|

रौतहट : लगातारको वर्षाका कारण रौतहटका ग्रामीण भेगका अधिकांश सडकहरू हिलाम्मे बनेका छन्। जिल्लाको गुजरा नगरपालिकाका विभिन्न गाउँमा जाने नहरको बाटो हिलाम्मे भएर आवतजावतमा कठिनाई भएको स्थानीयले बताएका छन्।

चन्द्रपुरको मोथियाही हुँदै नहरै नहर गुजरा जाने बाटो हिलाम्मे भएका कारण आवत जावतमा समस्या हुँदासमेत बागमती सिँचाई आयोजनाले बनाउनेतर्फ चासो नलिएको स्थानीयको भनाइ रहेको छ।

हिलाम्मे नहर मर्मतमा गुजरा नगरपालिकाले चासो लिएको भएपनि बागमती सिँचाई आयोजनाले मर्मत गर्न नदिएको गुजरा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत विनोद कुमार जयसवालले बताए।​

गुजरा नगरपालिकाका अधिकांश वडामा पुग्नका लागि बागमती सिँचाई आयोजनाले बनाएको नहरको बाटो प्रयोग गर्नुपर्ने हुन्छ। नहरको बाटोमा सामान्य एक झर पानी पर्नासाथ हिड्न नसक्ने अवस्था रहेको गुनासो व्यापक आएपछि गुजरा नगरपालिकाका केही पदाधिकारीहरूको टोली बागमती सिँचाई आयोजनाको कार्यालयमा पुगेर कुराकानी गरेका थिए।

आयोजनाले आफैँले नहर मर्मत गर्ने बताएपछि टोली फर्किएको थियो। आयोजनाले आफूपनि नहरको बाटो नबनाउने नगरपालिकालाई पनि बनाउने नदिएका कारण स्थानीयलाई समस्या हुने गरेको गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल धामीले बताए।

बर्षाका बेला गुजरा नगरपालिकामा पर्ने नहरको बाटो हिलाम्मे हुने गरेको भएपनि बागमती सिँचाई आयोजनाले समयमा मर्मत नगर्दा स्थानीयलाई आवत जावतमा समस्या हुने गरेको गुनासो बढेपछि गुजरा नगरपालिकाले नहर मर्मतमा चासो लिएको थियो।

तर, पछिल्लो समय नगरपालिकाले नहर मर्मत गर्छु भन्दा सिँचाइ आयोजनाले गर्न नदिएपछि स्थानीयलाई आवत जावतमा समस्या हुने गरेको छ। यस्तै रौतहटको कटहरिया सन्तपुर सडक खण्डको गमहरिया बाटो हिलाम्मे भएपछि सो बाटो भएर हिड्ने स्थानीयहरुलाई सास्ती भएको छ।

लालबकैया बाँधदेखि गमहरियासम्मको बाटो हिलाम्मे भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको उनीहरुले बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.