|

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति तोकिएसँगै अहिलेको गठबन्धनको सरकार कामचलाउन सरकारमा परिणत भएको बताएका छन्।

शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन डराइ रहेको अवस्थामा आफूहरूको निरन्तर दबावका कारण सरकारले निर्वाचनको मिति तोकेका पनि बताए।

उनले भने,‘ अब करिब एक सय ६–७ दिन मात्र निर्वाचन हुन बाँकी रहेको छ। ढिलै भए पनि तपाई हामी सबैको दबाबमा सरकारले निर्वाचनको मिति घोषणा गरेको छ।’
उनले आफूहरूले नै निर्वाचन समयमा हुनुपर्छ भन्दै आएको र निर्वाचन समयमा हुनु पर्ने कारणहरू रहेको पनि उल्लेख गरे। उनले आफूहरू प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाबाट र सडकबाट गम्भीर विषयको कुराहरू उठाउँदै आएको भएयता पनि ति विषयहरूले अहिलेसम्म सार्थक नपाएको पनि बताए।

उनले भने,‘ केही समय अगाडि सरकारका अर्थमन्त्रीसँग प्रश्नहरू उठेका थिए। संसद्को छानविन समिति गठन भयो। तर, त्यति हुँदा पनि त्यसले निष्कर्ष प्राप्त गर्न सकेन।  संसद्को छानविन समिति प्रश्नको निष्कर्ष निकाल्न गठन भएको थियो। त्यसले अझै प्रश्नहरू उठाएर  समिति टुंगिएको छ। ’

यसैगरी उनले देशको प्रधानन्यायाधीश जस्तो व्यक्तिलाई महाअभियोग लागेको भन्दै उपाध्यक्ष नेम्वाङले महाअभियोग समिति संसद्‍मा बनेको भएयता पनि त्यो समितिले अहिलेसम्म कुनै काम नगरेको पनि बताए। त्यो छानविन समितिले एक बित्ता काम अगाडि नबढाएको र अहिलेसम्म काम नपाएको उनको भनाइ थियो।

उनले संसद्ले नियमावली बमोजिम महाअभियोग छानविन समितिलाई काम दिनु पर्ने भएयता पनि काम नदिँदा समिति कामविहीन भएको बताए। उनले भने,‘प्रधानन्यायाधीश विरुद्ध महाअभियोग  लगाएर महाअभियोगसम्बन्धी प्रस्ताव संसद्‍मा छ, त्यो अहिलेसम्म अगाडि बढेको छैन्। यो अवस्थामा देशको प्रधानन्यायाधीश निलम्बनमा झुन्डिए रहेको अवस्था छ। सर्वोच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशले चलाइरहनु भएको छ। देशको प्रत्येक क्षेत्र अस्तव्यस्त रहेको छ।'

यस्तै, अहिले देश गम्भिर स्थितिबाट अगाडि बढिरहेको भन्दै विज्ञहरूले पनि देश श्रीलंकातर्फ गइरहेको भन्दै प्रश्न उठाइरहेको उनको भनाइ थियो। अब यी सबै कुराको छिनोफानो मंसिर ४ गतेको निर्वाचनले गर्ने पनि उनले बताए। उनले यो देशमा जनता नै सबैभन्दा माथिल्लो अदालत भएको भन्दै जनताले नै सबै कुराको छिनोफानो गर्ने पनि उल्लेख गरे।

उनले संसद्‍मा आवाजहरू उठिरहँदा त्यसले काम गर्न नपाएको उल्लेख गर्दै सरकार  संसदबाट निरन्तर रुपमा भागिरहेको पनि आरोप लगाए। उनले भने,‘संसद्ले उठाएको कुनै पनि जवाफ माथिल्लो सदन, तल्लो सदनबाट आउँदैन। यो अवस्थामा सबै भन्दा माथिल्लो शक्ति जनता हुन्। अब मंसिर ४ मा जनताले नै दूधको दूध र पानीको पानी भनेर छुट्याउनुको अर्को विकल्प रहेन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.