|

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले चोर बाटोबाट सिंहदरबारमा नपस्ने बताएका छन्।

नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले दाङको घोराहीमा शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले जनताको जनादेश र आशीर्वाद लिएर फेरि सिंहदरबारमा पुग्ने भन्दै आफूहरू चोरबाटो हुँदै सिंहदरबार नपस्ने उल्लेख गरे।

‘हामी चोर बाटोबाट घरको छाना फोडेर सिंहदरबार पस्दैनौं,‘ उनले भने, ‘सिंहदरबारको मूल ढोकाबाट जनताको आशीर्वाद लिएरै जान्छौँ। विश्वास छ जनताको आशीर्वाद हामीलाई प्राप्त हुनेछ।’

उपाध्यक्ष नेम्वाङले सर्वोच्च अदालतको आदेशबाट अहिले प्रतिपक्षमा पुगेको भए पनि  एमाले यो देशको पहिलो पार्टी भएको दाबी गरे।

उनले भने, ‘प्रतिनिधिसभामा पहिले पनि र अहिले पनि एमाले पहिलो पार्टी नै हो। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतका कारण हामी पहिलो पार्टी नै बनेका छौँ।’

उनले एमाले प्रमुख प्रतिपक्षमा बसे पनि संवैधानिक हिसाबले कुनै पनि समयमा सरकारमा जाने सक्ने पार्टी भएको तर एमालेलाई सरकारमा जान हतार नभएको उल्लेख गरे।

उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भने झैं अहिले एमालेलाई सरकारमा जान कुनै लोभ नभएको भन्दै जनताको आशीर्वाद लिएर मात्र सरकारमा जान चाहेको प्रष्ट पारे।

उनले भने, ‘हामी हतार गरेर, विभिन्न षड्यन्त्र गरेर सरकारमा जान चाहेका छैनौँ। हामी निर्वाचनबाट जनताको आशीर्वाद  लिएर जान चाहन्छौँ। तर सरकारमा भएका दलहरू हामीसँग ५ दलको गठबन्धन गरेर निर्वाचनमा जान तयार हुनु भएको छ।’  

उनले मंसिर ४ गतेको निर्वाचनमा जनताले दूधको दूध र पानीको पानी छुट्ट्याउने दाबी गरे। उनले अहिलेको गठबन्धन संविधान, कानुन र संसदीय मूल्य मान्यताविपरीत भएको भन्दै तत्कालीन एमालेका क्रियाशील साथीहरू आफ्नै पार्टीको सरकारको विरोधमा लागेको आरोप पनि लगाए।

उनले भने, ‘राष्ट्रपति कहाँ निवेदन दिन उहाँहरू नै जानु भयो। सर्वोच्च अदालतमा जाँदा पनि उहाँहरू नै जानु भयो। आफ्नो पार्टीको सरकारविरुद्ध सडकमा समेत उत्रिनु भयो।’

उनले एमाले पार्टीले संसद्, अदालत र सडकमा चुनौतीका साथ सामना गरेको भन्दै अध्यक्ष ओलीले २ पटक जनताको जनादेशमा जान खोजेको भए पनि अदालतले जान नदिएको र आउँदो मंसिर ४ गते जनताको जनादेशमा जाने दिन आएकाले त्यही दिन छिनोफानो हुने पनि बताए।

एमालेविरुद्ध गठबन्धन भए पनि पार्टीका एजेन्डा बोकेर जनतासामु जान पनि उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पोलिटब्युरो सदस्य नरुलाल चौधरीसहित अन्य पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लाका नेताहरूसमेत कार्यक्रममा उपस्थित थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.