एमबीबीएस पढाउने भन्दा पनि विशेषज्ञ उत्पादन गर्ने हाम्रो उद्देश्य : आईओएम

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन चिकित्सा शिक्षा आयोगलाई दबाव दिने गरेको पाइएको छ।

आयोगका  योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक डा. रमेशप्रसाद आचार्यका अनुसार आईओएमले हाल रहेको १०० सिट घटाएर ७५ मात्रै छुट्याउन दबाव दिइरहेको बताए।

उनले भने‚  'महाराजगन्ज मेडिकल क्याम्पसलाई हामीले पोहोर सालबाट सय सिट दियौं। यो साल उनीहरूले ७५ कि ७५ गराइदिनुस् बरु ७६ गराइदिनुहोस्‚ १०० नगराइदिनुहोस् भन्नुभएको छ। महाराजगन्ज मेडिकल क्याम्पसले हाम्रोमा सय सिटका लागि पर्याप्त कक्षाकोठा छैन भन्यो। यसमा हामी र क्याम्पसको विवाद चलिरहेको छ।'

यसअघि आईओएममा एमबीबीएसतर्फ ७६ सिट सङ्ख्या रहँदै आएकोमा अघिल्लो वर्ष मात्र एक सय सङ्ख्या पुर्‍याइएको हो। आईओएमले सिट घटाउन पत्र पठाए पनि योपटक आयोगले आईओएमलाई सय सिट नै तोकिदिएको छ।

आईओएम भन्छ : एमबीबीएस पढाउने भन्दा पनि विशेषज्ञ उत्पादन गर्ने हाम्रो उद्देश्य

यता आईओएमले भने सिट घटाइदिनु भनेर अहिले चिठी नपठाएको बताएको छ। अघिल्लो शैक्षिक सत्रमा भौतिक संरचनाले गर्दा सिट संख्या घटाउन आग्रह गरे पनि यो पटक नभनेको आईओएमले बताएको छ। ‘अहिलेको कुरा होइन‚ गतवर्षको कुरा हो। त्यतिखेर हाम्रो भौतिक पूर्वाधार पनि बन्दै थियो, अहिले त हामीले १०० जनालाई नै पढाइरहेका छौँ’‚आईओएमकी डीन प्रा.डा. दिव्यासिंह शाहले भनिन्।

डीन प्रा.डा. शाहले आईओएमको हालको उद्देश्य एमबीबीएस पढाइभन्दा पनि विभिन्न विषयमा विशेषज्ञ उत्पादन गर्ने संस्थाको रूपमा अघि बढाउन खोजेको बताइन्।

शाहले भनिन्‚ ‘नेपालमा एमबीबीएस पढाउने देशमा धेरै संस्था छन्। हामीले डीएम‚ एमसीएच जस्ता विशेषज्ञ उत्पादन गर्ने तहका कक्षा सञ्चालन गर्नुपर्छ भन्ने मान्यता हो। अहिलेको देशको आवश्यकता भनेको विशेषज्ञ चिकित्सकहरू उत्पादन गर्नु हो। हाम्रो जस्तो संस्थाले अहिले विशेषज्ञ चिकित्सक उत्पादनमै ध्यान दिनुपर्छ।‘

नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी बढ्दै

पछिल्ला वर्षमा नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढ्दै गएको छ। चिकित्सा शिक्षा आयोगका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपालमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढेको हो।

आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले यो वर्ष एमबीबीएसतर्फ हाल २३६ जना विदेशी विद्यार्थीले अध्ययन गरिरहेको बताए। उनका अनुसार अघिल्लो वर्ष ५० जना विदेशी विद्यार्थी एमबीबीएस अध्ययनका लागि नेपाल आएका थिए।

नेपालमा हाल २१ वटा संस्थामा एमबीबीएस पढाइ भइरहेको छ र १ हजार ८९५ विद्यार्थीले यो वर्ष पढ्न पाउने बताए। यो वर्ष स्नातक तहमा २ हजार २३२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध रहेको बताए। जसमा एमबीबीएसमा मात्रै ४३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको बताए। उनले विदेशी विद्यार्थीलाई नेपालमा करिब १ हजार ३ सय सिट दिने गरेको उल्लेख गर्दै एमबीबीएसमा मात्रै ५५७ जनाले अध्ययन गर्न पाउने ‍उनको भनाइ छ।

यस्तै सरकारले आर्थिक वर्ष ०७९।७० को बजेटमा ल्याएको  वर्षको २ पटक विद्यार्थी भर्ना गर्ने कार्यक्रमलाई भने क्षमता विकासका लागि बजेट भने नछुट्याइएको आयोगले जनाएको छ। 

चिकित्सा शिक्षासम्बन्धी एकीकृत परीक्षा लिने, अनुगमन तथा नियन्त्रण गर्ने चिकित्सा शिक्षा आयोगले नै अर्थमन्त्रीले बजेट भाषणमा भनेको कुरा तत्कालीन खपतका लागि भन्दै आलोचना गरेको छ। नीति, योजना महाशाखाका निर्देशक प्रा.डा.आचार्यले बजेट वक्तव्यमा एक वर्षमा दुई शैक्षिक सत्र सञ्चालनका लागि क्षमता वृद्धि गर्ने भनिए पनि सो अनुसारको बजेट विनियोजन नभएको बताएका हुन।

उनले भने ‚ 'बजेटमा दुई शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्ने संस्थाको क्षमता अभिवृद्धि गर्ने भनिएको छ तर बजेट व्यवस्थापनबिनाको घोषणा भएको छ। सरकारले बजेट दिएको खण्डमा र अध्ययन गराउन शैक्षिक संस्था तयार भए हामी दुई शैक्षिक सत्र सञ्चालनका लागि सक्षम छौँ'।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.