यही चोलामा जेट विमान चढ्ने धोको थियो, शुभ दिन असार २९, २०७९ मा पूरा भो। तँ चिता म पुर्याउँछु भन्छ रे दैवले, हो रहेछ।
सबैभन्दा पहिले विमानस्थलको एक फन्को मारियो, मार्न पाइँदो रहेछ।
मेघाच्छन्न आकाश, गाढा हरियो लन। परेवाहरू बडो मजाले जहाजको पखेटामा, अन्तरकुन्तरमा बसिरहेका। धृष्टता हेर्नुस् त यिनीहरूको! जोडीहरू चोचोमोचो गरिरहेका। टिकट नकाटी, लुकेरै विदेश भ्रमण गर्न खोजेको बुझ्न कठिन थिएन।
विमानतर्फ पाइला सोझिए। सुशिल, सहयोगी (शायद सुप्रशिक्षित पनि) कर्मचारी रहेछन्। एअरबस कम्पनीको ए३३० सेरिजको विशाल विमान यात्रुहरूको प्रतीक्षा गरिरहेको थियो।
विमानमा प्रवेश गर्दा परिचारिकाको मुस्कान सहितको स्वागत पाइयो। करिब ३.३० बजेतिर त्यहाँ पुग्दा ढिलै भइसकेको रहेछ।
उबेलाको पुष्पक विमान कस्तो हुँदो हो? उक्त मनचिन्ते यान आधुनिक जेट विमानहरू भन्दा पनि भव्य अनि उच्च प्रविधियुक्त हुँदो रहेछ कि? अन्य जिज्ञासाहरू जस्तै यसलाई पनि सफलतापूर्वक समन गरियो तत्कालका लागि।
पुष्पक विमान चालकको मनको गति अनुसार चल्दोरहेछ भन्ने शायद ‘रघुवंशम्’मा पढेको हो अकिञ्चनले। त्यसो भए पुष्पकले एयर टर्बाइन फ्युअल पनि खाँदैनथ्यो होला।
पुष्पक चलाउन पाए हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चाहिँ अझ धेरै नाफा कमाउनेमा अकिञ्चन ढुक्क छ। दु:खको कुरा हिजोआज पुष्पक कसैले बनाइरहेको छैन। कोरोनावाइरस महामारीपछि पेट्रोलियम पदार्थहरूको मूल्य ह्वातै बढेको बेला पुष्पक प्रविधिको महत्व नबुझिएको हो वा बुझ्न नखोजिएको होला?
विश्वको विमान बजार २ ठुला कम्पनीहरूको कब्जामा छ। ती हुन्: अमेरिकी बोइङ्ग कम्पनी र जमन-फ्रेन्च-स्प्यानिश स्वामित्वको योरोपियन एयरोनटिक डिफेन्स एण्ड स्पेश कम्पनीको ८०% र ब्रिटेनको बिएइ सिष्टमको २० प्रतिशत शेयर रहेको एयरोस्पेश कम्पनी।
यिनीहरूले पुष्पक बनाइरहेको वा बनाउने योजना बुनेको अकिञ्चनको जानकारीमा छैन। कतै रूसी कम्पनी एयरोफ्लोटले बनाउँदै त छैन पुष्पक? चीनले पो बनाउँदै छ कि?
यक्षराज कुबेरको स्वामित्वमा रहेको पुष्पक राक्षसराज रावणले लुटी लगेको रे। 'मर्यादापुरूषोत्तम' रामसँगको युद्धमा हार ब्यहोरेपछि लङ्काका राजा बनाइएका विभीषणको हातमा परेको उक्त विमान रामका पोल्टामा पर्नु कुन अचम्म भयो? पुष्पक चढेर भगवान राम भाइ लक्ष्मण र पत्नी सीतासहित लङ्काबाट अयोध्या फर्केका रे।
उबेलाको पुष्पकको अवस्था के छ, विश्वगुरूलाई पो थाहा छ कि?
