|

काठमाडाैं : १० वर्षअघि प्रदर्शनमा आएको फिल्म 'सुनगाभा'का बारेमा निर्देशक सुवर्ण थापा आज पनि ‘कस्तो नयाँ फिल्म, तपाईंको हिम्मतलाई मान्नुपर्छ, समयभन्दा अगाडि त्यस्ताे फिल्म बनाउनुभयो' लगायतका प्रतिक्रिया सुन्छन्। उनलाई नयाँ या समयभन्दा अगाडि होइन बरु आफू ढिला भए जस्तो लाग्छ। उनी भन्छन्, 'हामीलाई नयाँ लागेको हो तर यो विषयमा धेरै पहिलेदेखि फिल्म बन्दै आएका छन्।' 

भर्खरै कान्समा प्रदर्शन भएको डेभि चावको 'रिटर्न टु सउल' होस् या वाक्वेस अडियार्डको 'डिपन', उनलाई यी हाम्रा पनि कथा हुन् भन्ने लाग्छ। हामी अलिकति ढिला भइयो जस्तो लाग्छ। 'रिटर्न टु सउल' जहाँ कोरियाबाट एडप्ट भएर फ्रान्समा हुर्केकी युवतीको कथा छ र 'डिपन' जहाँ तमिल टाइगरबाट श्रीलंकाको जनयुद्ध लडेको लडाकुको कथा छ‚ कतै न कतै यी कथाले नेपालीलाई पनि छुन्छन्। कुनै दिन यस्ता कथालाई पनि विषयवस्तु बनाएर फिल्म बनाउन सक्ने उनी बताउँछन्।

विश्व सिनेमालाई नै सँगै राखेर हेर्ने उनका 'सुनगाभा' मात्रै होइन सर्ट फिल्म 'मलामी'को चर्चा पनि उत्तिकै हुने गर्छ। जसको विना नेपाली सर्ट फिल्मका बारेमा हुने कुनै पनि छलफल, बहस अधुरा मानिन्छन्। यी बाहेक अर्को सर्ट फिल्म 'छोरा' पनि धेरैले मन पराएको फिल्म हो। 

उनलाई सबै विधाका फिल्म मनपर्छ। उनका मनपर्ने फिल्मको सूचीमा एन्ड्री तार्कोभ्स्कीका फिल्मदेखि इरानी, हंगेरियन, फ्रेन्च, जर्मन, कोरियन, हिन्दी, नेपाली सबै खालका फिल्म छन्। आफूले हेरेको पहिलो फिल्मको रूपमा उनी नेपाली फिल्म 'सिन्दूर'लाई सम्झन्छन् तर हुर्किँदै जाँदा धेरै हिन्दी फिल्म हेरे।

अम्बा र बेलाैती

जीवन पनि फिल्म जस्तै मान्ने उनको जन्म, हुर्काइ र अहिलेसम्मको यात्रा धेरै उतार चढावपूर्ण रह्यो। कलैयामा जन्मेका उनी अलिकति कलैयामै हुर्के, अलिकति चन्द्रनिगाहपुर, अलिकति रजहर अनि अलिकति हेटौँडामा हुर्के। त्यसरी हुर्कँदा केही फाइदा पनि भयो। जस्तो उनले धेरैतिरको भूगोल, समाज देख्न पाए, जिब्रोमा एउटै ठाउँको लवज बसेन, अम्बा भन्न पनि जाने बेलौती भन्न पनि जाने, गुच्चा खेल्न पनि जाने अनि नखेली हेरिबस्न पनि जाने। 

'त्यसरी धेरैतिर बस्दा एउटा बेफाइदा बाल्यकालका साथीहरूसँग यहाँ खेलेको, यो गल्लीमा हिँडेको, दौडेको भन्ने सम्झना भएन'‚ उनी भन्छन्, 'बाल्यकाल एकै ठाउँमा नबितेको हुनाले ठाउँठाउँका सम्झना टुक्रा टुक्रामा रहे। अहिले बाल्यकालको साथी भनेर भन्न मसँग कोही पनि छैनन्।'

फ्रान्सकाे ढाेका

हेटौँडाबाटै एसएलसी दिएका उनी काठमाडौं आइसकेपछि मात्र कला क्षेत्रसँग नजिक भए। पढ्दै, ट्रेकिङ एजेन्सीमा काम गर्दै गरेका उनले एकदिन फ्रेन्च कल्चरबाट आएको एउटा सूचना देखे, जहाँ एउटा नाटकका लागि कलाकारको खोजी हुँदै थियो। त्यहाँ उनले पनि अडिसन दिए। 

