|

काठमाडौं : सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित रकम हिनामिना गरेको आरोपमा पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख इन्जिनियरसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको रामनगर गाउँपालिका ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडक स्तरोन्नति गर्न आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरिएको रकममध्ये १६ लाख ५९ हजार ९७२ रुपैयाँ हिनामिना भएको पुष्टि गर्दै विशेष अदालतमा आज मुद्दा दर्ता गरेको हो।

अख्तियारले पूर्वाधार विकास कार्यलय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, इन्जिनियर राम किशोर साह र सव इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत महम्मद दाउद र उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोलाई प्रतिवादी बनाएको छ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रतिवादीमध्ये ४ जनालाई हिनामिना भएको रकम बराबरको बिगो कायम गरी जफत गर्न तथा कैद र जरिबाना हुन मागदाबी लिइएको छ।

लेखा अधिकृत दाउदमाथि निर्माण कम्पनीलाई बिलबिजकसमेत जारी गर्न नलगाई भरपाईको भरमा सबै रकम भुक्तानी दिँदा मूल्य अभिबृद्धि वापतको कर राजस्व ४ लाख ९७ हजार ५६६ रुपैयाँ चुहावट गराएको देखिएको अख्तियारले जनाएको छ।

लेखाअधिकृत दाउदमाथि राजस्व चुहावट रकमको दोब्बर ९ लाख ९५ हजार १३२ रुपैयाँ जरिबाना हुन माग गरिएको प्रवक्ता भण्डारीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.