|
फाइल तस्वीर

रौतहट : नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार रौतहट आउने भएका छन्। उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्लामा विभिन्न दल छाडेर आउने नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउनेछन्।

जिल्लाको सदरमुकाम गौरमा पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्न ओली सोमबार रौतहट आउन लागेका हुन्। नेकपा एमाले रौतहटको आयोजनामा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली आउन लागेको नेकपा एमाले रौतहटका जिल्ला सचिव बालविक्रम कार्कीले जानकारी दिए।

सो पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम गौरको ब्यारेक फिल्डमा आयोजना गरिएको सचिव कार्कीले बताएका छन्। सोमबार बिहान ११ बजे हुने भनिएको सो पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रमबाट गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्तालगायत विभिन्न पार्टी परित्याग गरेर हजारौं एमालेमा प्रवेश गर्ने बताइएको छ।

गौर नगरपालिकाका पूर्व नगर प्रमुख गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) परित्याग गरेर एमालेमा प्रवेश गर्न लागेका हुन्।

लोसपा किन परित्याग गर्दै छन् नेता-कार्यकर्ता?

२०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्तासहित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका (लोसपा) का सय जनाभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकालाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप उनीहरूको छ।

पार्टीबाट निर्वाचित प्रदेश सांसद बाबुलाल साहले एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पदमा उम्मेदवार भएका भतिजो शम्भु साहलाई सघाएको उनीहरूको आरोप छ।

दुर्गा भगवती गाउँपालिकामा अध्यक्षको उम्मेदवार भएका माओवादी केन्द्रका शम्भु सिंहलाई संघीय सांसद अनिल झाले अप्रत्यक्ष रूपमा सहयोग गरेको उनीहरूको आरोप छ। त्यसैकारण आफूहरू पराजित भएको उनीहरूले बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.