|

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।

ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित फलफूल तरकारी मूल्य शृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो। यस सम्बन्धी सम्झौतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन्।

कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाबाट कृषि उत्पादनको सङ्कलन केन्द्रमार्फत निःशुल्क ढुवानी गर्नेछ भने उपभोक्ता केन्द्रित वडामा भने वितरणको काम गर्नेछ। ग्रामीण क्षेत्रका कृषकहरूले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न तथा तथा बीउको प्रबन्ध गर्नका लागि एम्बुलेन्स प्रयोग गरिने नगरप्रमुख आचार्यले बताएका छन्।

‘ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो’, आचार्यले भने‚ ‘कृषि एम्बुलेन्समार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउ समेत वितरण गर्न सहज हुनेछ। ग्रामीण क्षेत्रमा उत्पादन हुने उपजले पनि ठाउँ पाउनुपर्छ भन्ने मान्यताअनुसार एम्बुलेन्स चलाउन लागेका हौँ।’

कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकहरूलाई तरकारी बजारसम्म पुर्‍याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरमा ताजा तरकारीको उपलब्धता लगायत फाइदा हुने पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए।

तालिका बनाएर महानगरका विभिन्न क्षेत्रमा दैनिकजसो सञ्चालन गरिने यस सेवाले साना किसानलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ। एकपटकमा तीन टनभन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको उक्त एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजानेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.