फोहोरलाई भान्सामै कुहिने र नकुहिने प्रकारमा छुट्याए मात्र दिगो व्यवस्थापन

|

काठमाडौँ : शहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ।

आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो। कार्यक्रम स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रित थियो। सहभागीले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको योगदानको पनि सँगसँगै चर्चा गर्नुपर्ने सुझाव दिएका थिए।

समूहगत छलफलमा काठमाडौँ महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले काठमाडौँ महानगरपालिकाले जिम्मेवारीपूर्वक फोहोर व्यवस्थापनमा काम गरिरहेको बताए।

‘हामी उत्तरदायी हौँ‚ फोहोर व्यवस्थापनको काम हामी नै गर्छौँ‚’ उनले भने‚ ‘फोहोर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापनमा समस्या आउने गरेका छन्। तिनको समाधान हामी आफैँ गर्छौैँ।’

समूहगत छलफलमा महानगरको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले महानगरले फोहोर व्यवस्थापन गर्न समुदायको चेतना बढाउनेदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम गरिरहेको दाबी गरिन्।

ग्रीन पाथ नेपालका निर्देशक प्रदीप अमात्यले फोहोरलाई कम्पोष्ट गर्न भान्साबाटै काम थाल्नुपर्ने बताए। ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी नविनविक्रम महर्जनले उत्पादनदेखि व्यवस्थापनसम्मको चक्रमा पर्ने सबै काम एकीकृत गरेपछि मात्र फोहोर व्यवस्थापनमा दिगोपना आउने बताए।

संयुक्त सफाइ जागरणकी अध्यक्ष शान्ति तामाङ्ले ट्रान्सफर स्टेशनमा फोहोर वर्गीकरण गर्न सकिने र यसमा अनौपचारिक क्षेत्रका मानिसले सहयोग गर्ने धारणा राखिन्।

नगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गर्नुपर्ने छलफलमा सहभागी वक्ता र टिप्पणीकर्ताको मत छ। छलफलको निष्कर्षबारे जानकारी दिँदै कार्यक्रमका सहजकर्ता वातावरणविद भुषण तुलाधरले भने, ‘नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ। यसको शुरुवात घरबाट होइन भान्साबाट फोहोर बर्गीकरण गर्न थाल्नुपर्छ।’

कार्यक्रममा वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोरको दिगो व्यवस्थापनका लागि नीजि तथा गैरसरकारी र अनौपचारिक क्षेत्रको योगदानलाई संस्थागत गर्नुपर्ने बताउनुभयो। सिफेडका प्रमुख कार्यकारी वातावरण वैज्ञानिक रामचरित्र शाहले अध्ययन उद्धृत गर्दै फोहोरमा काम गर्ने व्यक्तिहरुको रगतमा शिशा (लेड) देखिएको तथ्य सुनाए।

मेड्सा डु मोन्डले काठमाडौँ महानगरसँग सम्झौता गरेर वडा नम्बर १९ को साविक सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडीसहितको सेवा सञ्चालन गरेको छ। अनौपचारिक क्षेत्रबाट फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिहरुलाई लक्षित समूह बनाएर यो कार्यक्रम सञ्चालन गरिएको हो।

मेड्सा डु मोन्ड फ्रान्स नेपाल मिसनका कार्यक्रम प्रबन्धक अस्मिता थापाले बागमती र विष्णुमती नदी किनारामा रहेका अनौपचारिक क्षेत्रका सफाइकर्मीहरुको स्वास्थ्य तथा सामाजिक विकासका लागि काम भइरहेको बताए।

काठमाडौँ महानगरको वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, ६ का अध्यक्ष भुवन लामा, २९ का अध्यक्ष कुश ढकाल, मिस नेपाल अर्थ २०२२ डा. सरिसा श्रेष्ठसहित क्षेत्रगत पदाधिकारीहरुले भाग लिएका थिए।

मेडसा फ्रान्सेली डाक्टरहरुले स्वास्थ्य उपचार सहज बनाउन स्थापना गरेको विश्वभरका डाक्टरहरुको संस्था हो । यसले काठमाडौँका अनौपचारिक क्षेत्रमा काम गर्ने सफाइकर्मीहरुको आर्थिक उत्थानका लागि फालिएका प्लाष्टिक र कपडामा आधारित उद्यम स्थापना गरेर उनीहरुलाई सम्मानजनक रुपमा काम गर्न सक्ने उद्यमी बनाउने कामको थालनी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.