|

कतिन्जेल बस्ने हामी यो समाजको दास भइ
हामी पनि मानिस हौँ अधिकार खोइ

यो समाजको कस्तो चलन चेली मात्रै हेपिने
पुरुषले जे गरे नि राम्रो देखिने

अरू देशका नारीले कति विकास गरेका
हामी मात्रै चेली किन पछि परेका

चन्द्रमामा पुगेर फर्किसके नारीले
हामीलाई कहिले छोडेन है घाँसको भारीले

हरिदेवी कोइरालाको शब्द, संगीत तथा स्वर रहेको यो तीज गीत २१ वर्षअघिको हो। कति बसाैँ नारी हामी बाेलकाे याे गीत रेडियो, टेलिभिजनमा मात्र बजेन, घाँस दाउरा गर्न हिँड्ने महिलाहरूको आवाजमा भीरपाखाले पनि याे गीत सुने। उक्त गीतमा नारी वेदना, विद्रोह, आफ्नै लागि र समाजका लागि धेरै प्रश्न पनि छन्‚ जसले गर्दा नेपाली समाजको एउटा काल खण्डको यथार्थ चित्र देखिन्छ।

घाँसको भारी बोक्दै गरेका महिलाहरूले यो गीत सुनेर घाँसै काट्न छोडेर चन्द्रमा जान्छु भनेर त हिँडेनन् हाेला तर धेरै महिला आफूले भोगिरहेको जीवनलाई राम्रोसँग नियालेर हेर्न थाले, समाजलाई हेर्न थाले, धेरै महिलाको चन्द्रमालाई हेर्ने दृष्टिकोण पनि फेरियो। त्यो वेलाका लागि आधुनिक र एउटा प्रभावशाली तीज गीतको रूपमा उक्त गीतलाई लिइन्छ।

हरितालिका तीज कहिलेदेखि मनाउन थालियो भन्ने यकिन तथ्य छैन तर हिन्दु धर्म अनुसार यो पर्व शिवपार्वतीको पालादेखि नै सुरु भयो। जुन आजभन्दा हजारौँ वर्षअगाडिको कुरा हो। तीजमा महिलाहरू भेटिँदा एक अर्कासँग आफ्ना सुख, दुःख साट्ने गरेको, तिनै सुखदुःखलाई लय हालेर गाउन थालेको र त्यसरी तीज गीतको पनि एउटा लामो इतिहास रहेको संस्कृतिविद्हरू बताउँछन्।

जसरी पहिले हावापानी, झरी, खेतबारीका बालीले तीजको संकेत गर्थे अहिले डेढदेखि दुई महिनाअघिदेखि नै सार्वजनिक हुने गीतले तीजको संकेत गर्छन्। पछिल्लो दुई दशकमा तीज मनाउने तरिकामा जसरी परिवर्तन आयो, तीज गीतमा पनि त्यो परिवर्तन देख्न सकिन्छ। जसका राजनीतिक, सामाजिक र प्रविधिक कारणहरू पनि छन्। 

कुनै समय सञ्चारमाध्यम चिठी मात्रै हुँदा माइत जान नपाएकी चेलीले पठाएको चिठी नै गीत हुन्थ्यो। टेलिफोन, मोबाइलको विकास भएपछि माइती र चेली अथवा विदेशमा रहेका श्रीमान्‌सँग श्रीमती, बाबुआमाको संवाद नै गीत हुन्थ्यो। त्यस्तै अहिलेका तीज गीतमा सामाजिक सञ्जालका प्रसंग जोडिएका छन्, भिडियो च्याटमा हुने संवाद गीतको रूपमा आएका छन्। 

सासूले माइत जान नदिएको वेदनादेखि 'दैलो पनि पोत्यौ बज्यै ढिकी पनि कुट न, मलाई साह्रै भोक लाछ भट्ट भुट न'सम्म, 'हाम फालेर मरुँ कि त्रिशुलीको पानीमा' देखि 'पोइला जान पाम'सम्म। पछिल्लो समयका 'भिनाजु पल्केर', दुई वर्षअघिको 'नो व्रत प्लिज' र यस वर्षको 'के हुन्छ बिहेको राति' जस्ता गीतले नयाँ तरङ्ग लिएर आए। केही गीतलाई धेरैले मन पराए आफै‌लाई लेखेकाे जस्ताे मानेर सुने, केही गीतको चर्को आलोचना पनि भयो। पछिल्लाे समयका कति गीत त मेटाइयाे पनि। 

