पार्टी गठनको एक वर्षमै देखिन थाल्यो विवाद

|

काठमाडौं : नेकपा एमाले होस् या तत्कालिन नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) भित्रको विवादमा नेतृत्वको चर्को आलोचना गर्ने मध्येकी एक हुन् रामकुमारी झाँक्री।

एमालेमा केपी शर्मा ओलीले पार्टीमा एकलौटी लादेको भन्दै गत भदौमा एमालेबाट ‘विद्रोह’ गर्ने बेलामा माधव नेपाललाई अग्र स्थानमा रहेर साथ दिने पनि उनै हुन्। 

पार्टीमा लामो समयदेखि माधव खेमामा रहेर काम गरेका अमृतकुमार बोहोरादेखि रघुजी पन्तसहित १० नेताहरूले साथ छाड्दै गर्दा उनले एकीकृत समाजवादी गठनको बेलामा बलियो साथ दिइन्। 

एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोग जाँदै गर्दा माधव नेपालको हात समातेर गएकी झाँक्री पार्टी गठनको एक वर्ष बित्न नपाउँदै रुष्ट बन्न पुगेकी छन्। पार्टीले शहरी विकास मन्त्रालयबाट गत महिना फिर्ता बोलाएपछि उनी नेतृत्वसँग चिढिएकी छन्। साे कुरा उनकाे पछिल्ला सार्वजनिक अभिव्यक्तिबाट पुष्टि हुन्छ। 

मन्त्रालयबाट बाहिरिने क्रममा भावुक भएर धुरुधुरु रोएकी झाँक्रीले थाहाखबरसँगको अन्तर्वार्ताको क्रममा भनेकी थिइन्, ‘नेतृत्वले हामीलाई बदनाम गर्ने आफ्नो कमजोरी ढाकछोप गर्नु जुन काम गर्नुभयो त्यो कुरा चाहिँ नेतृत्वको अपरिपक्वता, पूर्वाग्रह भन्न सकिन्छ।’

सरकारबाट बाहिरिएपछि पार्टी सचिवको भूमिकामा रहे पनि सक्रिय राजनीतिमा खासै देखिएकी छैनन्। पार्टी सचिवजस्तो जिम्मेवार पदमा रहे पनि मन्त्री हुँदा चर्चामा रहने झाँक्री अहिले गुमनाम जस्तै छिन्।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको एक वर्ष पुग्न नपाउँदै एकीकृत समाजवादीमा विरोधको स्वर सुनिन थालेपछि माधव नेपालको विद्रोहमाथि नै प्रश्न उठेको छ। आफूहरूलाई कट्टर कम्युनिष्ट मान्ने माधव नेपालको विद्रोह अहिले बाटोमै अलमलिएको जानकारहरू बताउँछन्। 

त्यसो त उनले माधव नेपालले रौतहटमा शिलान्यास गरेको दुई विकास निर्माणको योजनाको बिषयमा सार्वजनिक रुपमै विरोध गरेपछि विवाद तल्लो तहसम्मै छताछुल्ल भएको छ। उनले एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा अध्यक्ष नेपालले स्रोत सुनिश्चिता नभएको योजनाको शिलान्यास गरेको आरोप लगाएकी थिइन्। 

झाँक्रीको टिप्पणीपछि चर्को टीकाटिप्पणी आएकाले सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयका प्रवक्ता प्रदीप परियारलाई विज्ञप्तिमार्फत खण्डन गर्नसम्म लगाउन परेको थियो। जुन कुराले समाजवादीभित्र तरङ्ग पैदा भइरहेको छ। 

तर मन्त्रालयबाट रुँदै बिदाइ भएकी झाँक्रीले सोमबार पत्रकार सम्मेलन गरेको भए पनि पार्टीभित्रको विवादबारे प्रवेश गरिनन्। उनले आफूले मन्त्रालय सम्हाल्दा आफूले उल्लेख्य प्रगति गरेको दाबी मात्रै गरेर पन्छिइन्।

‘सम्बन्ध बिग्रिएको छैन’

तर पार्टी नेतृत्वसँग कुनै सम्बन्ध नबिग्रिएको सचिव झाँक्री बताउँछन्। 

उनी भन्छिन्, ‘बाहिर आएको हल्लामा कुनै सत्यता छैन। अध्यक्षसँग सम्बन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ। त्यो सत्य होइन। तर पार्टी नेतृत्वले गतल गर्दा प्रश्न उठाउन पनि छाड्दिनँ।’

उनले पार्टी निर्माणको बेलामा आफूले पनि ठुलो योगदान दिएको भएकाले एमाले फर्किने कुनै सम्भावना नभएको दाबी गरिन्। उनले आफू आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्ने समेत बताइन्। 

उनी भन्छिन्, ‘वामपन्थीहरू एक हुनुपर्छ भन्नेमा दुईमत छैन। हामीले एमालेको रुपमा यसलाई विकल्पको रुपमा स्थापित गराउन लाग्नुपर्छ। पार्टीभित्रको बहसलाई विवाद मान्न हुँदैन।’

उनले पार्टीमा आफ्नो भूमिका नभएपनि आगामी निर्वाचनको तयारीमा लागेको बताइन्। 

‘पार्टीभित्र विवाद छैन’ 

तर पार्टीभित्र कुनै विवाद नभएको एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे बताउँछन्। 

उनी भन्छन्, ‘पार्टीमा कहिलेकाहीँ बहस हुन्छ। तर त्यस्तो पार्टीभित्रै तरङ्ग गर्ने खालको कुनै विवाद अहिले पार्टीमा छैन।’

उनले रामकुमारी झाँक्रीको प्रसङ्गलाई जोड्दै सरकारबाट फिता बोलाइपछि बाहिर निस्किन मुस्किल पर्नु स्वाभाविक भएको बताउँछन्। 