अकिञ्चनको अनुमान: पाङ्ग्रा, पखेटा, ढोका, इञ्जिन, पुच्छर, स्टियरिङ्ग व्हील, सिट आदि त पुष्पकमै पनि थिए होलान्। मय दानव उबेलाका प्रसिद्ध इञ्जिनियर तथा स्थापत्यकलाविद (आर्किटेक्ट) हुनुहुन्छ, पुष्पकको निर्माता उहाँ नै हुनुहुन्छ। यस सम्बन्धमा उहाँलाई पक्कै थाहा होला।
कहाँ हुनुहुन्छ कुन्नि अचेल?
कतै पुष्पकका कर्मचारीहरूले, तिनका प्रतिभावान सन्ततिहरूले आफ़ूआफ़ू मिलेर, राजनीतिक नेतृत्वको संरक्षण प्राप्त गरी भागशान्ति जय नेपालको शैलीमा पूरै विमान त उदरस्थ गरेनन्?
ए३३० तर्फ लागौँ। सुप्रसिद्ध क्याप्टेन वेद उप्रेतीको कमाण्डमा रहेछ विमान। स्वागतपश्चात यात्रुहरूलाई आसन ग्रहण गर्न अनुरोध गरिन् परिचारिकाले।
कस्तो अचम्म! सिटबेल्ट बाँध्न पर्ने रहेनछ। यस्तो भव्य विमान छ, नियम चाहिँ कस्तो?
यस्तो त सस्तो दररेटमा यात्रा गराउने बजेट एअरलायन्सले पनि गर्दैनन् नि। विमानमा दिइने खाना, खाजा खान्न, त्यसको शुल्क पनि तिर्दिन भन्न पाइन्छ त्यस्ता एअरलायन्समा यात्रा गर्दा।
कम खर्चिलो इकोनमी क्लासमा 'अल्ट्रा-बेसिक इकोनमी' अर्थात् अति कम खर्चिलो उडानको प्याकेज उपलब्ध गराउने तयारीसमेत गर्दैछन् रे यस्ता एअरलायन्सले। करिब-करिब हाम्रा मिनी तथा माइक्रोबसहरूले यात्रु खाँदेझैँ गरी इकोनमी क्लासमा यात्रु खाँदेर अझ बढी नाफा कमाउने यस्ता कम्पनीहरूको नियत बुझ्न कठिन छैन।
विशाल ए३३० विमानलाई सातवटा हलहरू छुट्याइ व्यवस्थित गरिएको छ। ती मध्ये सबैभन्दा आकर्षक चाहिँ एयरफोर्स हल नै हो।
त्यस हलको (वा सम्पूर्ण विमानकै भनूँ) आकर्षणको केन्द्र हुन् आकाश भैरव। राष्ट्रिय ध्वजावाहकका विमानहरूमा आकाश भैरव अङ्कित हुन्छन्। विमान, यात्रुहरू, चालक दलका सदस्यहरू र सपोर्ट स्टाफको रक्षा आकाश भैरवले गर्छन् भन्ने विश्वास विद्यमान छ।
विश्वासमै विश्व अडेको छ नि, होइन?
तराइ, पहाड, हिमाल, नदी, खोला, वनजंगल, खोँच, भीरपाखा, तालतलैयाहरूले सुसज्जित नेपाल ज्यादै सुन्दर छ, विविध पेशा, धर्म, संस्कृति, परम्परा, लोकव्यवहार, रीतिरिवाज, चाडपर्व भए पनि यो देश नै सबै जातजातिको साझा धर्म हो। क्याप्टेन उप्रेतीले खिचेका तस्वीरहरूमा प्राकृतिक छटाहरूको र विविध भौगोलिक क्षेत्रहरूमा बस्ने नेपालीहरूको सौन्दर्य समेटिएको छ।
पहाडहरूबिच, नदी र खोलाका खोँचहरूमा विमान उडाउनु ज्यादै चुनौतीपूर्ण हुन्छ रे। आन्तरिक हवाइमार्गको निश्चित खण्डमा त हवाइ सम्पर्क नै विच्छेद हुन्छ भन्ने पढिएको हो। यसै गरी लुक्ला विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलका रूपमा परिचित छ।
यस्तो भूबनोटमा जहाज उडाउन सक्नेले जुनसुकै भूखण्डमा जहाज उडाउन सक्छ भन्ने मान्यता छ। नेपालका विमान चालकहरू विदेशमा समेत विमान चालन प्रशिक्षण दिन जान्थे भन्ने सुनिएको हो।
हाम्रो राष्ट्रिय ध्वजावाहक धमिजा, लाउडा, चाइना साउथवेष्ट, चेज एयर लगायतका काण्डहरूका कारण दिर्घरोगी भएको जानकारहरूबाट छिपेको छैन। राष्ट्रिय ध्वजावाहक सम्बन्धित देशको अन्तर्राष्ट्रिय इज्जत र प्रतिष्ठासँग जोडिएको हुन्छ।
यतातर्फ हाम्रा राजनीतिक क्याप्टेनहरू अनि अतियोग्य कर्मचारीहरूको ध्यान नगएको हो?
