शिक्षा मन्त्रालयले भन्यो : उच्च सावधानी अपनाउनू

|
पहिरोको उच्च जोखिममा रहेको घोर्ले मावि। तस्वीर सौजन्य : सामाजिक सञ्जाल

काठमाडौं : प्राकृतिक विपद्का कारण साउन लागेदेखि अहिलेसम्म दुई वटा सरकारी विद्यालयमा क्षति पुगेको छ।

नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टल काठमाडौंले साउन १ देखि आज (शुक्रबार) सम्ममा ताप्लेजुङ र लमजुङ जिल्लाका एक/एक गरी दुई वटा विद्यालयमा क्षति पुगेको तथ्यांक उपलब्ध गराएको हो। विद्यालयमा क्षति भए पनि मानवीय क्षति भने नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। अहिले पनि विभिन्न ठाउँमा बाढीपहिरो गइरहेको छ। जसबाट भौतिक संरचनासँगै मानवीय क्षति भएकाे छ।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने भनिएपछि अघिल्लो वर्षभन्दा यस वर्षमा करिब १ हजार सरकारी विद्यालय बाढी पहिरोको उच्च जोखिममा रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष बाढी पहिरोबाट ९ सय विद्यालयमा क्षति पुगेको थियो।

घोर्ले मावि पहिरोको उच्च जोखिममा

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१३ को दुविचौर स्थित घोर्ले माध्यमिक विद्यालय पहिरोको उच्च जोखिम छ। केही दिनअघि विद्यालय प्रांगण अगाडिकाे जमिनमा पहिराे गएकाे छ।

नगरपालिका वडा-१३ का अध्यक्ष हुमबहादुर बस्नेतले अहिले प्लास्टिक, तारजाली लगाउन पहल गरिरहेको जानकारी दिए। उनले भने, ‘बस्नै नहुने गरि पहिरो गएको चाहीँ होइन,स्कुल प्रांगण अगाडिको ग्याभिन भरेको वाल भने भत्किएको छ, त्यसैले जोखिम भने बढेको छ। तत्काल गर्न सकिने उपाय अवलम्बन गर्नेछौँ।’

उनले अहिले प्लाष्टिक लगाएर वा अन्य विकल्प खाेजेर रोकथाम गर्ने र भदौमा गाह्रो लगाउने बताए। उनका अनुसार उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म १ सय ९२ जना विद्यार्थी छन्।

‘अहिले १५ दिनको बर्खे बिदा दिइएकाले सबै विद्यार्थीहरू छैनन्, कक्षा ८, ९ र १० को भने ट्युसन कक्षा भइरहेको छ, हामीले सर्तकता त राम्रै गरि अपनाएका छौँ,’ उनले भने।

उच्च सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वर्षेनी बाढी पहिरोबाट विद्यालयमा क्षति पुगेपछि यस वर्ष पनि उच्च सावधानी अपनाउन प्रदेश तहमा शिक्षा हेर्ने मन्त्रालय र ७ वटै प्रदेशलाई आग्रह गरेको छ।

विकास केन्द्रले अत्यधिक वर्षाका कारण बाढी पहिरो र डुबान आदिजस्ता जोखिम रहन सक्ने जनाएको छ। विकास केन्द्रले खोला, नाला, ताल तलैया, नदी, पोखरी आदि नजिक रहेका वा गहिरो प्रकृतिको जमिनमा अवस्थित विद्यालयले बढी सतर्कता अपनाउनु भनेको छ।

यसका लागि विकास केन्द्रले यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ। उक्त सूचनामा उल्लेख गरिएको छ, ‘यी विद्यालयहरूमा पानीको सतह बढेर अफिस तथा कक्षाकोठा भित्रका कार्पेट, पुस्तक‚ पत्रपत्रिका, स्टेशनरीलगायत शैक्षिक सामग्रीको क्षति रोक्न सावधानी अपनाउनुहुन आग्रह छ।’

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार हाल देशभर सरकारी विद्यालय २६ हजार ४५४, निजी विद्यालय ६ हजार ७६० र धार्मिक विद्यालय १ हजार १५४ रहेका छन्।

कसरी गरिँदै छ व्यवस्थापन? 

व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले क्षति पुगेका विद्यालयमा पठनपाठन सञ्चालन गर्न नसकिने जानकारी दिए।

‘जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति छ,’ उनले भने, ‘उहाँहरूको निर्णयअनुसार सञ्चालन गर्न मिल्ने भए सञ्चालन हुन्छ, जोखिम भए बन्द गरेर विकल्प खोज्नुहुन्छ। उहाँहरूले नै वैकल्पिक व्यवस्थापन गर्दै आउनुभएको छ।’

प्राधिकरणका अनुसार बाढी, पहिरो हिमाली क्षेत्र, मध्यपहाडी क्षेत्र, बाढी जानेमा सिन्धुपाल्चोक, बाजुरालगायत जिल्लाहरू छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.