|

सर्लाही : सर्लाहीमा धान रोप्न बाँकी रहेका किसान धमाधम रोपाइँमा व्यस्त भएका छन्। तीन दिनदेखि लगातार पर्याप्त वर्षा भएपछि धान रोप्न बाँकी रहेका किसानलाई अहिले रोपाइ गर्न भ्याइनभ्याइ परेकाे हाे।

यो पानीमा अब बाँकी रहेका सबै खेतमा रोपाइ भइसक्ने किसानले बताएका छन्। धान रोप्न बाँकी रहेका खेतमा अहिले गर्दान (हिल्याउन) का लागि हल गोरु तथा ट्याक्टर, बीउ उखेल्ने कामदार तथा धान रोप्ने रोपाहार देखिन्छन्।

ढिलै भएपनि रोपाइँ गर्न हुने गरी पर्याप्त वर्षा भइदिँदा किसान खुशी हुँदै रोपाइ गरिरहेका किसानहरुले बताएका छन्। पानी ढिलो गरी पर्दा धानको ब्याड तथा खरुन निकै छिप्पिसकेको किसानकाे गुनासाे छ।

धान रोपाइँ हुँदा किसान खुशी भएपनि ब्याड छिप्पिएकाले धान उत्पादनमा कमी हुने होकि भन्ने चिन्ता लागिरहेको हरिवन–८ का किसान सोनेलाल मण्डलले गुनासो गरे।

सर्लाहीका २० वटै पालिकामा धान खेती हुने गरेको छ। यहाँका किसानको मुख्य बाली धान खेती हो। अधिकांश किसानले यसभन्दा अगाडि परेकै पानीमा तथा कतिपयले पम्पसेट र कतिपयले कुलो तथा नहरको पानी लगाएर रोपाइँ गरेका छन्।

पहिले रोपेको धानमा अहिले हरियो भएर गाँज समेत हाल्न थालेका छ। यसभन्दा अघि जिल्लामा ६५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ।

अब यो पानीमा सबै रोपाइँ हुने बताइएको छ। यो बर्ष समयमा पानी नपर्दा किसानलाई छटपटीले पिरल्यो। वर्षाले साथ नदिँदा किसानले महँगीको डिजेल खर्चेर पम्पसेट चलाएर रोपाइँ गरेका छन्।

यो वर्ष बागमती सिँचाइ आयोजनाले बेलैमा नहरमा पानी नछाड्दा नहरको पानी लाग्ने ठाउँका किसानले पनि निक्कै हैरानी खेपेका छन्।              

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.