|

बागलुङ : सरकारी अस्पताल भन्नेबित्तिकै धेरैलाई लाग्थ्यो, उपचार राम्रो हुन्न‚ सेवा पाउन गाह्रो हुन्छ। पालो पाइँदैन। बागलुङको धौलागिरी अस्पताल पनि केही वर्ष अगाडिसम्म यस्तै थियो। बागलुङमा कोही बिरामी हुनासाथ पोखरा वा काठमाडौँ जान्थे।

यो अस्पतालमा बिरामीको चाप निकै कम थियो। धौलागिरी अस्पताललाई रिफर सेन्टरका रूपमा मात्रै लिने गरिन्थ्यो। अहिले यसको मुहार पूरै फेरिएको छ। अस्पतालको भौतिक संरचना, मेशिनरी औजारहरूदेखि लिएर सबै पक्षमा उल्लेख्य सुधार आएको छ। आमनागरिकले हेर्ने दृष्टिकोण पनि फरक बनेको छ।

गण्डकी प्रदेशकै दोस्रो ठूलो अस्पतालका रूपमा रहेको धौलागिरी अस्पतालमा खासगरी साविकका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दाको उपचार हुने गर्थ्यो। अहिले अस्पतालको व्यवस्थापनमा सुधार हँदै गएपछि धेरै ठाउँबाट विरामी यहाँ आउने गर्छन्। विगतमा अञ्चल अस्पतालका रूपमा रहेको यो अस्पतालमा जिल्ला अस्पताल सरहको सुविधा थिएन। अस्पतालमा आएका विरामी आउनासाथ रिफर भएर पोखरा जानुपर्ने बाध्यता थियो। 

बागलुङका स्थानीयले रकम तिरेर भए पनि उपचार पाउन सकेका थिएनन्। अस्पतालको भौतिक पूर्वाधार, उपकरण तथा विशेषज्ञ सेवाका कारण विरामीको चाप ह्वात्तै बढेको छ भने स्वास्थ्य बीमाको सफल कार्यान्वयनले समेत अस्पतालमा विरामी आकर्षित भएका छन्।

अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ। अस्पतालमा चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा विरामी लामो लाइन बस्नुपर्ने अवस्था छ। पछिल्लो समय धौलागिरी अस्पतालमा निकै सुधार भएको र स्वास्थ्य बीमा बागलुङमा सफल कार्यान्वयन भएका कारण विरामीको चाप ह्वात्तै बढेको छ। 

दरबन्दी अनुसारका चिकित्सक नभए पनि अस्पतालले करार र छात्रवृत्तिका चिकित्सकको भरमा सेवा दिँदै आएको छ। कुनै दिन निजी अस्पतालमा जाने विरामी अहिले सरकारी अस्पतालमा आउन थालेको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताउँछन्। अस्पतालमा दैनिक ३ सयदेखि ४ सय विरामी सेवा लिन आउने गरेको डाक्टर पोखरेलको भनाइ छ। यस अस्पतालमा एक मेडिकल सुपरिटेन्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको भए पनि मेडिकल सुपरिटेन्डेन्ट बाहेक अरू दरबन्दी भने रिक्त छ। करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन्।

‘अहिले अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरू हुनुहुन्न तैपनि हामीले विरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ भनेर लागेका छौँ, पहिलेभन्दा अहिले विरामीको चापसमेत निकै बढेको छ’, डाक्टर पोखरेलले भने, ‘संघीयतापछि यो अस्पताल गण्डकी प्रदेश मातहत आयो। त्यसपछि ठूला उपकरण थप भए, थालिएको भौतिक पूर्वाधार समेत पूरा हुन थाले, अहिले अस्पताल नागरिकको भरोसायोग्य बन्दै आएको छ, हामीले सकेसम्म नागरिकलाई सन्तुष्टि पार्ने गरी उपचार गरेका छौँ।’

