|

काठमाडौं: करिब ७० लाख रुपैयाँसहित समातिएका हुण्डी कारोबारी नुवाकोट ककनी-३ का नवराज ढुङ्गानाविरुद्ध मुद्दा दायर भएको छ। 

राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारी ढुङ्गानासहित सोही ठाउँका फणिन्द्रप्रसाद ढुङ्गाना (बालाजुस्थित शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रालिका सञ्चालक), हाल जापान बस्ने प्रज्वल ढुङ्गाना र नुवाकोट भीरकोटगढी ११ का सुवास जंग पाण्डे (काठमाडौं म्हैपीस्थित सुवास क्यासमिर कलेक्शनका सञ्चालक) विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उनीहरूले विदेशी विनिमय नियमित गर्ने ऐन विपरीतको कसुर गरेको ठहर गरी विभागले बरामद रकम जफत गर्न मागदाबी लिएर अभियोगपत्र दायर गरेको छ। 

प्रतिवादी नवराज ढुङ्गानालाई स्रोत नखुलेको ७९ लाख ९९ हजारसहित महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरी प्रहरी प्रतिवेदनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको थियो। 

सो घटनाको अनुसन्धानका क्रममा अवैध हुण्डी कारोबारबाट जापानमा रहेका प्रज्वलले पाण्डेलाई पठाएको र उनले नवराज र फणिन्द्रलाई रकम उपलब्ध गराएको देखिएको विभागले जनाएको  छ।

साथै उनीहरूले बरामद गरिएको रकमलाई प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिएको, नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी अवैध कारोबार गरेको विभागको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.