|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सचिवको पदस्थापनसँगै नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव यादव कोइरालाको सोमबार राष्ट्रपति कार्यालयमा पदस्थापन हुने र पदस्थापनसँगै नागरिकता विधेयक प्रमाणीकरण हुने राष्ट्रपति कार्यालय स्रोतले थाहा खबरलाई जानकारी दिएको छ।

‘नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको मनसाय छैन,’ स्रोतले भन्यो, ‘सचिवको अदलबदलले पनि केही दिन ढिलो हुन गएको हो, रोकिएको होइन।’

राष्ट्रपति कार्यालयले युवा तथा खेलकूद मन्त्रालयमा सरुवा भएका सचिव डाक्टर तोयानारायण ज्ञवालीलाई आइतबार बिदाई गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव यादव कोइरालालाई सोमबार स्वागत गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ।

राष्ट्रपति भण्डारीले नयाँ सचिवको पदस्थापन भएपछि नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले बताएको हो। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने मनसाय राष्ट्रपति भण्डारीको नरहेको दाबी स्रोतले गरेको छ।

संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेकामध्ये अब प्रमाणीकरणको पाइपलाइनमा नागरिकता विधेयक रहेको छ। ‘सामान्यता ८/१० दिनमा विधेयक प्रमाणीकरण हुने गरेको छ,’ स्रोतले भन्यो, ‘बाहिर हल्ला भएजस्तो प्रमाणीकरण नगर्ने र फिर्ता गर्ने कुरामा सत्यता छैन।’

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिक समाजका अगुवाहरूले भने प्रमाणीकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्।

शीलतनिवासमा अनुरोध पत्रसहित आइतबार पुगेका नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयक देशका लागि हितकर नभएको भन्दै प्रमाणीकरण नगर्न अनुरोध गरेका हुन्।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्ययन कार्यदलका सह–संयोजक नारायण शर्माले नागरिकता विधेयकलाई चरम राष्ट्रघाती विधेयकको संज्ञा दिए। उनले यो विधेयकले देशको अस्तित्व नै खतरामा जाने बताए। देशभक्त नागरिकको हैसियतले आफूहरूले यो विधेयकविरुद्ध अभियान नै चलाएको उल्लेख गरे।

पत्रकार सम्मेलनमा नेकपा मालेका महासचिव सिपी मैनालीले नागरिकता विधेयक अहिलेको राज्य व्यवस्थाविपरित भएको टिप्पणी गरे। चुनावको लागि नागरिकता विधेयकलाई फास्ट–ट्रयाकमा लगेर पारित गरिएको उनको भनाई थियो।

देशभक्त नागरिक समाजका गोविन्द बोहोराले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मदन भण्डारीको उद्देश्य र भावनालाई स्मरण गर्न आग्रह गर्दै नागरिकता विद्येयक फिर्ता गर्न आग्रह गरेको बताए। उनले नागरिकता विधेयक राष्ट्रपतिले ससम्मान संसदमा फिर्ता पठाउनुपर्नेमा जोड दिए।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चुनावकै लागि फास्ट–ट्रयाकको रूपमा विधेयक संसदबाट पारित गराएको आरोप लगाए। उनले आगामी चुनावमा भारतको पक्ष लिनेलाई जिताउने र विरोध गर्नेहरूलाई हराउन यस्तो खेल खेलिएको आरोपसमेत लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.