अर्थमन्त्रीमा शर्माकै पुनर्बहाली

|

काठमाडौं : नेकपा माओवादी केन्द्र अहिले नेपालको राजनीतिको मियोमा छ। माओवादी ०६४ सालयता हरेक पटक सरकारमा पुगेको छ। 

यसबीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसकेका छन्। त्यसपछि जति प्रधानमन्त्री बनेका छन् तीमध्ये धेरै प्रचण्डकै प्रस्तावमा बन्ने र हट्ने क्रम चलिरहेको छ।

हाल नेपाली कांग्रेससँग गठबन्धनमा रहेका प्रचण्ड आगामी निर्वाचनपछि दोस्रो ठुलो पार्टी बन्ने र आफू तेस्रो तथा अन्तिम पटक प्रधानमन्त्री बन्ने आकाङ्क्षा व्यक्त गरेका छन्। यो सम्भव छ त ? चुनाव नजिकिँदै गर्दा प्रचण्डको विदेश भ्रमण किन र के का लागि ? अर्को तर्फ पार्टीभित्रकै पदाधिकारी चयन फलामको चिउरा किन भएको ? यिनै विषयमा केन्द्रित भएर नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग थाहाकर्मी जगत भण्डारीले गरेको कुराकानीको सम्पादित अंश।

तपाईंको पार्टी अध्यक्षले आगामी चुनावबाट दोस्रो पार्टी र तेस्रो पटक प्रधानमन्त्री बन्ने आकाङ्क्षा व्यक्त गर्नुभएको छ। यो सम्भव छ ?

सम्भावना छ। तर अहिले नै ठोस् आकार लिइसकेको छैन। त्यसको लागि पहल प्रयत्न गर्दै जाँदा हुने सम्भावना बढ्दै जान्छ। 

एकातिर उप-गठबन्धनको अभ्यास गर्ने अर्कोतिर कांग्रेससँग बार्गेनिङ गर्दा कांग्रेसले कसरी स्वीकार गर्ला र ?

सहकार्य कुन रूपमा हुन्छ भन्ने हो। वामपन्थीहरूको मोर्चा बनाएर वा एकता संयोजन समिति बनाएर पहल गर्ने भन्ने पनि छ। यो फेरि कांग्रेसलाई दबाब दिन पनि होइन। 

डा बाबुराम भट्टराई समेतलाई समेट्ने गरी एमाले बाहेकको समाजवादी केन्द्र निर्माणको तयारी गरियो। उहाँले आफ्नै पार्टी खोलेपछि सम्भव नहुने देखेपछि कांग्रेससँगै गठबन्धन जारी राख्ने भनियो। यसरी यु–टर्न हुनुपर्ने अवस्था किन आयो ?

समाजवादी केन्द्र भन्ने त होइन। कम्युनिष्टभित्रको समाजवादी धारहरू एक ठाउँमा आउने भन्ने चाहिँ हो। त्यसभन्दा बाहिरका त समेटिने कुरा भएन नि। वामपन्थी एक ठाउँमा उभिने गरी कुराकानी भइरहेकै छ। अध्यक्षजीले फेरि नयाँ सिराबाट सुरु गर्नुभएको छ। हामीले अन्त केही नपाएर कांग्रेससँग गएको होइन। कांग्रेस पनि प्रतिगमनविरुद्धकै आन्दोलनको हिस्सा भएकाले मोर्चाबन्दी गरेका हौँ। 

चुनावको मुखमा भारत गएर आउनुभयो। अब जापान जाँदै हुनुहुन्छ र चीन पनि जाने चर्चा छ, किन ?

भारत भ्रमण त त्यहाँको सत्तारुढ पार्टीले बोलाएर भएको हो। जापानको सन्दर्भमा चाहिँ फरक छ। त्यहाँको पार्टी वा सरकारले बोलाएर जान लागेको होइन। अहिलेको तनावपूर्ण अन्तर्राष्ट्रिय स्थितिलाई बुझ्न भ्रमण गर्नु त सामान्य कुरा हो नि। यसलाई नराम्रो रूपमा लिनु भएन। 

२०७४ सालको निर्वाचनअघि चीनकै कारण वामगठबन्धन भएको चर्चा थियो। अहिले पनि चीन भ्रमणले कम्युनिष्टहरूलाई मिलाउन भूमिका खेल्दैन भन्न सकिन्छ र ? 

