Dang n Rukum

|

दाङ :  रुकुम पूर्व र पश्चिम जिल्लामा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १९ वटा पुल निर्माण भएका छन्।

पुल निर्माणको काम गर्दै आएको सेवा प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय दाङका अनुसार ३ जिल्लामा १९ वटा पुलहरू निर्माण भएको र २७ वटा पुलहरू निर्माणाधीन रहेको प्रतिष्ठानका अध्यक्ष डा. नहकुल केसीले जानकारी दिए।

उनका अनुसार रुकुम पूर्वमा १२ वटा, दाङमा १४ वटा र रोल्पामा एक वटा निर्माणाधीन रहेका छन्। 

ती पुलहरू निर्माण भएपछि हजारौँ नागरिकहरूलाई सहज हुने पनि उनको भनाइ थियो। उनले पुल नहुँदा वर्षायाममा बाढीको डर त्रासका कारण नागरिकहरूले यात्रा गर्दै आएको भएता पनि पुल निर्माण भएपछि त्यो समस्या अन्त्य हुने बताए। उनले आफ्नो संस्थाले दाङ, रोल्पा, प्यूठान, रुकुम २ जिल्लामा पनि झोलुङ्गे पुल निर्माण गरेको बताए।

यस्तै, उनले पुलको काम मात्र नभई अन्य सामाजिक क्षेत्र र सल्यानका कृषि क्षेत्रमा पनि काम गर्न लागेको जानकारी दिए।

उनले दाङका १० स्थानीय तहमध्ये बबई गाउँपालिका र राजपुर गाउँपालिकालाई बढी प्राथामिकता दिएर काम गरेको पनि उल्लेख गरे। उनले यी स्थानीय तह अन्यभन्दा विकट क्षेत्र भएका र त्यहाँ पसलहरूको अति आवश्यक रहेकाले बढी प्राथमिकता दिएर काम गरेको पनि बताए।

यस्तै, गत आर्थिक वर्षमा घोराही उपमहानगरका २ वटा, बबई गाउँपालिकामा २ वटा र तुलसीपुरको पातुखोलामा अटोरिक्सा नै चलाउने मिल्ने एक वटा पुल निर्माण गरेको संस्थाका प्राविधिक दिपेश गौतमले जानकारी दिए।

उनका अनुसार दाङको राप्ती गाउँपालिकामा एक वटा, लमही नगरपालिकामा एक वटा, गढवा गाउँपालिकामा एक वटा, राजपुर गाउँपालिकामा २ वटा, बंगलाचुली गाउँपालिकामा २ वटा, तुलसीपुर उपमहानगरमा २ वटा, शान्तिनगर गाउँपालिकामा एक वटा, दंगीशरण गाउँपालिकामा एक वटा, बबई गाउँपालिकामा ३ वटा र सुनिल स्मृति गाउँपालिका रोल्पामा एक वटा झोलुङ्गे पुल निर्माणाधीन रहेको छ।

यस्तै, चालु आर्थिक वर्षमा २२ वटा झोलुङ्गे पुल निर्माणको लागि बजेटमा समावेश भएर आएको पनि उनले बताए। उनले स्थानीय तहमा पुल निर्माणको लागि काम गर्दा धेरै समस्या भोग्नु परेको गुनासो गरे।

पुल निर्माणको पैसा निकासी गर्दा समस्या, सामुदायिक सम्झौता समयमा नगर्ने, स्थानीय तहले उचित समन्वय गर्ने, समयमा योजना कार्यान्वयन नगर्ने र समयमै स्टील पार्ट टेन्डर तथा खरिदमा स्थानीय सरकारले चासो नदिँदा पुल निर्माणमा ढिलाई हुने गरेको उनको भनाइ थियो।

यस्तै, चालु आर्थिक वर्षभित्र दाङमा पुल निर्माणको लागि तुलसीपुरमा ३० लाख, घोराहीमा २० लाख, लमहीमा ३० लाख, राजपुरमा ८० लाख, गढवामा ३० लाख, राप्ती गाउँपालिकामा ३० लाख, बंगलाचुलीमा ३५ लाख, दंगी शरणमा २० लाख, शान्तिनगरमा १५ लाख र बबई गाउँपालिकामा ९५ लाख गरी ३ करोड ८५ लाख बजेट आएको पनि उनले बताए।

यस्तै, गत आर्थिक वर्ष दाङमा पुल निर्माणको लागि ३ करोड २०  लाख र रोल्पाको लागि ३५ लाख बजेट आएको पनि उनको भनाइ छ। यस्तै पूर्वी रुकुममा गत आर्थिक वर्षमा २ वटा र पश्चिम रुकुममा १२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र पूर्वी रुकुममा १२ वटा पुलहरू निर्माणाधीन रहेको जिल्लाका कार्यक्रम संयोजक रणवीर रावलले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षमा पूर्वी रुकुममा १२ वटा र पश्चिम रुकुममा १६ वटा झोलुङ्गे पुलको लागि बजेट समावेश भएको छ।​

दुई जिल्लामा यी सबै पुलहरू निर्माण भए त्यहाँका नागरिकहरूलाई धेरै राहत मिल्ने उनको भनाइ छ।

पुल नहुँदा अहिले नागरिकहरूले धेरै समस्या पाएको र पुल निर्माण पछि बाढीको मात्र नभइ दुरीको पनि कमी हुने उनको भनाइ छ।

अहिले एक ठाउँबाट अर्को ठाउँ पुग्नको लागि घण्टौँ लाग्ने भएता पनि पुलले निर्माण भएपछि थोरै समयमा पुग्न सकिने पनि बताए। उनका अनुसार पूर्वी रुकुममा पुल निर्माणको लागि गत आर्थिक वर्षमा २ करोड २५ लाख र पश्चिम रुकुमका लागि १ करोड ६५ लाख बजेट आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.