सर्वाधिक रुचाइएको प्रजापति पराजुलीको तीज गीत शृंखला 'वेदनाको पोको' हुँदै नेपाली तीज गीत दुर्गेश थापाको 'बिच्च बिच्चमा'सम्म आएको छ। तेस्रो वर्षमै दुर्गेशले भर्खर 'बिच्च बिच्चमा ६' सार्वजनिक गरेका छन्। धेरै स्रष्टा, संगीत, संस्कृती प्रेमीहरू तीज गीतको पछिल्ला वर्षको ट्रेण्डबाट चिन्तित छन्। तीज गीत भनेर लेखिने सबै गीतलाई तीज गीत मान्ने कि नमान्ने भन्ने एउटा प्रश्न धेरैकाे मनमा आउन थालेकाे छ। 

हिन्दु धर्म अनुसार पार्वतीले व्रत बसेर शिवजीलाई पाएको र शिवजीको स्वास्थ्य तथा दीर्घायुका लागि पनि व्रत बस्ने गरेको दिनलाई तीजको रूपमा मनाउँदै आइएको मान्यता रहेको र व्यवहारिक रूपमा तीजलाई अर्को गरी पनि व्याख्या गर्न सकिने लोकस्रष्टा पुरुषोत्तम न्यौपाने बताउँछन्। 

'पहिले महिलाहरूलाई घरको काम गर्न र बच्चा जन्माउनका लागि मात्रै एउटा सामान जसरी प्रयोग गरिन्थ्यो। वर्षको एकपटक माइत जाने चलन थियो। वर्षमा एकपटक मात्र नयाँ कपडा किन्ने चलन थियो।' उनी भन्छन्, 'माइत गएका वेलामा आमालाई, सँगै घाँसपात गर्ने साथीसँगीलाई आफ्ना पतिका बारेमा, परिवारको बारेमा, घरका दुःख वेदना सुनाउने गर्थे। घरमा भएको दुःख, माइत पुग्दाको खुशीलाई गीतमार्फत अभिव्यक्त गर्थे।' 

माइत जाने वेला बाटोमा देखेका भोगेका, साथै वर्षभर घटेका ठूला घटनालाई समेटेर तीज लयमा घटना गीत पनि गाइने गरेको उनी बताउँछन्। न्यौपाने भन्छन्, 'माइत जाने वेला खोला बढेको हुन्थ्यो पुल, पुलेसा हुँदैनथ्यो। त्यसपछि खोली तारिदेऊ न माझी दाइ भनेर गीत गाउँथे, कहिलेकाहीँ खोलाले बगाउँथ्यो त्यस्तै घटनालाई लिएर लाली जोवन कालीले जस्ता गीत बने। कहिलेकाहीँ चोर लाग्थे। सुन लाएर नहिँड, चोरी हुन्छ भनेर गीतबाटै भन्थे।' 

पछिल्ला वर्षहरूमा तीज गीत मात्रै होइन तीज मान्ने तरिकामै विकृति आएको उनी बताउँछन्। 'पहिले कृष्ण जन्माष्टमीलाई सानो तीज मानिन्थ्यो। त्यसपछि बल्ल तीज शुरु हुन्थ्यो'‚ उनी भन्छन्, 'अहिले महिना दिन अघिदेखि नै दर खाने भन्छन्। गरगहना देखाउने वेला जस्तो भएको छ, एक दिन लगाएको साडी भोलिपल्ट नलगाउने यस्तो चलन आएको छ। सक्नेले त गर्छन्, सक्नेले गर्दा नसक्नेलाई गाह्रो पर्छ। यो विकृति हो।'

तीजलाई लक्षित गरी देश तथा विदेशमा विभिन्न सा‌ंस्कृतिक कार्यक्रम हुने गर्छन्। जसको मुख्य उद्देश्य कला संस्कृतिको जगेर्ना गर्नु होइन भन्दा फरक पर्दैन। गर्नेहरूका लागि तीज एउटा राम्रो आम्दानीको मौसम पनि हो। हरेक वर्ष तीजलाई लक्षित गरेर सयौँ गीत सार्वजनिक हुन्छन्, देश विदेश गरेर सयौँ कार्यक्रम आयोजना हुन्छन्। यो क्षेत्रमा परिचय बनाउन खोज्नेहरूले तीजलाई शुभ साइतको रूपमा पनि देख्छन्। 

'मान्छेहरूले चिनिराखून्, महोत्सवमा माग होस् भनेर कलाकारले जस्तो गीत पनि बनाउन, गाउन थाले, कला संस्कृति ओझेलमा पर्‍यो। विकृति आयो। तीजको गीतमा बादुरे शब्द प्रयोग भयो, जुन रत्यौलीमा प्रयोग हुने शब्द हो। हुँदाहुँदा पेटीकोट लगाएर तीजको गीत गाइँदै छ।'  सबै कुराकाे मूल्यांकन हुने भन्दै उनी बताउँछन्, 'एक दुईजना त थिए, जहाँ पनि हुन्छन्, स्वभाविक हो। लामो समयदेखि संगीत क्षेत्रमा रहेका सर्जकले पनि विकृतिका बारेमा खुलेर बोल्नुको सट्टा त्यस्तै गीतहरू लेख्नु, गाउनु दुःखद कुरा हो। जुन अझ बढी हानिकारक छ।'

