संभावना रहेको छ।

समुद्री सतहबाट १ हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना देखिन्छ। कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ। यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ। कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ।

गलकोट क्षेत्रमा कागती उत्पादन भए भारतबाट आयात गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कागती खेतीमा लागेका कृषकहरू बताउँछन्। निसीखोला गाउँपालिका-५ का धर्मराज पोखरेलले पनि ५ वर्षदेखि व्यावसायीक कागती खेती गर्दै आएका छन्।

पोखरेलका बारीमा अहिले करिब ६ सय बोट कागती छन्। तीमध्ये ३ सय बोटले फल दिन थालेका छन् । उनले कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको बताए। कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.