|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन्।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन्।

उनले मन्त्रालयले त्यस्ता ठेकेदारहरुको खोजी भई रहेकाले विस्तारै ठिक लगाउने बताए। मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए।

उनले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए। उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताउनु भयो। मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए।

उनले भने,‘गल्ती गर्ने ठेकेदारहरुलाई छोड्ने कुरा आउँदैन। सरकार कुनैपनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैनौँ। तर विकास निर्माणमा ठेकदारहरुको बेथिति छ। को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर ठेकेदारहरुले बेथिति निम्त्याएका छन्। हामी त्यसको खोजी गर्दैछौं। विस्तारै ठिक पार्छौं। तपाईहरु ढुक्क हुनुस् ठिक पार्छौं।‘

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए। उनले स्वचालित मूल्य प्रणालीअनुसार नै भाडा समायोजन भई रहेको दाबी गरे। मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताए। उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताए।

उनले भने,‘सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरको कुरा उठ्यो। सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति चाँही छैन। लागू हुने÷नहुने कुरामा कतै गुनासो आयो भने कडाईका साथ लगाउँछौं। मन्त्री भएर आउँदा सार्वजनिक भाडादर बढेर पनि घटेको थियो। बढाउन भन्यो भने लागू कहिलेदेखि गरेको हो। सात दिनपछि लागू गरेर सात दिनपछि मैले भाडादर स्वीकृत गरेको हो। त्यो नै निरन्तर होस् भनेर यातायात व्यवस्था विभागका महानिर्देशकले भनेर मैले रोकेको हो। अहिले देखि लागू गरौं भने यो स्वचालित प्रणाली हो। यसमा सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर गरिएको विषय हो।’

त्यस्तै, नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताइन्। उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताइन्। भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्ने तर गैरजिम्मेवार बन्नको लागि संघीयताले ठाउँ दिएको बताइन्। उनले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वछन्द भएको टिप्पणी गरिन्।

त्यस्तै, नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरुले डोजर आतंक मच्चाएको कारण सडकमा ठूलो समस्या भोगेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.