|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले यसपटकको निर्वाचन एकादशीका दिन परेको भन्दै मासुभातले भोट किन्न नसकिने बताएका छन्।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै लामिछानेले सारा दु:ख बिर्सिएर मासुभात र पैसामा नबिक्न पनि मतदातालाई आग्रह गरे।

‘चुनाव आएपछि हामी मासुभातमा बिक्छौँ भन्ने आरोप पनि लाग्ने गरेको छ। तर यसपालिको चुनाव एकादशीको दिन पो परेछ।’ उनले भने, ‘यसपालिको चुनाव आइतबार परेछ, आइतबारलाई रविबार पनि भन्ने गरिन्छ।’

उनले पटकपटक प्रधानमन्त्री भइसकेका नेता पनि आउँदो चुनावमा किन लड्न लागेको भन्दै प्रश्न गरे? लामिछानेले अझै प्रधानमन्त्री बन्ने लोभमा उनीहरु चुनाव लड्न खोजेको भन्दै आपत्ति जनाए।

‘यो चुनावमा ६-६ जना पूर्वप्रधानमन्त्रीहरु फेरि प्रधानमन्त्री बन्नका लागि चुनाव लड्दैछन्। अहिलेसम्म के गरे र फेरि जितेर गए के गर्छन्?’ उनले भने, ‘अब उहाँहरुलाई मंसिर ४ पछि घरमै आराम गर्ने अवस्थामा पुर्‍याउनुपर्छ।’

हरेक चुनावमा दलहरुले आश्वासनको पोका बाँड्ने गरेको भन्दै लामिछानेले अब त्यो पोको खोलेर प्रश्न सोध्न नागरिकलाई आग्रह गरे।

आफूहरु सरकारमा पुगेपछि २४ घण्टा नागरिकका गुनासा सुन्ने संयन्त्र निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने लामिछानेको दाबी छ।

‘अहिले अदालतमा चर्को भ्रष्टचार छ। जहाँ सबैभन्दा धेरै भ्रष्टाचार छ त्यहाँ अख्तियारले हेर्न नपाउने कस्तो कानुन बनाएका छन् यी दलहरुले?’ उनले भने,  ‘त्यस्तो अख्तियार हामी किन पालिरहने? मन्त्रिपरिषद्ले गरेको निर्णय पनि हेर्न नपाउने अनि अख्तियारले के हेर्ने त, जुँगा?’

प्रदेशको संरचनाका विषयमा प्रश्नहरु उठेका भन्दै उनले प्रदेशलाई कार्यकर्ता भर्ती केन्द्र बनाउनबाट रोकिने बताए।

‘हामी जित्यौं भने प्रदेशको खर्च ९० प्रतिशत कटौती गरेर १० प्रतिशतमा झार्छौँ।’ उनले थपे। लामिछानेले विदेशमा रहेकाले भोट हाल्न पाउने विषयलाई आफूहरुले प्राथमिकताका साथ उठाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.