माओवादी झन् झन् निम्छरो बन्दैछ : ओली

|
ओलीको गृहनगर क्षेत्र दमकमा बन्दै गरेको भ्युटावर ।

इलाम : ०७२ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा गृहनगर दमक विकासका लागि विभिन्न महत्वकांक्षी योजनाको घोषणा गरे।

सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृष्यावलोकन स्तम्भ (भ्युटावर) उनको पहिलो प्राथमिकतामा थियो। ओलीले सरकारमा रहँदा राष्ट्रिय गौरवको सूचीमा नै राख्न लगाएर दापगाछिमा ‘दमक भ्युटावर’ निर्माण सुरु गरेका थियो।

सघन शहरी तथा भवन निर्माण आयोजना, भद्रपुर मातहतमा रहेर  २०७६ असार २७ मा ठेक्का सम्झौता भएर टावरको काम अघि बढाइएको थियो। १ सय मिटर अग्लो र १८ तले भ्यू टावर चिनियाँ कम्पनी जेडसीजीआईईसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माणको ठेक्का पाएका थिए।

सम्झौताअनुसार गत वर्ष पुस २७ गते सम्पन्न हुनुपर्ने टावरको काम अझै सकिएन। केपी ओली सरकारबाट बहिर्गमनमा परेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको प्राथमिकतामा दमकको भ्युटावर परेन। स्थानीयवासीले ५ बिघा जग्गा निःशुल्क उपलब्ध गराएको जग्गामा टावरको बनाउने थालिएको थियो।

भ्युटावरजस्तो अनुत्पादक क्षेत्रमा सरकारले ठलो लगानी गरेको भन्दै विगतबाटै ओलीको आलोचना हुँदै आएको थियो। सुकुम्बासी बस्तीले घेरिएको निर्माणाधीन भ्युटावरबाट उनीहरूको गरिबी अहिले पनि देख्न सकिन्छ।

भ्यटावरको लागत बढ्यो

ओलीकै जोडबल मदनभण्डारी राजमार्ग पनि भ्युटावर नजिकै हुँदै लैजान रेखाङ्कन भएको छ। अहिले देउवा नेतृत्वको सरकारको प्राथमिकतामा भ्युटावर नपरेपछि लागतमा समेत बढ्दो छ।

सयममै निर्माण नभएपछि १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँमा निर्माण हुने भनिएको भ्युटावरको लागत बढेर १ अर्ब ५८ करोड २२ लाख रुपैयाँ पुगेको छ।

महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले टावर निर्माण कार्यको सुरुमा तोकिएको म्याद समाप्त भइसक्दा १२ तलासम्मको संरचना मात्र तयार भएको जनाएको छ।

कांग्रेस नेतृत्वको सरकारले ओलीको महत्वाकांक्षी योजनालाई प्राथमिकतामा नराखेपछि गृह जिल्लाको ३ दिने बसाईका क्रममा ओलीले सत्तोसरापसमेत गर्न भ्याए। गृह नगरसँगै सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिकामा पाटी प्रवेश कार्यक्रममा पुगेका ओलीले नेपाली कांग्रेसले भ्युटावरलाई मचानभन्दा फरक ढंगले बुझ्न नसकेको आरोप लगाए।

‘कांग्रेसले के बुझ्या छ भ्युटावर। अहिले भ्युटावर बनाउन दिन्नँ भनेर प्रतिज्ञा गर्नुपरेको छ कठैबरी कांग्रेस। उसले भ्युटावर भनेको मचान बुझ्छ। माथि चढेर यसो परपरसम्म हेर्ने। अमेरिकाको ट्रेड टावर उसले टावरको रुपमा मात्र बुझ्न सक्छ विश्वको व्यपार केन्द्रको रुपमा बुझ्न सकेन।’

ओलीले भने,  ‘ दमक भ्युटावर यस्तो कम्प्लेक्स हो जहाँ १८ तला हुन्छ। त्यसमा ठुलाठुला कार्यालय फ्ल्याटमा बस्न सक्छन् विजनेसहरु बस्नसक्छन्। फाइभ स्टार होटल बस्न सक्छन्। डिपार्टमेन्ट, हस्पिटल, क्याम्पस बस्न सक्छन्।’

मलेसियाले बनाएको २ वटा टावरको उदाहरण दिँदै ओलीले देशको परिचय, व्यपारिक केन्द्र र अर्थतन्त्र विस्तारको लागि सहयोगी रहेको बताए।

‘२१ वर्ष सरकारको नेतृत्वमा गर्दै कांग्रेसको नयाँ काम केही पनि छैन। उसले त उडाउने हो मदन भण्डारी राजमार्ग बनाउने भन्दा किन चाहियो भन्छ, पुल बनाउने भन्दा किन चाहियो भन्छन्। ठूला ठूला कम्प्लेक्स बनाउने भन्दा भ्युटावर किन चाहियो भन्छ।  भत्किएको धरहरा फेरि उठाउने भन्दा भ्युटावर किन चाहियो भन्छ। सेतो भ्युटावरबाहेक केही पनि हैन धरहरा भन्छ।’ 

