यो लोक परम्परा अब युवाको काँधमा

|

काठमाडौं : बाँसुरी– एक प्रकारको बाजा। यसबाट निस्किएको स्वर श्रुतिमधुर हुन्छ। सबैको मन छुन्छ।

यही श्रुतिमधुर बाजा बाँसुरीको महत्त्व उजागर गर्न वाम्बुले राई समाज नेपाल(वाम्रास) ले २०७४ सालदेखि हरेक वर्ष साउन १५ मा ‘बाँसुरी दिवस’ मनाउँदै आएको छ।

‘किराती लोक परम्पराको निरन्तरता’ नारासहित वाम्रासले आइतबार छैटौँ बाँसुरी दिवस मनायो। बाँसुरी दिवसको सन्दर्भ निकाल्नासाथ केही व्यक्ति आश्चर्य पनि मान्छन्।

राज्यले घोषणा नगरेको यो दिवस कहाँ–कसले मनाउँछन्? यसको के महत्त्व महत्त्व र अर्थ छ? यी जिज्ञासा विगत ६ वर्षदेखि नेपाल वाम्रासले मेट्दै आएको छ।

साउन १५ नजिकिँदै गर्दा किरात वाम्बुले राईहरूमा खुशाीको छुट्टै माहोल हुन्छ। यो वाम्बुले राईहरूको विशेष दिन हो।

वाम्बुले पोसाकमा सजिएका जोकोही हातमा बाँसुरी समाउँदा र बजाउँदा आकर्षक देखिन्छन्। किरात वाम्बुले राई ढ्वाङकुम् चाड पनि मनाउँछन्। भूमे पूजा गर्छन्।

त्यसो त प्रकृतिपूजक मानिन्छ, किरात समुदाय। 

यसकारण मनाउँछौँ बाँसुरी दिवस

साउन १५ गतेकै दिन यो दिवस मनाउनुको कारण छ। वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि १५ दिन प्रकृति अर्थात् भगवान् गुफा बस्छन् भन्ने मान्यता छ।

त्यसैले यो समयमा होहल्ला गर्नु हुँदैन। बाजागाजा बजाउनु हुँदैन। सुइसुला गर्न र गीत गाउन पनि हुँदैन। नङ, कपाल काट्नु हुँदैन। कपाल कोरेर भुइँमा झार्नु हुँदैन। बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा बजाउनु हुँदैन। 

जब, साउन १५ लाग्छ तब भगवान् उपवास सकेर बाहिर निस्कन्छन्। त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, बयस्कहरू नयाँ बनाएका र अगेनुमाथिको बलोमा सिउरेर राखेका पुराना बाँसुरी झिकेर पाखापर्वत, खोला शृंखला नै गुञ्जायमान हुने गरी बजाउँछन्।

महिलाले बिनायो बजाउँछन्। वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्ने र बजाउने चलन छ।  भाका भने यस्तो हुन्छ,‘तिरिहुरी तिति माई मुरली, बाटैमा भेटें गाई कोरलीफापरको ढिंडो अरमले साग, कति राम्रो मुरली सुमधुर राग’।

गाउँघर, वनपाखा, खोलानाला, दुधकोशी र सुनकोशी नदी गडतीर गुञ्जिने गरी बजाउन थाल्छन्। मायाप्रीति या बिरह, मनै रुवाउने भाकाहरू बजाउँछन्।

त्यसैगरी एकल र जोर मुरली बजाउँछन्। राम्दले भाका बजाउँछन्। लोकभाका जो कसैले नक्कल गरेर बजाउन तम्सिन्छ।

वाम्बुले राईहरूको आफ्नै थातथलो, रीतिथिति, लोकपरम्परा छन्। शहरमा बस्नेलाई गाउँघरको सम्झनाले ब्युँताउँछ।

विदेशमा बस्नेलाई स्वदेशको यादले सताउँछ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ ओखलढुंगा, खोटाङ तथा उदयपुर र प्रदेश–३ सिन्धुली जिल्ला दूधकोशी र सुनकोशी नदी संगम आसपासको भूगोल किरात वाम्बुले राईहरू मूलथलो हो।

सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम, पाँचथर, सर्लाही, काठमाडौं उपत्यका, चितवन, तनहुँ, कास्की तथा बेलायतमा समेत वाम्बुले राईहरूको बसोबास छ। वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४०० भन्दा बढी छ।

यो दिवस वाम्बुलेको ‘ब्राण्ड’ बन्छ

६ औँ बाँसुरी दिवस ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा मनाउँदा सबै खुशी देखिन्थे। प्रमुख अतिथि लोकसंस्कृतिविद् डा. भक्त राई थिए। सभाध्यक्ष वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिका अध्यक्ष गजुरधन राई थिए।

