‘चालक संवेदनशील हुनुपर्छ’

|

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ को बुँदा ९ मा भनिएको छ, ‘स्कुल बसमा कसैले पनि धुम्रपान तथा मद्यपान गर्न पाइनेछैन।’ त्यस्तै निर्देशिकाको बुँदा १३ को सवारीचालकको दायित्वमा चालकले ट्राफिक नियमको पालना गर्नुपर्ने उल्लेख छ।

तर यो निर्देशिकाको खिल्ली उडाउँदै चालकले मापसे गरेर विद्यालयका बस चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार मापसे गरेर चलाएका विभिन्न स्कुलका १६ वटा बसलाई समात्यो।

ती बस चालकलाई कानुनअनुसार कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। ‘हामीले चेक गर्दा मापसे देखायो, उनीहरूलाई कारबाही गरिसकेका छौँ, कतिवटा निजी र सामुदायिक हुन्‚ त्यो चाहिँ छुट्याएनौँ’‚ उनले भने। मापसे गरेर बस चलाएको पाइएपछि अभिभावक र विद्यार्थी बालबालिका त्रसित छन्। 

राति खाएर देखिएको कि बिहान खाएर मापसे देखिएको भन्ने प्रश्नमा प्रवक्ता भट्टले भने, ‘अघिल्लो दिनको बेलुका खाएर देखाएको कि बिहान भनी त्यो छुट्याउने मेसिन हुँदैन, चेकिङ गर्दा मापसे गरेको देखायो। मापसे देखाएपछि बेलुका खाएको भन्ने छुट हुँदैन।’

​उनका अनुसार बेलुका खाएर बिहान चलाउँदा चालकमा रिँगटा लागेकै हुन्छ। उक्त निर्देशिकामा स्कुल बस कुनै पनि किसिमले प्रतिघण्टा अधिकतम ४० किमिभन्दा बढी गतिमा चलाउन नपाइने व्यवस्था छ तर मापसे गर्दा चालकले लापरबाही गरी तीव्र गतिमा बस चलाउने गर्छन्। जसले गर्दा सवारी दुर्घटना हुने उनले बताए।

‘चालक संवेदनशील हुनुपर्छ’

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्ट विद्यालयको बस चलाउँदा चालक निकै संवेदनशील हुनुपर्ने बताउँछन्। चालकमा केही चेतना नभएको र मादक पदार्थ सेवन गर्न मिल्दैन भन्दाभन्दै पनि जबरजस्ती खाने गरेको पाइएको उनले बताए।

उनी भन्छन्, ‘विद्यार्थी बालबालिका बोक्ने सवारीका चालक संवेदनशील बन्नुपर्छ, मापसे गरेर चलाउँदा दुर्घटना हुने जोखिम त छँदै छ। बालबालिकामा नकारात्मक असर पुग्छ। चालकबाट बालबालिका त्यही कुरा सिक्छन्, त्यसैले सचेत हुनुपर्छ।’

उनका अनुसार यो कारबाहीबाट अरू पनि यसैगरी मापसे गरेर स्कुल बस चलाउने गरेको आशंका गरे। ‘हामी यसरी चेकिङ निरन्तर अगाडि बढाउनेछौँ‚ स्कुल सञ्चालक, प्रधानाध्यापक सबैमा सचेत हुनुपर्‍याे’‚ उनले भने। 

मापसे गरेरै विद्यालयमा पुग्छन् हेड मास्टर

मापसे गरेर चालक विद्यालयको बस मात्रै चलाएका छैनन् हेड मास्टरसमेत मदिरा सेवन गरेर विद्यालय जाने गरेका छन्। जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ल मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका थिए।

प्रहरीले उनलाई सोमबार पक्राउ गर्‍याे। एक हजार रुपैयाँ धरौटी तिरेर उनी घर फर्किएको जाजरकोटका प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए। आर्थिक सर्वेक्षण २०७८।७९ अनुसार हाल देशभर सरकारी विद्यालय २६ हजार ४५४, निजी विद्यालय ६ हजार ७६० र धार्मिक विद्यालय १ हजार १५४ रहेका छन् ।

परिपत्र जारी गरिसकेका छौँ : प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का महासचिव आरबी कटवालले कुन विद्यालयका चालक मापसेमा पक्राउ परेका हुन् भनी बुझिरहेको जानकारी दिए।

उनले भने, ‘हामीले सबै विद्यालयलाई मापसे गरेर बस चलाउन नदिनु भनी परिपत्र गरेका छौँ। यस्तो संवेदनशील कुरामा सचेत छौँ।’ विद्यालयमा विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक यातना नदिन, अनावश्यक पुस्तक नबोकाउन पनि पटक पटक विद्यालयलाई निर्देशन दिँदै आएको उनले बताए।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.