पछिल्ला वर्षहरूमा तीज गीत भनेर सार्वजनिक भइरहेका गीत देखेर अर्का सर्जक प्रजापति पराजुली विरक्त छन्। जीवनको लामो समय लोकसंगीत, लोक संस्कृतिका क्षेत्रमा लागेका, यसकाे संवर्द्धनमा खटिएका पराजुलीलाई घरी घरी रिस पनि उठ्छ। 

'यस्ता पनि तीज गीत हुन्छन्? तीजको गीतमा आफ्नो लय हुन्छ, वेदना हुन्छ, नारीको भोगाइ, विद्रोहका कुरा हुन्छ। खोइ अहिले?'‚ आक्रोशित हुँदै उनी भन्छन्, 'जता हेर्‍यो‚ त्यतै विकृति छ। सस्तो लोकप्रियताको लागि जे पनि गरेको छ। लोकगीतलाई पनि तीज गीत भनेको छ, रत्यौलीलाई पनि तीज गीत भनेको छ।' 

'तीज गीत जब व्यवसायिक हुन थाल्यो पुराना ढाँचाका संस्कृति फेरिँदै फेरिँदै आयो विकृति पनि त्यो सँगसँगै भित्रियो'‚ अर्का सर्जक नारायण रायमाझी भन्छन्, 'तीज खास गरी चेलीबेटीको पर्व हो। चेलीबेटी व्यक्तिगत भोगाइ, उनीहरूलाई परेका पीरमर्काका कुरा, अरूलाई भन्न नसकेका कुरा गीतमार्फत आउनुपर्ने हो। जुन पछिल्लो समयका गीतमा देखिँदैन।' 

पहिले कुनै गाउँमा घटेका घटना, कसैको व्यक्तिगत भोगाइलाई एउटा लय दिएर कसैले रचना गरेको गीत एउटा गाउँ, अर्को गाउँ गर्दै फैलिने, अघिल्लो वर्ष सुनेकै भरमा अरू अरू वर्ष पनि त्यो गीत गाइने र त्यो समयको कथा बोल्ने एउटा रचना वर्षौँसम्म बाँच्ने गरेको रायमाझी सम्झन्छन्। अहिले संख्यात्मक रुपमा धेरै गीत आए पनि गीतको आयु भने कम हुने गरेको उनी बताउँछन्।

'फलानो ठाउँमा एउटी चेलीलाई यसरी लुटियो, यसरी हत्या भयो, सासूले यस्तो गरिन्, जेठाजुले यस्तो आरोप लगाए, नन्दआमाजुसँग यस्तो भन्ने खालको चेलीले आफ्नो कथा पोख्थे'‚ उनी भन्छन्, 'पहिले थोरै गीत आउँथे तर चेलीकै सुखदुःखका कथा आउँथे। अहिले धेरै गीत आउँछन् तर चेलीको आउनुपर्ने कथाहरू आएका छैनन्।  उच्छृंखल गीत आएका छन्। विकृति आएको छ। पछिल्लो समय तीज चेलीको नभएर पुरुषप्रधान पर्व जस्तो बन्दै गएको छ।'

कुनै समय तीज गीत महिलाहरूको लागि थेरापी जस्तो हुन्थ्यो। वर्षभरीका व्यथा साथीसँगीसँग साट्थे। घरमा आफूले पाएको दुःख, नयाँ परिवारमा भिज्न कति गाह्रो भयो, भिज्न सकियो सकिएन, आफूहरू अहिलेको अवस्थाबाट उठ्न कसरी सकिन्छ भनेर सल्लाह हुन्थ्यो। घरमा हुँदा माइतीको सम्झनाले कसरी सताउँथ्यो, तीजमै माइत आउन कति दुःख गर्नुपर्‍यो, पोहोर साल किन आउन पाइएन, अथवा आफूलाई बुझ्ने असल श्रीमान्, सासूससुरा छन् भने तिनका पनि कुरा हुन्थ्यो। सुखका मात्र होइन दुःखका गीतमा पनि नाच्थे। जसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि सकारात्मक भूमिका खेल्थ्यो तर अहिलेका गीतले तीजको मर्म नै छायाँमा पारेको रायमाझी बताउँछन्।

उनी भन्छन्, 'चेलीबेटीको कथा भन्ने तीज गीतकै कारण अहिले चेलीका कथा बाहिर आउन सकेका छैनन्। अहिलेका तीज गीतमा जसरी अहिलेको समय चित्रण गर्नुपर्ने हो, जसरी अहिलेका चेलीहरूको यथार्थ कथा आउनुपर्ने हो त्यो आएको छैन। जसको पर्व भनेर भनिन्छ उनीहरूकै व्यथा, मर्म छायाँमा परेको छ। जुन गम्भीर कुरा हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.