बाँसुरी बादक जीवन राई र संगम राई थिए। बाँसुरीमा भिमराज राई, निरल राई, सबिन्द्र राई, सहराज राईले साथ दिएका थिए। गाउनेमा अम्बिका राई र एलिना राई थिए। मोतीलाल राई र विष्णुमाइला राईले मादल बजाएका थिए।

राम्दले भाकामा बजाएका ती बाँसुरी र मादलको आवाजले दर्शक मुग्ध थिए। प्रस्तुतिपश्चात् डा.लोकसंस्कृतिविद् राईले यो बजाइको भाका र कार्यक्रमलाई नै सरकारले वाम्बुले राईको ब्राण्ड बनाउनुपर्छ भन्नेमा जोड दिए। 

'वाम्बुले राईहरूले जुन वेशभूषा र मौलिक भाकामा गीत,बाँसुरी बजाउँन्,यसलाई उत्सवका रूपमा मनाउनुपर्छ’, राईले अनौपचारिक कुराकानीका क्रममा पंक्तिकारसँग भने,‘यसलाई वाम्बुलेको ब्राण्ड बनाउनुपर्छ। डकुमेन्ट्री बनाउनुपर्छ। यसका लागि म बजेटको पहल गर्छु।’   

गाउँघरमा पनि मनाइँदै छ यो दिवस

किराती लोक परम्परालाई निरन्तरता दिन शहरमा मात्र नभई ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकास्थित हिलेपानीको मितेरीभञ्ज्याङ लगायत ठाउँमा पनि साउन १५ कै दिन यो दिवस मनाउने गरिएको छ। यही दिन खिर पनि खाने चलन छ।

कोभिड-१९ महामारीमा पनि यो परम्परा कायम राखेका छौँ। २०७७ र ७८ मा भर्चुअल माध्यमबाट मनायौँ। समाज नेपाल वाम्रासका उपाध्यक्ष गणेश वाम्बुले राई भन्छन्,‘किराती लोक परम्पराको निरन्तरताको रूपमा यो दिवस मनाइएको हो। हामी नै हाम्रो लोकपरम्पराका संवाहक हौँ। लोकपरम्परा नै हाम्रो शान हो।’ 

उनले भनेजस्तै यो समयसम्म आइपुग्दा यसले छुट्टै इतिहास र महत्व बोकेको छ।

वाम्बुले भूगोलमा बजाइने बाँसुरी, मुरली, बिनायो, मादल जस्ता बाजाहरूको संगीत विज्ञान र विधिसम्मत ढंगले प्रवर्धन गर्न लोकभाकाहरूको पुस्तक प्रकाशन भइरहेको छ। अझै अरु काम गर्दै जाने विश्वास लिइएको छ। 

वाम्बुले संस्कृतिको संरक्षण गर्ने खम्बा ‘वाम्रास’

वाम्बुले राईको मातृभाषा, मुन्धुम संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको हो वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था। समाज नेपाल वाम्रासका अध्यक्ष गजुरधन राईले बाँसुरी दिवस लगायत वाम्बुले समुदायको कला,संस्कृतिको सदैव संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनी थप्छन्,‘हामीले ६ वर्षदेखि यो लोकपरम्परा निरन्तर जगाएका छौँ,अन्तराष्ट्रिय स्तरमै यसको ब्राण्ड पुग्दै छ,अरु परम्परागत संस्कृति अध्ययन अनुसन्धान गरी भावी पुस्तका लागि पनि बचाइराख्नु पर्छ।’ 

 ‘०७४ सालबाट थालेको बाँसुरी दिवस मनाउँदै यहाँसम्म हामी आइपुग्छौँ भन्ने लागेको थिएन। तर निरन्तरता पायो। म गौरवान्वित छु', उनले खुशी साटासाट गरे।

सरकार र युवाको भूमिका किन कम ?

हाम्रो अभिभावक राज्य हो। केन्द्र, प्रदेश र स्थानीय तहको दायित्व मौलिक कला संस्कृतिको उत्थान गर्नु हो। तर, जातजातिको परम्परा जोगाउन कुनै पनि तहको सरकारले चाहेको देखिँदैन।

बढ्दो प्रविधिको प्रयोगसँगै मौलिक परम्पराप्रति वितृष्णा बढ्दो छ। कला संस्कृति पुस्तान्तरण नहुँदा हराउँदै छन्। संस्कृतिको बेवास्ताले पहिचान पनि हराउने डर बढेको छ।

यस्ता मौलिक संस्कृति पुस्तौँपुस्तासम्म हस्तान्तरण होस्, यसमा हामी युवा जागरुक हुन आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.