अहिले पाँच मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सकले अस्पतालबाट सेवा दिइरहेका छन्। दरबन्दी अनुसारका चिकित्सक आएमा अस्पतालले अझै गुणस्तरीय सेवा दिन सक्ने अस्पतालको भनाइ छ। अस्पतालको भौतिक संरचना तथा बाह्य वातावरण समेत कुनै निजी अस्पतालको भन्दा कम छैन अचेल। कुनै दिन अस्पताल परिसरमा फोहोर राख्ने स्थानमा अहिले  सुन्दर बगैँचा निर्माण गरिएको छ। अस्पतालमा आएका सेवाग्राही समेत अस्पताल सफा तथा सुन्दर देखेर आनन्दित हुने गरेका छन्। 

बागलुङमा वि.सं. २०१६ सालमा डिस्पेन्सरीको रूपबाट सेवा दिन थालिएको यो अस्पताल २०३३ सालदेखि जिल्ला अस्पताल, २०६७ सालमा अञ्चलस्तरीय र धौलागिरिको सबैभन्दा ठूलो सहकारी अस्पतालको रूपमा सञ्चालित छ। गण्डकी प्रदेशले प्रदेशको उपप्रादेशिक अस्पताल बनाउने गरी बजेट तथा कार्यक्रममा समावेश समेत गर्दै आएको छ। 

बढ्दै उपकरणसहितका स्वास्थ्य सेवा
अस्पतालमा २०७२ सालअघि डायलासिस सेवा थिएन। डायलासिस सेवा अभावमा अधिकांश मिर्गौलाका विरामी समस्यामा थिए। अहिले अस्पतालमा डायलासिस सेवा थपिएको छ। डायलासिस सेवा मात्रै हैन अस्पतालमा थुप्रै उपकरण र सुविधा थपिएका कारण विरामीको चाप बढेको हो। अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्दै आएको छ भने कोरोनाकालमा पाँच शय्या क्षमताको आइसियु सेवा समेत शुरु गरेको थियो, जुन अहिले पनि सञ्चालित छ। 

अस्पतालमा अहिले आइसियु, भेन्टिलेटर जस्ता अत्यावश्यक सेवा समेत थपिएपछि विरामीलाई पोखरा काठमाडौँ जान परेको छैन। अस्पतालमा अपाङ्गमैत्री संरचना, विद्युतीय भर्‍याङ लगायतका सेवा थपिएका छन्। हालै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० मा सिटिस्क्यान सेवाका लागि अस्पताललाई १० करोड बजेट समेत विनियोजन गरेको छ। 

अस्पतालमा अहिले धौलागिरीका चारवटै जिल्लालाई पुग्ने अक्सिजन उत्पादन गर्न तीन करोड लागतको अक्सिजन प्लान्ट निर्माण गरिएको छ। अहिले अस्पतालमा आइसियु, भेन्टिलेटरसँगै बालबालिकाका लागि एनआइसियु सेवा समेत सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। बढ्दो सुविधाका कारण धौलागिरीका विरामीहरू टाढा जानुपर्ने झन्झटबाट मुक्त बनेका छन्।


निजी सुनसान, सरकारीमा चापाचाप
सरकारी अस्पतालमा गुणस्तरीय सेवा पाउन थालेपछि विरामी निजीभन्दा सरकारी अस्पतालमा जान थालेका छन्। यहाँका स्थानीय बासिन्दा उपचार अभावमा पोखरा तथा काठमाडौँ पुग्न थालेपछि जिल्लामा आधा दर्जन निजी अस्पताल सञ्चालनमा आएका थिए तर ती अस्पताल अहिले संकटमा परेका छन्। जिल्लाका सामान्य विरामीहरू समेत ट्याक्सी चढेर पोखरा तथा ठूला शहरमा धाउन थालेपछि बागलुङमा निजी क्षेत्रबाट अस्पताल सञ्चालनमा ल्याएका थिए।