प्रचण्ड, झलनाथ र माधवमाथि पनि व्यङ्ग्य

ओली इलाम क्षेत्र नम्बर २ का सांसद एवम पूर्व-सभामुख सुवासचन्द्र नेम्वाङलाई समेत साथ लिएर चुलाचुली पुगेका थिए। सधैँ आफ्नै जिल्लावासी एवं पूर्व-एमाले नेता झलनाथ खनाललाई अनेक उपनाम दिन रुचाउने नेम्वाङले चुलाचुलीमा करिब १० मिनेट भाषण ओली गानमै बिताए।

यता, ओलीले पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई गिराउन कुनै कसुर नै बाँकी राखेनन्। ‘माधव नेपाल २० प्रतिशतभन्दा बढी लिएर पार्टी फुटेको हैन। अहिले माधव नेपालसँग स्थानीय तहको निर्वाचनमा कस्तो आयो परिणाम भन्दा २० प्रतिशत लिएर छुटिएका उनीसँग अहिले २ प्रतिशत पनि छैन। १२ जना प्रमुखले जितेका छन्। २ प्रतिशत हुन १५-१६ जनाले जित्नुपर्छ।’

ओलीले भने, ‘माओवादीले पहिलाको चुनावमा १८ लाख भोट ल्याएको थियो अहिले १३ लाख भोटमा झरेको छ। ५ लाख भोट घटेको छ। कांग्रेससँग साँठगाठ गरेर केही सिट बढेको होला १५ सिट जति। तर भोट चाहिँ ५ लाख घटेको छ। १७ प्रतिशत ल्याएको थियो अहिले ११.९७ ल्याएको छ। हामीसँग मिल्दा बेग्लै हैसियत थियो।’

एमालेसँग अघिल्लो निर्वाचनमा  ३२ लाख ५६ हजार भोट भएको बताउँदै  अहिले ३८ लाख पुगेको जिकिर गरे। उनले आन्तरिक समस्याका कारण धेरै स्थान गुमाउनुपरेको समेत बताए। उनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेको कारण प्रचण्ड र माओवादीको अस्तित्व बचेको बताए।

ओलीले ५-७  सिट जित्ने पार्टीलाई एमालेले ३६ सिट जिताएको बताए। ‘प्रचण्डलाई हामीले जिताइदिएका हौँ। त्यति धेरै सिट थिएन ५-७ सिट जित्थे होला हामीले ३६ सिट जितायौँ। त्यसको दुरुपयोग गर्दै प्रचण्डले पार्टी कब्जा गर्ने हामीलाई नै पार्टीबाट निकाल्नेदेखि लिएर सव भत्काएर दक्षिणपन्थी सरकार बनाउने खेती गरे। हामीले नै दिएको सिटहरुको दुरुपयोग गरेर बेइमानीको त्योभन्दा पराकाष्ठा के हुन्छ। ’

उनले एमाले हराउन लागेको झलनाथ खनाल र माधव नेपाल आफैँ कमजोर भएको बताए। ‘माधव नेपालहरू हामीसँगै थिए हामीसँग भएर जितेका थिए। यही पल्लापटीका क्षेत्रबाट झलनाथ खनाल जितेका थिए। झलनाथ खनालको उद्धेश्य के भयोभन्दा एमाले प्रमुख सत्रु एमालेलाई कुनै हालतमा हराउ अरु जसलाई जिताए पनि हुन्छ भन्न थाले।’

१३ वर्ष पार्टी प्रमुख रहेको झलनाथ खनाल र १५ वर्ष प्रमुख रहेका माधव नेपाल एमाले सिध्याउनेहरुको मतियार रहेको बताए। ‘झलनाथ खनाललाई १३ वर्ष पार्टी प्रमुख बनाइयो प्रधानमन्त्री बनाइयो र यसै पार्टीलाई नसिध्याइ हुँदैन भनेर लागे। माधव नेपाल त्यसैगरी लागे १५ वर्ष पार्टी प्रमुख भए। कृतघ्नता बेइमानीको पनि हद हुन्छ’ ओलीले भने

उनले बितेका वर्षमा माधव नेपाल र झलनाथ खनालले स्वार्थको लेनदेन सिकाएको आरोप लगाए। उनले पार्टीमा गुटबन्दी गरेर अनुशासनहिता सिकाएको बताउँदै माओवादी र एमालेका कार्यकर्ताहरु एकजुट भएर अघि बढ्न चाहे पनि नेतृत्वहरुको स्वार्थ नमिल्दा पार्टी फुटेको आरोपसमेत लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.