|
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरित भएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत हुने बताएका हुन्।

उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने बताए। आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ।

उनले भने,  ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ती राजनीतिक दलहरुले विपरित सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ। यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ। यसले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्छ।‘

एमाले नेता डा रावलले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशसभाको निर्वाचन गर्ने मितिबारे बिहीबार निर्णय गरेको थियो।

निर्वाचनको मिति सार्वजनिक भएसँगै शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ दलको गठबन्धन बैठकले आगामी निर्वाचनमा पनि तालमेल गरेरै अघि बढ्ने सहमति गरेको छ। यो सहमतिसँगै सिट बाँडफाँटबारे सहमति जुटाउन कांग्रेसबाट ३ जना र अन्य दलहरूबाट २-२ जना गरी ११ सदस्यीय कार्यदलसमेत गठन गरेको छ।

वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा पनि गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए।

उनीहरूको तालमेलसँगै एमालेलाई २२० सिटमा खुम्चिन पुगेको छ। एमालेले स्थानीय निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको समीक्षा गरेको छ। अबको निर्वाचनमा पनि गठबन्धन कायमै रहेमा एमालेलाई धक्का हुनसक्ने विश्लेषण जनमानसमा हुन थालेको छ।

भिडियो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.