अहिले जिल्लाका निजी तथा सहकारीद्वारा सञ्चालनमा आएका अस्पतालमा विरामीको संख्या एकदमै न्यून देखिन्छन्। स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनका कारण कुनै दिन विरामीले भरिभराउ हुने जिल्लाका निजी अस्पतालहरू अहिले सुनसान हुन थालेका छन्। 

चारपाँच वर्ष राम्रो कमाइ समेत गरेका निजी अस्पतालले पोखरामा दिने स्वास्थ्य सेवा बागलुङबाटै समेत दिएका थिए तर उनीहरूलाई घर भाडा तिर्न समेत नसक्ने अवस्था आएको गुनासो गरेका छन्।

जिल्लामा रहेको धौलागिरीकै ठूलो सरकारी अस्पताल क्रमशः सुधार हुँदै जानु, विशेषज्ञ डाक्टर सरकारी अस्पतालमै पाउनु तथा स्वास्थ्य बीमाको प्रभावकारिताका कारण बागलुङ जिल्ला सदरमुकामका तीन निजी तथा सहकारी अस्पतालहरू संकटमा पुगेका हुन्। 

धौलागिरी अस्पताल गण्डकी प्रदेश सरकारको उपप्रादेशिक अस्पतालको रूपमा विकास गरिरहेका कारण विरामीको चाप बढेको पाइएको छ। सरकारले स्वस्थ्यबीमा लागू गर्नुअघि सरकारी अस्पतालको सेवा गुणस्तर नभएपछि त्यसवेला निजी अस्पतालको खाँचो भए पनि अहिले सरकारी अस्पतालले सेवा सुधारेपछि अस्पताल बन्द हुने अवस्थामा पुगेको सहकारी संस्थाले सञ्चालन गरेको अस्पताल बन्द गर्ने अवस्थामा पुगेको नीलगिरि अस्पताल बागलुङका अध्यक्ष डिलबहादुर कार्कीले बताए।

‘कुनै दिन जिल्लामा निजी अस्पतालको खाँचो थियो, सेवाग्राहीको चाप समेत उस्तै थियो, नागरिकहरू स्वास्थ्य उपचारको नाममा बाह्य जिल्ला गएका कारण हामीले सहकारीमार्फत अस्पताल सञ्चालन गरेका थियौं’, अध्यक्ष कार्कीले भने, ‘अहिले स्वास्थ्य बीमाको सफल कार्यान्वयन भएपछि सरकारी अस्पतालको सेवामा वृद्धि भएको छ। बीमा गरेको विरामीले अहिले सरकारी स्तरका अस्पतालबाटै राम्रो सेवा पाएका छन्, अहिले सहकारीद्वारा सञ्चालित हाम्रो अस्पतालमा विरामीको आकर्षण छैन, कुनै वेला जिल्लामै पहिलो विशेषज्ञ सेवा दिने अस्पतालको रूपमा रहेको नीलगिरि अस्पताल अहिले बन्द हुने अवस्थामा पुगेको छ।’

नीलगिरि अस्पतालमा आइसियु र सिटिस्क्यान जस्ता ठूला सेवा छैनन्। अन्य सेवा धौलागिरी अस्पतालमै बीमाका कारण निःशुल्क पाइन थालेपछि निजी अस्पतालको चाप घटेको उनको भनाइ छ। जिल्लाको सबैभन्दा पुरानो निजी अस्पतालको रूपमा रहेको मुक्तिनाथ अस्पताल पनि अहिले बन्द हुने अवस्थामा पुगेको छ। अस्पतालका सञ्चालक सुशील पन्तका अनुसार अहिले विरामी आउन छोडेपछि डाक्टर राख्नै नसकिएको र भाडा तिर्न समेत समस्या भएको बताउँछन्। 

