|

काठमाडौं : एक नेपाली र एक चिनियाँ नागरिक अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले गोरखा आरुघाट गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौं रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखाकै सिरानचोक गाउँपालिका–५ स्थायी ठेगाना भई काठमाडौं धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दी नगरपालिका–११ का २९ वर्षीय रोहित

मगर, प्युठान जिल्लाको प्युठान नगरपालिका–८ बागदुला स्थायी ठेगाना भई हाल काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोटको शिवपुरी गाउँपालिका–६ पालथोक स्थायी ठेगाना भई हाल काठमाडौंको बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० स्थायी ठेगाना रहेका हाल काठमाडौं बालाजु बस्ने २८ वर्षीय शिव सुनारलाई पक्राउ गरेको हो। 

यसरी पक्राउ परे उनीहरू

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ चिसापानीका २६ वर्षीय सूर्यबहादुर राई चिनियाँ व्यवसायी याङ याङको दोभाषेका रूपमा सेवा दिँदै आएका  व्यक्ति थिए।

बुधबार साँझ ७ बजे राई काठमाडौं महानगरपालिका–२६ कपुरधाराको सडकमा हिँडिरहेका थिए। सडकमा हिँड्दै गर्दा ६ जनाको एक टोलीले उनलाई भने, 'तपाईंसँग काम छ।’

त्यसश्चात् जबर्जस्तीमा परेका राईलाई उनीहरूले उनले सेवा दिँदै आएका चिनियाँ नागरिकलाई भेट्टाउन भने। राईले खरेल टोलको एउटा घरमा रहेका चिनियाँ याङलाई भेट गराइदिए।  याङ र ती दोभाषेका गतिविधि पहिल्यैदेखि पछ्याएको र त्यसबारे भरपुर अध्ययन गरेका ती अपहरणकारीहरूले  याङलाई पनि  ‘काम छ’ भन्दै सँगै लिएर हिँडे।

उनीहरू दुवै अपहरणमा परिसकेका थिए। त्यसपश्चात दुवैलाई सो समूहले काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कस्थित मित्रनगरको न्यु स्वर्गद्वारी प्युठान होटल एन्ड लजमा लगेर राखे। अपहरणमा परेका ती दुईलाई उनीहरूले १ करोड रुपैयाँ दिए छोडिदिने नत्र मारिदिने धम्की दिए।

ती चाइनिज नागरिक याङले आफूसँग पैसा नभएको तर, आफ्नो साथीलाई भनेर पैसा दिन सक्ने जुक्ति निकाले। यसका लागि आफूले चाइनिज साथीलाई कल गरेर पैसा ल्याउन लगाउने बताए।

 फोन गरेपछि  पैसा आउने आशामा बसे अपहरणकारी। तर, यो खबर प्रहरीसम्म पुगिसकेको थियो।  तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीद्वारा मातहत प्रहरी वृत्तहरू: दरबारमार्ग, लैनचौर, महाराजगञ्‍ज, मालीगाऊँसमेतलाई उच्च सतर्क गराई खोज तथा उद्दारको कार्यमा तत्कालै खटिए। पैसा आउने आशामा रहेका अपहरणकारी अन्तत : प्रहरीको नियन्त्रणमा परे।

अपहरणमा प्रहरी नै संलग्‍न

पक्राउ परेकामध्ये दुईजना नेपाल प्रहरीमा कार्यरत रहेको अनुसन्धानमा खटिएका एक अधिकृतले जानकारी दिए।

उनका अनुसार कर्णबहादुर गुरुङ नेपाल प्रहरीका हवलदार हुन् भने उनी पाटन उच्च अदालतमा कार्यरत एक न्यायाधीशको पिएसओका रूपमा कार्यरत छन् भने शिव सुनार नेपाल प्रहरीका जवान हुन्।

अनुसन्धान जारी

नियन्त्रणमा लिएका व्यक्तिबाट प्रहरीले आठ लाख चौध हजार नौ सय रुपैयाँ बरामद गरेको छ भने  विभिन्न कम्पनीको २६ वटा मोबाइल सेट र १ हतकडी बरामद गरेको छ।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका एसपी दिनेश मैनालीको भनाइ छ। 

'हामीले थप अनुसन्धान गरिरहेका छौं। अन्य कुराहरू पनि विस्तारै खुल्दै जाला', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.