सन् १९५० को दशकदेखि व्यवसायिक उडान शुरू गरेको तत्कालीन शाही नेपाल वायुसेवा निगम र उसको समवयी थाइ एअरवेजको यात्राको तुलना गर्दा निराश भइन्छ। करिब १०/१० वर्षको अन्तरालमा भइरहने राजनीतिक उथलपुथलहरूका बावजूद राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा अपेक्षित सकारात्मक परिवर्तन देखिएको/भोगिएको, वायुसेवा पनि त्यसमा अछुतो छैन।
हो, निजी वायुसेवा कम्पनीहरूले राम्रै गरिरहेका छन् तर नेपाली आकाशमा हवाइ दुर्घटनाहरूको तस्वीर कहालीलाग्दो देखिन्छ।
सन् २०१३ देखि योरोपेली संघले नेपाललाई हवाइ सुरक्षा कालो सूचिमा राखिरहेको छ। सरकारी प्रयासहरूका बावजूद कालो सूचिमुक्त हुन नसक्ता ‘बडो गर्वका साथ’ कालो सूचिमा विराजमान छौँ।
यात्राका क्रममा अन्तर्राष्ट्रिय उडानका साथै नेपालको उडानको इतिहाससम्बन्धी जानकारी बटुल्ने अवसर पाइयो। लियोनार्दो दा विन्ची देखि राइट ब्रदर्शको विमान हुँदै एअरबस र बोइङ्गका विशाल जेटहरूसम्मको यात्रा मानिसको कल्पनाको उडानभन्दा कम रोमाञ्चक छैन।
हाम्रो राष्ट्रिय ध्वजावाहकले विभिन्न कालखण्डहरूमा प्रयोग गरेका विमानहरूका साथै नागरिक उड्डयन तथा युद्धका लागि विकास गरिएका विमानहरू, हेलिकप्टरहरू, वमवर्षकहरूका प्रोटोटाइपहरू संग्रहित छन् ए३३० को गर्भमा।
विमानभित्र चियाखाजाको व्यवस्था पनि छ जसका लागि थप शुल्क तिर्नुपर्छ।
यति लामो यात्रावृत्तान्तपछि पाठकहरू थाक्नु पो भो कि?
मनमा प्रश्नहरू उठे होलान्।
जस्तै:
कहाँदेखि कहाँसम्म उड्नुभो?
भाडा कति लाग्यो?
यात्रा कस्तो रह्यो?
आन्द्रा उल्टिएलान् झैँ गरी वमन भयो कि?
पलाष्टिकको व्यवस्था थियो/थिएन?
चकलेट दिएनन्? खोइ त हामीलाई?
उम्को भएन? झ्याल खोल्न मुन लागेन?
चालकले मेरो आजको ड्युटी सकियो, म बिचैमा ओर्लन्छु, तपाइँहरू आआफ्नो टेशन आएपछि ओर्लनुहोला भनेनन्?
अब उत्तर दिने पालो।
चालकले ड्युटी सकियो, बिचैमा ओर्लन्छु भनेनन् (पेशागत ठट्टा गर्न पाइन्छ)।
यात्राका क्रममा 'उम्को (असाध्य गर्मी) भएन, जहाज प्राकृतिक रूपमै वातानुकूलित भएकोले। केहि झ्यालहरू खुलै थिए जस्तो लाग्छ।
आश्चर्यमा पर्नुभो?
