|

पाल्पा : जिल्लाका तीन स्थानमा रहेका झरनाप्रति पर्यटकको आकर्षण बढेको छ। प्राकृतिक झरनामा रमाउनेको संख्या दिनानुदिन बढेको हो।

वनजंगल र झाडीले ढाकिएका झरना अहिले सफा भएपछि सुन्दर देखिएका छन्। सजिलो गरी यहाँसम्म पुग्ने सुविधा भएपछि पर्यटकको घुइँचो लाग्न थालेको हो।

प्राकृतिक झरनासम्मको पहुँच सहज बनेको छ। पर्यटक पुग्न सडक तथा गोरेटो बाटो निर्माण गरिएका छन्। वन जंगल बिचमा रहेको बेवारिसे  झरना अहिले पर्यटकको आकर्षण केन्द्र बनेका छन्।

रामपुर नगरपालिका–१ स्थित चिन्ते सामुदायिक वनमा रहेको छाङ्दी झरना हेर्न तथा आनन्द लिन दैनिक सयौँ पर्यटक पुग्छन्। झरना सुन्दर र मनमोहक रहेको स्थानीय सन्जु परियारले बताइन्। 

डिभिजन वन कार्यालय पाल्पाको सात लाख लगानीमा झरनालाई व्यवस्थित र आकर्षक बनाएइको छ। पौडी खेल्ने पोखरी, बच्चा पौडी खेल्ने पोखरी, काठको आकर्षक रेलिङसहित सेल्फी स्टेशन निर्माण गरेको रेन्जर यमलाल पोखरेलले बताए। यस्तै चमेरे गुफालाई समेत चिटिक्क बनाइएको छ।

अहिले यो झरनामा दैनिक ५०० भन्दा बढी पर्यटक पुग्छन्। शनिबार निकै घुइँचो लाग्छ। गर्मी छल्नका लागि यहाँ पर्यटक जाने गर्छन्। झरनाबाट आम्दानी समेत लिन थालिएको छ। झरना हेर्न पर्यटकले टिकट काट्नुपर्छ। प्रतिव्यक्ति न्यूनतम १० रुपैयाँ टिक शुल्क लाग्छ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खेमबहादुर नेपालीका अनुसार दैनिक कम्तीमा पाँच हजार रुपैयाँ आम्दानी भइरहेको छ। उनका अनुसार झरनाको शिरमा ट्यांकी र वरिपरि पार्क निर्माण गर्ने योजना छ।

भूतखोला झरनामा पनि पर्यटकको घुइँचो

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ भूतखोलामा रहेको भूतखोला झरनामा पनि पर्यटकको घुइँचो लाग्ने गरेको छ। राजमार्गको छेउमै रहेको यो झरनामा रमाउने पर्यटकको घुइँचो लाग्ने गरेको हो। डिभिजन वन कार्यालय, पाल्पाले २० लाख लगानी गरेर प्राकृतिक झरनालाई पर्यटनमैत्री बनाएको कार्यालय प्रमुख दीपक ज्ञवालीले बताए। 

पर्यावरणमा आधारित पर्यटनमार्फत स्थानीय समुदायको समृद्धिका लागि प्राकृतिक झरनाको सुन्दरतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकिन्छ भन्ने उद्देश्यले संरसफाइ, संरक्षण र व्यवस्थित गरेको उनले बताए। 

समूहले यस झरनाबाट आम्दानी लिन थालिसकेका छ। अहिले वर्षातको समयमा समेत दैनिक २०० बढी आन्तरिक तथा बाह्य पर्यटक रमाउन आउने गरेकोभूतखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलकुमारी रोका मगरले बताइन्। झरनाको अवलोकन गर्न टिकटको व्यवस्था गरिएको छ।

नेपाली पर्यटकले २०, विदेशीले ५०, विद्यार्थीले १०, तिनाउँ गाउँपालिका भित्रका नागरिकले १० रुपैयाँ तिरेर झरना हेर्न पाउँछन्। पोखरीमा पौडी खेल्न वा नुहाउन ५० रुपैयाँ तिनुपर्ने उनले बताइन्। गर्मी मौसममा झरना हेर्ने पर्यटकको संख्या वृद्धि हुने उनी बताउँछिन्। यस झरनामा काठको आकर्षक बार्दलीसहित पौडी पोखरी लगायत संरचना निर्माण गरिएको छ। 

रानी झरनामा रमाउनेको संख्या बढ्यो

तिनाउ गाउँपालिका–२ दोभानस्थित ढापखोला सामुदायिक वनमा रहेको रानी झरनाले पनि पर्यटकलाई लोभ्याएको छ। यहाँ दिनानुदिन पर्यटकको संख्या बढ्दै गएको छ। पाल्पासहित छिमेकी जिल्ला रूपन्देहीको बुटवल, भैरहवा र भारतको गोरखपुरबाट बढी पर्यटक आउने ढापखोला सामुदायिक वन उपभोक्ता समितिका सचिव जनकबहादुर खड्का क्षेत्रीले बताए।  

प्रचारप्रसार हुन सकेको थिएन। कतैबाट पनि यसको संरक्षण नहुँदा ओझेलमा परेको थियो रानी झरना। सामुदायिक वन उपभोक्ता समूहबाट १५ लाख र डिभिजन वन कार्यालयको पाँच लाख गरी २० लाख लगानी गरेर यस झरनालाई आकर्षित बनाइएको छ। झरनाको वरिपरि ‘रेलिङ’ बनाइएको छ। सेल्फी स्टेज बनाइएको छ। पौडी खेल्ने पोखरी निर्माण भएको छ। आकर्षण थप्न देखाउन झोलुंगे पुल निर्माण भइरहेको उनले बताए।

अहिले यो झरना निकै आकर्षक बनेको छ। दैनिक २०० वढी संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। बुटवलबाट नजिकै पर्ने यो झरनामा पर्यटकको घुइँचो लाग्ने क्षेत्रीले बताए। पर्यटक आउन थालेपछि स्थानीय उत्पादनको बिक्री हुँदा स्थानीयको आर्थिक आम्दानीमा सहयोग पुगेछ।

झरना र झरना वरिपरिका परिसरलाई अझै सुन्दर बनाउन सके पर्यटकको संख्यामा वृद्धि गर्न सकिने र नागरिकको आम्दानीका स्रोत बढ्ने गाउँपालिका पूर्व अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए। यो ठाउँलाई पर्यटकीय रूपमा विकास गरेर यहाँका नागरिकको आर्थिक उपार्जनमा टेवा पुर्‍याउनु पर्ने उनले बताए। 

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवाली  झरनाको प्रचार–प्रसार गरेर नागरिकको समृद्धिमा टेवा पुर्‍याउनुपर्ने बताउँछन्। स्थानीय सरकारसँग समन्वय गरेर  झरनाको व्यवस्थापनमा काम गर्न तयार रहेको उनले बताए। यसको माध्यमबाट पाल्पालाई पर्यटकीय हब बनाउन सकिने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.