त्यसअघि कहिल्यै नाटक नगरेको भए पनि, नजिकबाट नहेरेको भए पनि उनले बच्चै हुँदा लाखे नाच देखेका थिए, सानातिना प्रहसन देखेका थिए, दशैँका वेला मान्छेहरू भगवानको रूप धारण गरेर भिक्षा माग्दै हिँडेको देखेका थिए अनि त्यति वेलासम्म धेरै फिल्म हेरिसकेका थिए जुन भित्र कतै थिग्रिएर बसिरहेको थियो। सायद उनीभित्र अभिनय इच्छाको वीउ पनि त्यहीँबाट उम्रिन शुरु भएको थियो। 

'त्यो ड्रामामा म सेलेक्ट भएँ। पहिलो ड्रामा त्यसरी गर्न पुगेँ। त्यही टिम पछि एउटा सानो वर्कशप लिएर आयो। त्यसमा पनि सेलेक्ट भएँ। त्यहाँबाट चारजनालाई फ्रेन्च पढ्न लगाइयो‚' आफ्ना लागि फ्रान्सको ढोका पनि त्यही नाटकले खोलेको उनी बताउँछन्, 'त्यसपछि हामी तीन महिनाको सा‌ंस्कृतिक भ्रमणमा जाने अवसर पायौँ। त्यो बीचमा फ्रान्सका विभिन्न थिएटरहरूमा कसरी काम भइरहेको छ भनेर हेरेँ, अध्ययन गरेँ।'

लम्बिएकाे २ वर्ष

त्यसपछि नेपाल आएर उनले यतै रंगकर्म गर्न थाले। त्यही समयमा 'सेतो बाघ', 'वसन्ती' लगायतका नाटक मञ्चन भए। केही फिल्ममा पनि काम गरे। सन् १९९९ मा कथाले उनलाई फेरि फ्रान्सतिरै डोहोर्‍यायो। 'वसन्ती' फिल्मको छायांकन चलिरहँदा उनी दुईवर्षे थिएटरसम्बन्धी अध्ययनका लागि फ्रान्स गए। 

उतै राष्ट्रियस्तरका नाटकघरहरूमा काम गरे, विवाह भयो, बच्चा भयो, जिम्मेवारी थपियो अनि दुई वर्ष लम्बिएर झण्डै २० वर्ष भयो। त्यो बीचमा पनि उनी नेपाल आउने जाने गरिरहे। 'मलामी', 'छोरा', 'सुनगाभा' सबै त्यसैबीचमा बनेका फिल्म हुन्। अहिले भने उनले नेपालमै बस्ने निधो गरेका छन्।

'त्यहीँ बसेर त्यहीँको फिल्म बनाए अर्कै कुरा हुन्थ्यो। नेपाली फिल्म बनाउने, नेपाली कथा भन्ने भएपछि यहीँ आउनुपर्छ भनेर अहिले यतै बस्न थालेको हो'‚ उनी भन्छन्, 'आफ्टरअल मैले कुन कथा भन्छु भन्ने हुन्छ। मैले त्यहाँ बसेर नेपोलियन बोनापार्टको स्टोरी त गर्दिनँ। मैले राम्रोसँग भन्न सक्ने गर्न सक्ने भनेको हाम्रै कथा हो।' 

'मलामी'देखि 'राधा'

कथाहरू सधैँ व्यक्तिगत भोगाइ, सुनाइ, देखाइबाट आउने उनी बताउँछन्। समाजमा द्वन्द्वको रूपमा देखिने विषयलाई फिल्मको रूपमा प्रस्तुत गर्नु उनको रुचिको विषय हो। उनको सर्ट फिल्म 'मलामी'मा रोजगारीको सिलसिलामा सबै युवा गाउँबाट बाहिरिएपछिको समाजको चित्रण गरिएको छ। जुन समाज पुस्तौँदेखि चलिआएको अहितकारी रीतिबाट भने मुक्त छैन, विभेद र अन्धविश्वास अझै जरा गाडेर बसेको छ। 

उनको आफ्नै बाबुको निधन हुँदा आफू नेपाल आउन नसक्दाको अवस्थाले 'मलामी'को जन्म गरायाे, 'छोरा' उनको व्यक्तिगत भोगाइबाट प्रेरित भएर बनेको फिल्म हो, जसमा उनकाे अभिनय पनि छ। त्यस्तै 'सुनगाभा' उनले देखेका कथाहरूबाट जन्मेको फिल्म हो। 