आन्द्रा उल्टिएनन्, वमन भएन। सबै यात्रुहरू, विमानका कर्मचारीहरू मित्रवत थिए, यात्रा बडो सुखद एवं स्मरणीय रह्यो।
मोहर रूपियाँ २५० भाडा लाग्यो। भाडा घटाउन खोजेको, केहि सिप लागेन। विद्यार्थी, अशक्त, वृद्धहरूका लागि सहुलियतको व्यवस्था रहेछ।
चक्लेटको व्यवस्था रहेनछ, भएको भए पुरै प्लेट उठाएर भाडा असुलउपर गर्न खोजिँदो हो।
मो रू २५० भाडा भन्नु भो, गाँजा वा अन्य कुनै नाम नखुलेको पदार्थ खाएर ट्रिपमा पो हुनुहुन्थ्यो कि?
होइन, खसोखास होइन। पत्याउनुहुन्न? ल तपाइँहरूको कसम।
त्यति सस्तोमा त बजेट एअरलायन्स पनि चढ्न पाइन्न, गफ हान्दिनी?
वास्तवमा त्यस दिन अकिञ्चन सिनामङ्गलस्थित हवाइ संग्रहालय अर्थात् एविएशन म्युजियममा थियो।
विमानस्थलको प्रवेशद्वारदेखि शुरू भएको हवाइ यात्रा वायुयानको ककपिट, विभिन्न हलहरू हुँदै बाहिरिएर प्राङ्गणको केहि चक्कर लगाउँदासम्म निर्वाध जारी रह्यो।
यात्राकै क्रममा खुसुक्क पाङ्ग्राहरूको अवस्था (पाङ्ग्रा कतिवटा छन्, हावा कति छ आदि), नटबोल्ट, पुच्छर, टर्वाइन, पखेटा, पेचकिल्ला लगायतका अवयवहरूको सर्सर्ती अवलोकन गर्दा तत्तत स्थानमा तत्तत वस्तुहरू रहेको (अकिञ्चनले जानेबुझेसम्म) थाहा पाउँदा मन प्रसन्न भयो।
सिनामङ्गलमा अवस्थित संग्रहालयको प्राङ्गणमा रहेका विमानहरू, वमवर्षकहरू, हेलिकप्टरहरूका तस्वीरहरू र उड्डयनको इतिहासका झलकहरू ग्रहण गर्दा मस्तिष्क भरियो।
क्याप्टेन वेद उप्रेती, वेद उप्रेती ट्रष्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा संचालित उक्त संग्रहालय शारीरिक/मानसिक अशक्तता भएकाहरू, राजनीतिकर्मीहरू (राजनीति उहाँहरू सबैको पेशा भएकोले राजनीतिज्ञ शब्दको अवमूल्यन गर्नु हुँदैन जस्तो लाग्यो), वायुसेवा उद्योगमा भविष्य खोज्ने विद्यार्थीहरूका साथै अनुसन्धाताहरू, जिज्ञासुहरू, ज्येष्ठ नागरिकहरू लगायत सबैले कम्तीमा एक पटक भए पनि भ्रमण गर्नुपर्छ जस्तो लाग्यो यद्यपि शुल्क भने अलि महँगो हो।
मार्च २०१५ मा त्रिभुवन विमानस्थलमा क्र्यास भएको टर्किश एयरलायन्सको उक्त विमानको रोचक यात्राबारे जानकारी पाउन सकिन्छ।
मो रू २५० तिरेर सिनामङ्गलदेखि सिनामङ्गलसम्मको पैदल जेट यात्राका क्रममा विश्व र नेपालको उड्डयन इतिहासको उडन्ते यात्रा गर्न त सत्ययुगमा पनि पाइँदैनथ्यो होला, कोरोनावाइरसग्रस्त, युद्धग्रस्त, आर्थिक सङ्कटग्रस्त कलिको त के कुरा भो र?
आगे यहाँहरूको जो विचार।
तपाईंको ईमेल गोप्य राखिनेछ ।