नेपालका कम्युनिष्टहरूलाई चीनले मिलाइदिने होइन। यहाँ हामी आफैँ मिल्ने हो÷मिलाउने हो। एमालेको चरित्र वामपन्थी नै छैन। पहिला त्यो चरित्रमा परिवर्तन गर्नुपर्‍यो। पश्चगामी सोचका साथ हिँडिरहेको छ। त्यसलाई हामीले कसरी बाम भन्ने ?

तपाईँहरूलाई कांग्रेसभन्दा एमाले पश्चगामी किन लाग्न थालेको हो ?

जुन गतिविधि गर्यो त्यसले स्पष्ट पारेकै छ नि। दुई दुई पटक संविधानविपरीत कदम चालेर संसद् विघटन गर्ने, संविधान मास्ने जुन कदम चाल्यो एमालेको नेतृत्वले त्यसले प्रस्ट हुँदैन र ?

त्यसो हो भने हालै मात्र तपाईँका पार्टीका नेता नारायणकाजी श्रेष्ठले ओलीसँग बाम एकता गरौँ भन्ने प्रस्ताव किन राख्नुभयो त  ?

त्यो त उहाँले गल्ती स्वीकार गरेर सँगै बसौँ भन्नुभएको हो। त्यसमा एमाले तयार भएन।​

चुनाव तोक्न प्रचण्डले नै रोक्नुभएको किन चुनाव सार्न ?

संसदमा धेरै विधेयक थुप्रिएर बसेका छन्। एमालेले ८ महिनासम्म संसद् अवरुद्ध गर्दा संसदीय प्रक्रिया अघि बढ्न सकेन। त्यस बेला हुनुपर्ने कतिपय काम संसदले गर्न पाएको छैन।

अहिले यसलाई मध्यनजर गरेर नै संसदले फटाफट काम गरिरहेको छ। तर पनि भ्याइएको छैन। संसदलाई पुरै कार्यकालमा चलाउने कि भन्ने पनि छ। शपथ गरेको दिनलाई मान्ने हो भने अलि पछि गर्दा पनि भयो। तर अहिले चुनाव सार्नुपर्छ भन्नेमा हाम्रो मत छैन। 

अघिल्लो कार्यकालमा पनि रिक्तता देखियो। अहिले पनि त्यस्तै अवस्था देखिएको छ। पदाधिकारी चयन चाहिँ फलामको चिउरा नै भयो है !

आजको बैठकले स्थायी कमिटी र केन्द्रीय सदस्यलाई टुंग्याउने भन्ने छ। त्यसमा महिलाहरु र एकतामा आएकाहरुलाई समावेश गर्ने भन्ने छ। त्यसपछि पदाधिकारीको एजेन्डा आउला। अहिले त्यो एजेन्डा नै छैन। 

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनलाई मिलाउन नेतृत्वलाई असहज भएको हो ?

त्यस विषयमा छलफल प्रवेश भएकै छैन। 

संसदीय छानबिन समितिले सरकार र सत्तापक्षको बहुमतको बलमा क्लिनचिट दिएको छ। अब उहाँ नै अर्थमन्त्रीमा फर्कनु हुने हो ?

उहाँ पुनर्बहाली हुनुहुन्छ। राजीनामा दिएर बसेकाले पार्टीको बैठकले पुनः सिफारिस गरेर पठाउने भन्ने तयारी छ। त्यसपछि प्रधानमन्त्रीले हेर्नुहोला। अनावश्यक ह्युमिलेटेड गरेको हुनाले एक पटक बनाउनुपर्छ भन्ने छ, टुङ्गिएको छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.