'नेपालको ग्रामीण भेगकी महिलाको कथा भनौँ भन्ने थियो। हाम्रो समाजमा महिलाले आफ्नो श्रीमान्‌लाई भगवान् मान्ने चलन छ, पति परमेश्वर भन्ने चलन छ। यो समाजमा एउटी महिलाले श्रीमान् नभएका वेला आफ्नो इज्जत जोगाउनका लागि केसम्म गर्न सक्छिन् त भन्ने कुरा दिमागमा आइरहेको थियो।' प्रदर्शनको तयारीमा रहेको 'राधा'को रचनागर्भ सुनाउँदै उनी भन्छन्, 'म ६/७ वर्षको हुँदा चन्द्रनिगाहपुरबाट रजहर जाँदा बीचमा बुवा कतै जानुभएको थियो। कहाँ जानुभयो, के गर्नुभयो केही पनि थाहा छैन। त्यसको केही समयपछि आउनु पनि भयो।' 

बुवा हराउनुभएको त्यो समयमा आमाको पर्खाइबाट प्रेरित भएर राधाको कथा शुरु भएको उनी बताउँछन्। 'मलाई के थाहा छ भने बुवा जाँदा दाह्रीजुँगा थिएन, पछि आउँदा झ्याप्प दाह्री थियो। त्यो चाहिँ याद छ'‚ उनी भन्छन्, 'त्यो दाह्री भनेको समय थियो। ७ महिना, ८ महिना, ६ महिना हुनसक्छ। त्यो समयमा सम्पर्क गर्ने केही साधन पनि थिएन मेरो आमाले कसरी पर्खनुभयो होला, के गर्नुभयो होला भन्ने खोज्दै मैले राधा लेख्न खोजेको हो।' 

विश्व नक्सामा नेपाली सिनेमा

नेपाली फिल्मले विश्व बजारमा आफ्नो बलियो उपस्थिति जनाउन नसक्नुको कारण फिल्मको कल्चर नहुनु, नीति नहुनु, सरकारको प्राथमिकतामा नपर्नु, देखासिकी गर्ने प्रवृत्ति हावी हुनु आदि रहेको उनी बताउँछन्। 

'छन त हामी पहिले पनि कहाँ नै थियौँ र। फिल्ममा हाम्रो कुनै बेस छैन। नाटक डबलीहरूमा हाम्रो बेस थियो होला। यो लामो समयदेखि अभ्यास हुँदै आएको कुरा हो। तर फिल्म भनेको आधुनिक विधा हो। हाम्रोमा त झन् पछि आयो'‚ उनी भन्छन्, 'विश्व सिनेमाले एउटा निश्चित यात्रा गरिसकेपछि हामी बीचमा भाग लिन आएका हौँ। अगाडिको दौड हामीले दौडिएनौँ। त्यति हुँदा पनि हामीलाई सबैले स्विकारिरहेका छन्।'

यस्तोमा हामीले पाएको स्थानमा राम्रो गर्दै जाने हो, फिल्मको कल्चर बसाल्न सरकारीस्तरबाटै पहल हुने हो भने नेपाली फिल्मको भविष्य सुनौलो रहेको उनी जिकिर गर्छन्। 

फुटबलमा ब्राजिलले गरेको प्रगतिको उदाहरण दिँदै उनी भन्छन्, 'कुनै समय ब्राजिललाई कसैले चिन्दैनथ्यो। जब कि त्यो विश्व नक्सामा पाँचौँ ठूलो देश हो, धेरै जनसङ्ख्या छ तर त्यस्ताे धनी देश हाेइन। हामी ब्राजिललाई फुटबलले चिन्छौँ। हामी जस्तै हिलोमा, माटोमा खेल्दै त्यहाँ पुगेको हो। पेलेदेखि, रोनाल्डिन्होदेखि रोमारियो, नेमार सबै हामी जस्तै हुर्केर त्यहाँ पुगेका हुन्। जसरी ब्राजिलका युवाहरूले फुटबललाई माध्यम बनाएर आफ्नो एउटा परिचय बनाए। त्यस्तै हामी पनि विश्वमाझ चिनिन सिनेमा एउटा माध्यम हुन सक्छ। हामी एउटा आलोचनात्मक फेज पार गरेर राम्रो युगमा छौँ।' 

६ वर्षपछि सुवर्णकाे निर्देशनमा बनेका २ फिल्म ३ हप्ताको अन्तरमा प्रदर्शनमा आउँदै छन्। उनको पछिल्लो फिल्म 'फन्को' हो भने 'म' र 'राधा' प्रदर्शनको मुखमा रहेका दुई फिल्म हुन्। जो साउन क्रमशः साउन २० र भदौ १० देखि प्रदर्शनमा आउँदैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.