|

पर्वत : घाम र पानी ओतिने सामान्य घरको पिँढी। त्यही पिँढीमा किरियामा बसेका भेटिन्छन्, फूलमाया नेपाली र नैनाकला दर्जी अनि उनीहरूका जेठाजु डिल्ली नेपाली। त्यही पिँढीको अर्को छेउमा भेटिन्छन दुई वर्षीय शिरिशदेखि १० वर्षीया वर्षासम्मका छ बालिबालिका।

उनीहरूलाई बोलाउन जो त्यहाँ पुग्छन् आँखा रसाउँछन्,  अनि भेट्न पुगेकाहरूकै अनुहारको मलिनतामा श्रीमान् ३४ वर्षीय श्रीराम परियारको सम्झनामा भक्कानिन्छन् नैनाकला र फूलमाया। 

आमाहरूका आँखा रसाउँदा, रुँदा र श्रीरामको बारेमा कुरा गर्दा छेवैमा टोलाउँदै बसिरहेका ६ बालबालिकाको पनि आँखा रसाउन थाल्छन्। बुबा गुमाउनुपर्दाको पिडा उनीहरूको आँखाबाटै प्रष्ट देखिन्छ। दुई वर्षका शिरिश त बुबाको मृत्युलाई बुझ्दैनन् तर वर्षा भने आफ्नो बुबा गुमाउँदाको पिडा र अब आफ्नो परिवारमा आउने आपत्तिको बारेमा जानकार छिन्। 

जिल्लाको कुश्मा नगरपालिका–१ पाङको नुवार स्थित चौरका श्रीरामको गत साउन १२ गते अरिंगालले चिलेर मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ। घर नजिकै रहेको शारदापुरमा काभ्रोको रुखमा गोलो बनाएर बसेको अरिंगालले गाउँलेहरूलाई सताइरहेको थियो। अरिंगालको टोकाइमा आफ्ना सन्तान पनि पर्न सक्ने जोखिम देखेर श्रीराम साउन १२ गते साँझ छ बजे अरिंगालको गोला जलाए। 

त्यहीँ नजिकै रहेको अर्को गोलाको बारेमा उनी बेखबर थिए। एउटा गोला जलाएको देखेपछि अर्को गोलाबाट आएका झण्डै दुई सय अरिंगालले उनलाई चिलेर घाइते बनाए। गाउँमै रहेको स्वास्थ्य संस्थामा सामान्य उपचार गरेपछि तत्कालै थप उपचारको लागि धौलागिरि अस्पताल बागलुङले लगेर उपचार गर्दै गर्दा मृत्यु भयो। 

श्रीरामका दुई श्रीमती दुई फरक–फरक घरमा बस्दै आएका छन्। ज्याला मजदुरीकै भरमा परिवार पाल्दै आएका उनीहरू र श्रीराम तीनै जना दिनभर काम गरेर बेलुकाको खानाको जोहो गर्थे। जेठी श्रीमती फूलमायातर्फ एक छोरा र तीन छोरी तथा कान्छी श्रीमती नैनाकलातर्फ एक छोरा र एक छोरी छन्। श्रीरामले दुवै परिवारलाई बराबरी हेर्दै आएका थिए, जता समस्या पर्छ उतै सघाउँथे।

अब उनीहरूको सहारा खोसिएको छ। आर्थिक रूपमा पहिलेबाट नै संकटमा गुज्रिँदै आएको परिवारलाई दुई आमाले धान्नुपर्ने अवस्था छ। ज्याला मजदुरीमा पुरुष र महिलाले पाउने दर नै फरक छ। दुई महिलाले पाउने एक दिनको पारिश्रमिक र एक पुरुषको पारिश्रमिक बराबर जस्तै छ। श्रीमानको कमाइ भएको वेलामा समेत परिवार धान्न नसक्ने अवस्थामा चल्दै आएको परिवारलाई अब श्रीमानको निधनले शोकमा त डुबायो नै आर्थिक रूपमा पनि झन् चपेटामा पार्दै छ। 

‘यो घरका अवस्था यहीँ आएर जो कसैको पनि आँखा रसाउँछ। श्रीरामको पाखुरीमा भर पर्दै आएको दुई परिवार अब सहाराविहीन भएका छन्। पहिले नै खाने कुराको अभावमा रहँदै आएका नौ जनाको परिवारले अब कसरी खाने होला?’ उनीहरूको लागि आर्थिक सहयोग संकलनको काममा जुटिरहेको पाङ युवा क्लबका अध्यक्ष जयराम सुवेदी भन्छन्, ‘खाने कुराको जोहो गर्न नै समस्यामा रहेका उनीहरूले दुई वर्षदेखिका छ जना छोराछोरीलाई कसरी हुर्काउलान्? हामी केही गर्न सक्छौँ कि भनेर सहयोग संकलन अभियान चलाइरहेका छौँ।’

उनीहरू किरियाबाट उम्केकै दिनबाट अन्नको समस्या पर्ने भएका कारण गाउँका हरेक घरमा पुगेर सहयोग मागिएको र उनीहरूको अवस्था देख्दै आएका गाउँलेहरूले खुला मनले सहयोग गरेका छन्। अब दोस्रो चरणमा गाउँबाट वैदेशिक रोजगारीमा गएकासहित जिल्लावासी र सहयोग गर्न इच्छुक सबैसँग सहयोगको अपिल गरेको सुवेदीले बताए।

पाङका वडाध्यक्ष खगराज पौडेलले प्रारम्भिक अवस्थामा वडाबाट केही सहयोग गरेको र थप सहयोगका लागि कुश्मा नगरपालिकामा सिफारिस गरेको बताए। ‘सबै पक्षबाट परिवारप्रति सहानुभूति प्राप्त भएको छ। हामीले सुरुमा वडाबाट केही सहयोग गरेका थियौँ। अहिले युवा क्लबदेखि समुदायका व्यक्त र वडा पनि उनीहरूको सहयोगका लागि जुटिरहेका छौँ। नगरपालिकामा थप सहयोगको सिफारिस गरेका छौँ,’ उनले भने, ‘उपमेयर आएर सहयोग गरेर जानुभयो, मेयर साब जिल्लामा आएपछि किरिया खर्चको सहयोग गर्ने भन्ने कुरा भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.