|
अमेरिकी सभामुख नान्सी पावेल (बायाँ)सँग भेट गर्दै जापानी प्रधानमन्त्री फुमिओ किशिदा। तस्वीर : क्योदो

तोक्यो : अमेरिकी सभामुख नान्सी पेलोसीले चीनले अमेरिकी अधिकारीहरूलाई  यात्रा गर्न नदिएर थाइवान (ताइवान)लाई एकल्याउन नसक्ने बताएकी छन्। उनले आफ्नो एशिया भ्रमणको अन्तिम चरणमा जापानको राजधानी तोक्योमा यस्तो अभिव्यक्ति दिएकी हुन्।

चीनले विरोध गर्दागर्दै पनि पेलोसी थाइवान पुगेकी थिइन्। २५ वर्षमा थाइवान भ्रमण गर्ने उनी अमेरिकी संसद्को प्रथम सभामुख हुन्। पेलोसीले बुधवार थाइवान होस् वा विश्वका कुनै कुनामा होस्‚ लोकतन्त्रप्रतिको अमेरिकी प्रतिबद्धता अटल रहेको बताइन्।

पेलोसी र कांग्रेसका अन्य पाँच सदस्य सिंगापुर, मलेशिया, थाइवान र दक्षिण कोरियाको यात्रापछि बिहीबार अबेर तोक्यो आइपुगेका थिए। थाइवानमाथि आफ्नो दाबी गर्दै आएको चीनले पेलोसीको भ्रमणलाई उत्तेजना फैलाउने कार्य भनेको छ र बिहीबार थाइवान वरपरका छवटा क्षेत्रमा क्षेप्यास्त्र प्रहार लगायत सैन्य अभ्यास शुरु गरेको छ। उनले आवश्यक परे बल प्रयोग गरेर थाइवानलाई कब्जा गर्ने धम्की दिएको छ।

यसअघि शुक्रबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले थाइवानमा चीनको सैन्य अभ्यासले क्षेत्रीय शान्ति र सुरक्षालाई खतरामा पार्ने ‘गम्भीर समस्या’ देखिएको बताएका थिए। चीनले प्रहार गरेका पाँचवटा ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा खसेका थिए। किशिदाले चीनलाई क्षेप्यास्त्र प्रक्षेपण ‘तुरुन्तै रोक्न’ भन्दै विरोध गरेका छन्। 

जापानी रक्षामन्त्री नुबुओ किशीले बिहीबार जापानको मुख्य टापुको सुदूर दक्षिणमा रहेको हातेरुमामा पाँचवटा क्षेप्यास्त्र प्रहार भएको बताएका छन्।

जापानद्वारा चीनको कडा विरोध

क्षेप्यास्त्रले आफ्नो राष्ट्रिय सुरक्षा र जापानी जनताको जीवनलाई खतरामा पारेको भन्दै जापानले चीनसँग आपत्ति प्रकट गरेको छ।  ‘यसको हामी घोर निन्दा गर्छौं’‚ जापानी विदेशमन्त्री योशिमासा हयाशीले भने। उनले चीनको कदमले क्षेत्रीय र अन्तरराष्ट्रिय स्तरमा शान्ति र स्थिरतालाई गम्भीर असर गरेको बताउँदै यस्ता सैन्य अभ्यास तत्काल रोक्न आह्वान गरेका छन्।

ताइवानको सुरक्षाका लागि अमेरिका र जापान प्रतिबद्ध

किशिदाले शुक्रबार बिहान पेलोसी र अमेरिकी प्रतिनिधिमण्डलले चीन, उत्तर कोरिया र रूसबाट देखिएका साझा सुरक्षा चिन्ताबारे छलफल गरेको बताए। उनीहरूले थाइवानमा शान्ति र स्थिरताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जापान र उसको मुख्य सहयोगी अमेरिकाले चीनको बढ्दो दबदवासँग जुध्न इन्डो-प्यासिफिक क्षेत्र र युरोपका अन्य लोकतान्त्रिक मुलुकहरूसँग नयाँ सुरक्षा र आर्थिक संरचना बनाउन जोड दिएका छन्।

चीन-जापान वार्ता रद्द

बिहीबार सात औद्योगिक राष्ट्रहरूको समूहका विदेशमन्त्रीहरूले विज्ञप्ति जारी गर्दै अमेरिका र चीन दुबैलाई ‘अधिकतम संयम’ अपनाउन र ‘भड्काउपूर्ण कामबाट बच्न’ आग्रह गरे। कम्बोडियामा दक्षिणपूर्वी एशियाली देशहरूको संगठन (आशियान)को बैठकपछि चीन र जापानका विदेशमन्त्रीबीचको वार्ता अन्तिम समयमा रद्द भएकोमा चीनले असन्तुष्टि व्यक्त गरेको छ।

चीनले जापानी भूमिमा प्रहार गरेका क्षेप्यास्त्र। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.