‘ठूला उपकरण राखेर धौलागिरिमै फरक क्षमतामा अस्पताल चलाउन पाए हुन्थ्यो, अहिलेको अवस्थामा अस्पताल चल्ने अवस्था छैन’, पन्तले भने, ‘हामीले सेवा त दिइराखेका छौं तर विरामीको चाप घट्दै गएपछि डाक्टर टिकाउन समस्या छ। यही अवस्थामा जिल्लाका कुनै पनि निजी अस्पताल सञ्चालनमा आउन सक्ने अवस्था छैन।’ अस्पतालमा भन्दा औषधि पसलमा विरामीको चाप बढी भएको आफूले देखेको पन्तको भनाइ छ। 

नयाँ सोच र नयाँ व्यवस्थापनका साथ अस्पताल चलाउन नसके यही अवस्थामा अस्पताल चल्न समस्या हुने देखिएको सफल पोलिक्लिनकका सञ्चालक दीपेन्द्र घिमिरे बताउँछन्। ‘विरामी नभएका हैनन्, हाम्रो अस्पतालमा अझै विरामी आइरहेका छन्’, घिमिरेले भने, ‘कोरोनापछि विरामीको संख्यामा कमी आएको छ, धौलागिरी अस्पतालले सेवामा विस्तार तथा उपकरण थप गरेपछि निजी अस्पताल बन्द हुने अवस्थामा पुगेका छन्।’

स्वास्थ्य बीमा प्रभावकारी बन्दा सरकारी अस्पताल चाप
बागलुङमा स्वस्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालित छ। एकपटक बीमा गरेका परिवारले धौलागिरी अस्पतालबाट सबै सेवा निरन्तर पाउन थालेपछि विरामीहरू निजी छोडेर सहकारी अस्पताल आउन थालेका हुन्। धौलागिरी अस्पतालमा नभएको सेवा समेत उनीहरूले पोखरा तथा काठमाडौँको सरकारी अस्पतालबाटै लिने गरेका छन्। 

स्वास्थ्य बीमाका कारण निःशुल्क उपचार पाएपछि निजी अस्पताल छोडेर सरकारी अस्पतालमा विरामीको संख्या बढेको हो। जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको उक्त कार्यक्रममा हालसम्म ८० हजार स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायण शर्माले बताए। उनका अनुसार स्वस्थ्य बीमा गर्ने नागरिकहरू दैनिक रुपमा वृद्धि भइरहेको र सरकारी अस्पतालले समेत सहज रूपमा सेवा दिइराखेको छ।

‘अस्पतालले सेवा नदिए विमितले बीमा रकम भुक्तानी गर्दैनन् अस्पतालले कस्तो सेवा दिन्छ भन्नेसँग स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढ्छ’, शर्माले भने, ‘बागलुङमा रहेको धौलागिरी अस्पतालको सेवा प्रभावकारी भएकै कारण नागरिकहरू बीमाप्रति आकर्षित भएका हुन्।’

सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको उक्त कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका विरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन्। धौलागिरी अस्पतालमा बीमा कार्यक्रम शुरु हुनुअघि कमै मात्रामा विरामी आउन गरेकोमा उक्त कार्यक्रम लागू भएपछि बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालको तथ्याङ्कले देखाउँछ। 

पाँचजनासम्मको परिवारका सदस्यले वार्षिक रु. ३ हजार ५ सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य ७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा एक लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था छ।

बीमा गरेपछि प्राइभेट क्लिनिकमा जाने विरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको हो। स्वास्थ्य बीमा कार्यक्रम लागू हुनासाथ आम सर्वसाधारण अनभिज्ञ भए पनि हाल आएर बीमा गराउनेतर्फ नागरिकहरू सचेत देखिँदै आएका छन्। सरकारले बीमा रकम तिर्न नसक्ने अति गरिब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ। 

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायत उपचार गराउनाका साथै झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन्। 

स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७२ दर्ता सहयोगीले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ। स्वास्थ्य बीमाका कारण जिल्लाका निजी अस्पताल तथा क्लिनिक समेत संकटमा परेका छन्। सरकारले पनि धौलागिरी अस्पतालको स्तरोन्नतिमा ध्यान दिएपछि आमनागरिकको समेत यस अस्पतालप्रति भरोसा जागेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.