|

ललितपुर : साउनको तेस्रो सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूले शिव भगवानकाे भजन कीर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भरेका छन्।

काठमाडौंको पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुरको डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायतका मन्दिरमा विशेष गरी महिला भक्तजनको भीड लागेको थियो।

यसैगरी ललितपुरको पाटनस्थित कुम्भेश्वर, सुन कोठीको भृङ्गारेश्वर, ठेचोको ढल्केश्वर, लेलेको तिलेश्वर र पशुपतिनाथ, झरुवाराशीको सन्तानेश्वर, चापागाउँको जीवनेश्वर, लुभुको गोब्राटेश्वर र गोटीखेलको कालेश्वरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

पशुपतिनाथको मन्दिरमा बिहान सबेरैदेखि नै पूजाआजा र आराध्य देव श्री पशुपतिनाथको दर्शनका लागि भक्तजनको चहलपहल भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पशुपतिका चारै ढोका ३ बजेदेखि नै खोलिएको कोषले जनाएको छ। पशुपतिनाथमा सोमबारका दिन भक्तजनहरूले शिव भगवानकाे व्रत बसेर बोलबम पनि भरेका छन्।

बिहानै देखि हिन्दू धर्मावलम्बीहरुले पहेँलो वस्त्र लगाएर घैलामा पानी भरी टाउकोमा राखेर शिवालयसम्म बोलबम भरेका छन्। यसमा महिलाहरूको सङ्ख्या अधिक रहे पनि पुरुषहरू केही मात्रामा सहभागी भए।

यस क्रममा उनीहरूले खुट्टामा जुत्ता पनि नलगाई बोलबम बोलबम उच्चारण गर्दै मुहानबाट जल ल्याएर शिव भगवानलाई जल चढाएका छन्। कतिजनाले काठमाडाैं सुन्दरी जलबाट जल ल्याएर पशुपतिनाथमा चढाएका छन्।

साउने सोमबारका लागि भनेर त्यहाँ विशेष व्यवस्था मिलाइएको थियो। पशुपतिमा जल ल्याएर चढाउन, सोमबारको अघिल्लो साँझ नै धेरै जना भक्तजन सुन्दरीजल पुगेका थिए।

यसैगरी गोदावरीको जल ल्याएर ललितपुरको सन्तानेश्वर मन्दिरमा भक्तजनले जल चढाएका छन्।

बिहानैदेखि नै त्यहाँ पनि भक्तजनको भीड लागेको थियो। उपत्यकाको सहरी भेगबाट नजिकै रहेको सन्तानेश्वर मन्दिर झरुवारासीको फेदीबाट १ सय मिटरको उचाइमा डाँडाको थुम्कोमा रहेको छ।

यो मन्दिरमा यसपालि पनि विगतका वर्षहरूमा झैँ दर्शन गर्न आउने भक्तजनको सङ्ख्यामा कमी नआएको श्री सन्तानेश्वर महादेव संरक्षण तथा संवर्द्धन सेवा सङ्घले जनाएको छ।

यस्तै सुन कोठीको भृङ्गारेश्वर महादेवको मन्दिरमा पनि नजिकैको पानीको मुहानबाट पानी लिएर भक्तजनले चढाएका छन्। पहेँला वस्त्र लगाएर पङ्क्तिबद्ध भई उनीहरूले बोलबम भरेका छन्।

गोटीखेलको कालेश्वरमा साउन महिनामा बाटो हिलो चिप्लो र जङ्गलको बाटो जाने भएकाले त्यति भीड नभएको स्थानीय केशव घिमिरेले जानकारी दिए।
साउने सोमबारका दिन व्रत बसेर भगवान् शिवको ध्यान गरी पूजा अर्चना गर्ने चलन छ।​

हिन्दूनारीहरुले व्रतवसी आफ्ना पतिको सुस्वास्थ्यको कामना गर्ने गर्छन् भने अविवाहित नारीले सुयोग्य वर प्राप्तिका लागि व्रत बस्ने विश्वास छ।

साउने सोमबारको व्रत बस्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। साउनमा हातभरी मेहन्दी, हरियो र पहेँलो चुरा अनि हरियो कपडामा लगाउने चलन पनि बढ्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.