|

सल्यान : गत असार २२ गते सल्यानको कुमाख गाउँपालिकाकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भयो। ठूलीआमाको घरमा सुत्न गएकी बालिका अपरिचित व्यक्तिबाट बलात्कृत भइन्। बलात्कारको आरोपमा प्रहरीले जाजरकोटका दुई युवालाई पक्राउ गर्‍यो। यसअघि फागुन २० गते मानसिक सन्तुलन ठीक नभएकी १७ वर्षीया किशोरी छिमेकी काका नाता पर्नेबाटै बलात्कृत भइन्।

यी केही उदाहरण मात्र हुन्।

सल्यानमा बलात्कारका घटना वर्षेनी बढ्दै छन्। सरकारले बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याइरहेको छ तर पनि जिल्लामा यस्ता घटना घट्नुका सट्टा बढेका बढ्यै छन्। कतिपय घटनामा त आफन्तकै संलग्नता पाइएको छ।

सल्यानमा गत आवमा ३७ वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भएका छन्। आफन्तैबाट बालिका बलात्कृत हुनुमा मादक पदार्थ सेवन तथा आपराधिक मनोवृत्ति प्रमुख कारण देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

बलात्कार, बलात्कार प्रयास तथा अन्य महिलामाथि हिंसाको मुख्य कारणको रुपमा मदिरा सेवन नै अनुसन्धानले देखाएको उनको भनाइ छ।

कतिपय बलात्कार र बलात्कार प्रयासका घटना प्रेम सम्बन्धका कारण पनि हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। बलात्कारसँगै सबै यौन हिंसाका घटना प्रहरी कार्यालयसम्म आउन सकेका छैनन्।

उमेर नपुग्दै बालबालिकाबीच प्रेम सम्बन्ध हुने र पछि अभिभावकले थाहा पाएपछि त्यसलाई जबरजस्ती करणीको रुपमा मुद्दा हाल्ने प्रवृत्तिले पनि घटनामा वृद्धि देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालको भनाइ छ।

जिल्ला अदालत सल्यानमा २०७८ साउनदेखि २०७९ असारसम्म ६४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन्। तीमध्ये ३० वटा फर्छ्यौट भएका छन् भने ३४ वटा मुद्दा विचाराधीन छन्।

अदालतको तथ्यांकअनुसार धेरैजसो घटनामा बालिका पीडित भएको देखिएको सल्यान अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले बताए। बलात्कार तथा बलात्कार प्रयासका मुद्दा दर्ता गरे पनि कतिपय भने होस्टाइल भइदिने गरेको उनको भनाइ छ।

बलात्कार र बलात्कार प्रयास नियन्त्रण गर्न आवश्यक कानुन निर्माण र सजायको माग भए पनि घटनामा कमी आउन सकेको छैन। यस्ता घटनामा तत्काल उजुरी गर्न र अनुसन्धानमा सहयोग गर्न प्रहरीले पीडित पक्षसँग अनुरोध गरे पनि ढिलो गरि उजुरी आउनुले अपराधी उम्कने खतरा बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.