‘सरकारबाट फिर्ता बोलाइएकाहरूको गतिविधिको बारेमा प्रश्न उठेको हो। त्यसबारेमा पार्टीले छलफल त गर्छ। तर त्यसलाई विवादको रुपमा लिनुहुँदैन’ उनको भनाइ छ।

अहिले आफूहरू पार्टीभित्रको विवादमा अल्झेर बस्ने समय नभएर चुनावको तयारीमा लाग्नुपर्ने बताए। स्थानीय तहको नतिजाको आधार र पार्टी संगठनबारे अध्ययन गरे आफूहरू चुनावमा जुटेको उनको भनाइ छ। 

एमालेबाट विद्रोह बनेको पार्टी भएकाले आगामी निर्वाचनबाट आफूहरूको परीक्षण सफल हुने उनको दाबी छ। 

तर अर्का एक नेता भने अहिले झाँक्रीको अभिव्यक्तिलाई पार्टीमा छलफलको बिषय बनाउने या नबनाउने भन्नेमा नेतृत्व नै अलमल रहेको दाबी गर्छन्। 

उनी भन्छन्, ‘हामी यहि विवाद र विभाजनको श्रीखंलाबाट आएका हौँ। फेरि उहाँको बिषयलाई पार्टी बैठकमा प्रवेश गराएर अवस्था बिथोलिएला कि भन्नेमा नेतृत्वमा डर छ।’

तर, पार्टी विधानविरुद्ध गतिविधि गर्नेलाई छुट दिँदा फेरि झाँगिएर जाने हो कि भन्नेमा नेतृत्व सचेत रहेको ती नेताको दाबी छ। 

पार्टीको केन्द्रीय सचिवजस्तो आशा गरेको व्यक्तिले पार्टीविरुद्ध अभिव्यक्ति दिने कुरा मान्न हुन नसक्ने ती नेता बताउँछन्।  

एमालेतर्फ झलनाथ लचक!

एमालेबाट विद्रोह गरेर बनेको पार्टीले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको आडमा चुनाव लडेको थियो। गठबन्धनकै सहयोगमा पोखरा महानगर र हेटौँडा उपमहानगरको नेतृत्व लिन सफल भयो। 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धनलाई नै लाने निर्णय भइसकेको छ। स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ मत मात्रै ल्याएको थियोे। 

गठबन्धनबाट आएको नतिजाप्रति अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल पनि सन्तुष्ट छैनन्। तर, उनीहरुलाई गठबन्धन जोगाएरै जानुपर्ने बाध्यता छ। 

यता, अध्यक्ष नेपालले आफूहरुले गठबन्धनको गीत गाएकै कारणले सोचेजस्तो नतिजा नआएको बताउँदै आइरहेका छन्। उनले आगामी निर्वाचनमा आफूहरुको २० लाख भन्दा धेरै मत ल्याउने दाबी गरिरहेका छन्। 

तर, गठबन्धनबाट असन्तुष्ट बनेको नेता खनाल फेरि वामपन्थी एकताभन्दै एमालेसँग मिल्नुपर्नेमा जोड दिइरहेका छन्। अध्यक्ष नेपालले गठबन्धन जोगाएर एमाले बाहेकका वाम एकतालाई जोड दिइरहेको बेलामा खनाल भने एमालेसँगै मिल्नुपर्ने मत राख्दै आइरहेका छन्। 

स्रोतका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अनौपचारिक छलफल समेत चलाइरहेका छन्। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भएपनि एमालेभन्दा फरक एजेण्डा देखाउन चुनौति बनेको छ। 

पार्टी विभाजनको बेलामा अध्यक्ष नेपालले विभाजनको औचित्य पुष्टि गर्न नसक्ने बताउँदै भीम रावलसहित नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त दश बुँदे लिखित सम्झौता गरी एमाले बसेका थिए। 

तर, पार्टी गठबन्धनको एक बर्ष बित्न नपाउँदै गठबन्धनको अपमान र पार्टीभित्रको विवादको कारणले उनलाई विभाजनको औचित्य  पुष्टि नसक्ने जानकारहरुको बुझाइ छ। 

‘औचित्य पुष्टि गरिसक्यौँ’

माधव नेपालले पार्टी विभाजनको औचित्य पुरा गर्न नसकेको आरोप लागिरहेको बेलामा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधार भने आफूहरु सफल भइसकेको दाबी गर्छन्। 

उनले भने, ‘हामीले एक वर्षमा समीक्षा गर्दा संगठनात्मक आधार बलियो बनेको छ। देशभरी संगठन बनेको छ। सबै प्रकारको कमिटी केन्द्रमा बनेको छन्। प्रदेशमा प्रदेशदेखि अधिकांश पालिकामा कमिटी बनेको छ। वडामा तहमा समेत संगठन बनिसकेको छ। विभाग बनेर पनि आआफ्नो काम गरिरहेको अवस्था छ।’

उनी आफूहरुले सोचेभन्दा बलियो पार्टी बनेको दाबी गर्छन्। पार्टीका सबै नेताहरु चुनाव केन्द्रित भएर सबै आआफ्नो क्षेत्रमा काम गरिरहेको बताए। 

‘हामीले सोचेको भन्दा धेरै बलियो पार्टी यो बीचमा बनिसकेको छ। त्यो स्थानीय तहको निर्वाचनबाट पनि देखिसकेका छौँ। त्यसैले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएन भन्ने कुरा अर्थहिन हो’ उनको बुझाइ छ। 

उनले पार्टीभित्र कुनै विवाद नभएको दाबी गर्दै रामकुमारीको विषयमा केही प्रश्न उठेको भएपनि पार्टीभित्र विवाद नरहेको प्रष्ट पारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.