|

इलाम  :  नेपाली राष्ट्रिय टोलीका पूर्व डिफेन्डर रन्जित धिमालले प्रशिक्षक अल्मुताइरीको बयानलाई लाजमर्दोको संज्ञा दिएका छन्।

सामाजिक सञ्जालका माध्यमबाट नेपाली समर्थकहरूमाझ आफ्नो क्रेज राख्न सफल भएका अल्मुताइरीको स्टाटसपछि रञ्जितले प्रतिक्रिया जनाएका हुन्।अल्मुताइरीले स्तरीय खेलाडी पलायनबाट चिन्तित रहेकाले उनीहरूको भविष्य जोगाउन रोडम्याप बनाउनुपर्ने बताएका थिए।

‘नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनाको टोली तत्काल तयार गर्न खेलकुद मन्त्रालय, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई विनम्र अनुरोध गर्दछु’, अल्मुताइरीले लेखेका छन्। लगत्तै रञ्जितले अल्मुताइरी र एन्फाले नेपाली खेलाडीको कुनै मूल्य नदेखाएपछि फुटबल छाड्ने निर्णय गरेको बताए।

उनले मुख्य प्रशिक्षकले झुट बोलेको समेत आरोप लगाए। अल्मुताइरीलाई सामाजिक सञ्जालमार्फत जवाफ दिँदै रञ्जितले लेखेका छन्, ‘नेपालमा फुटबल गतिविधिको कुरा गर्दै हुनुहुन्छ, लाज लाग्दैन? कति झुट बोल्न मन लाग्छ? एनएसएललाई रोक्न खोज्ने तपाई नै हो नि? एन्फाले एनएसएल गर्न चाहन्थ्यो र २ हप्ताको लागि तालिम योजना धकेल्नु भनेर सबै खेलाडीलाई बैठक कोठामा ल्याउनुभयो।’

अल्मुताइरीले खेलाडीहरूलाई एनएसएल नखेल्न समेत धम्की दिएको रञ्जितले लेखेका छन्। ‘एनएसएल कि अब्दुल्लाह टिम खेल्न चाहन्छौ भनेर व्यक्तिगत रूपमा धम्की दिनुभएको घटना हामी सबैलाई याद छ ? सबै खेलाडीहरूले मौन बसे र एनएसलका लागि आवाज उठाउन सकेनन्। पछि तपाईले पोस्ट लेखेर ध्यानाकर्षण गराउने प्रयास गर्नुभयो र एनएसएल गर्नुपर्छ भन्ने जस्तो सन्देश फैलाउने प्रयास गर्नुभयो', उनले लेखेका छन्।

रञ्जितले नेपालमा धेरै फुटबल गतिविधि हेर्न चाहेको उल्लेख गर्दै लेखेका छन्, ‘पहिले पनि राम्रो फुटबल गतिविधि भएन तर खेलाडीले यसरी विदेश पलायन रोजेनन्। तर तपाइँको हर्कत पनि खेलाडी विदेशिनुको अर्को प्रमुख कारण हो।  यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस्। तर अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन्। यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन्। तितो सत्य यही हो।’

नेपाली फुटबलमा थ्री नेशन कप देखि मुख्य प्रशिक्षकको रुपमा देखिएको अल्मुताइरी सुरुवातबाटै विवादमा आएका थिए। प्रशिक्षक बनेको ४ महिना नवित्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ माथि आरोप लगाउँदै विवादित बनेका उनी साफ च्याम्पियनसिपको उपाधि जिताउन नसकेपछि राजीनामा स्टन्ट देखाए।

 एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका उप-कप्तान एवम मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षक अल्मुताइरीले पटक–पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका १० खेलाडीले वैशाख १३ गते ‘विद्रोह’ गरेका थिए। किरणसहित १० सिनियर खेलाडी टिम बाहिर रहँदा अल्मुताइरीले नयाँ खेलाडीलाई मौका दिएका थिए।

 सामाजिक सञ्जाल मार्फत उनी समर्थकको मनोविज्ञान माथि खेल्दै आएका छन्। नेम्वाङसंगको विवादपछि एन्फामा कर्माछिरिङ शेर्पा बाहेक अरुसंग काम नगर्ने अभिव्यक्ति दिएका अल्मुताइरी शेर्पा पराजयपछि नेपाल छाड्ने बताएका थिए। तर उनको सम्झौताको निर्णय कतार फुटबल संघबाट हुने भएकाले पुन नेपाली फुटबलमा मुख्य प्रशिक्षकको रुपमा नै रहने भएका छन्।

गत महिना एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पाको पराजयपछि लगत्तै इन्स्टाग्राममा लेखेका थिए, ‘आगामी दिनमा नेपाली फुटबलको सफलताको कामना गर्दछु। उत्कृष्ट अनुभवको लागि धन्यवाद नेपाली फ्यानहरू, नेपाल सधैं मेरो हृदयमा रहनेछ तर हरेक कथा समाप्त भएको छ।’

यद्यपि, अल्मुताइरीले त्यो स्टोरी केहीबेरपछि नै हटाए।  एन्फाकै एक जना पदाधिकारीले केही समयअघि अल्मुताइरीले सहिद स्मारक लिगमा समेत खेलाडीहरूलाई क्लब छान्न स्वतन्त्र नभएको भन्दै धम्की दिएको गुनासो आएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.