|

काठमाडौं : विगतमा समायोजन मिलान गरेर स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका (स्वास्थ्यकर्मी) कर्मचारीलाई स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन्।

हालै मात्र बाँकेको कोहलपुर नगरपालिकाले १८ जना स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन नसक्ने भन्दै कर्मचारीको विवरण सहितको सूची नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख टीकाराम ढकालका अनुसार आफ्नो नगरपालिकामा दरबन्दीभन्दा बढी रहेका १८ जना विभिन्न पदका ( अहेव, अनमी, एचए) छैठौँ तहका स्वास्थ्यकर्मीलाई फिर्ता पठाएको पुष्टि गरे।

‘हामीलाई स्वास्थ्य मन्त्रालयबाट यी स्वास्थ्यकर्मीलाई खुवाउने रकम आएन, असारमा पनि अर्कै शीर्षकबाट हामीले तलब खुवायौं,अब पनि ती कर्मचारीहरूलाई खुवाउने तलब नआउने भन्ने सूचना हामीले पाएका छौं, यस्तो अवस्थामा हामीलाई गाह्रो हुने हुँदा हाम्रोमा दरबन्दीभन्दा धेरै रहेका स्वास्थ्यकर्मीलाई फिर्ता पठाउने निर्णय गरेका हौँ‚’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पनि पछिल्लो समय स्थानीय तहहरू स्वयम्‌ले सहमति दिएर समायोजन मिलान गरेर लगेका स्वास्थ्यका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै फिर्ता पठाउने क्रम बढेको बताएको छ।

दरबन्दीभन्दा बढी कर्मचारी समायोजन मिलान भएर आएको र केन्द्रीय सरकारले समायोजन मिलानका कर्मचारीलाई तलब उपलब्ध नगराउने भएपछि स्थानीय तहले त्यस्तो निर्णय गर्न थालेका हुन्।

मन्त्रालयका जनसंख्या महाशाखाका सहसचिव इन्द्रमणि पोखरेलका अनुसार पनि केही स्थानीय तहले स्वास्थ्यकर्मी फिर्ता पठाएको र मन्त्रालयले  छलफल गरेर निकास दिन तयार रहेको बताए। ‘समायोजन भएर गएका तर फिर्ता पठाएका स्वास्थ्यकर्मीको विषयमा हामी संवेदनशील छौँ, उचित छलफल गरेर निकास निकाल्छौँ‚’ उनले भने।

यता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपमहासचिव हिमालय तिवारी स्थानीय तहले नै सहमति गरेर समायोजन मिलान गरेर लगेका स्वास्थ्यका कर्मचारीलाई अहिले हामी तलब खुवाउन सक्दैनौँ भनेर फिर्ता पठाउन नमिल्ले बताउँछन।

‘नयाँ जनप्रतिनिधि आउने बित्तिकै हाम्रा स्वास्थ्यका कर्मचारीहरू धेरै फिर्ता पठाएको सूचना हामीले पाएका छौँ, नयाँ जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीहरूप्रति संवेदनशील भएको पाइएन‚’ उनले भने।

यसअघि नै सहमति लिएर समायोजन मिलान गरेर स्वास्थ्यकर्मी लगेको हुँदा स्थानीय तहले नयाँ दरबन्दी सिर्जना गरेर भए पनि ती स्वास्थ्यकर्मी राख्नुपर्ने उनी बताउँछन्।

यसरी भएको थियो स्वास्थ्यकर्मीको समायोजन

दुई वर्षअघि भएको कर्मचारी समायोजनमा स्वास्थ्य सेवातर्फका कर्मचारी समायोजनमा ठूलै समस्या आएको थियो। स्वास्थ्यकर्मीले समायोजनलाई लिएर आन्दोलनसमेत गरेका थिए।

पछि मन्त्रालयले समायोजन मिलानको नाममा त्यसलाई सच्याउँदै स्वास्थ्यकर्मी आफैँले आफू कार्यरत स्थान र जान चाहेको स्थानको कार्यालयबाट तलब खुवाउने गरी स्वीकृति पत्रसहित निवेदन दिएकाहरूलाई समायोजन मिलान गरिदिएको थियो। कतिपय स्थानीय तहमा स्वास्थ्यकर्मीको दरबन्दी पनि थप गरिदिएको थियो।

सुगम र बजार इलाकाको स्थान धेरै स्वास्थ्यकर्मीको रोजाइमा हुँदा अहिले कर्मचारीको विषयमा समस्या पनि सोही क्षेत्रबाट आउने गरेको  स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

‘धेरै स्वास्थ्यकर्मीको रोजाइ अलि सुगम इलाकामा रहेका स्थानीय तहमा भएको छ, शुरुमा उहाँहरूले नै जसोतसो मिलाएर जानु भयो अहिले विभिन्न कारणले गर्दा समस्या भयो‚’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.