|

विश्वका ठूला फिल्म उद्योग मध्येमा पर्ने बलिउडका लागि वर्ष २०२२ खासै फापेको छैन। सात महिनामा तीन दर्जनभन्दा बढी फिल्म प्रदर्शनमा आए जसमा 'कस्मिर फाइल्स', 'भुल भुलैया २', 'गंगुबाइ काठियावाडी' र 'जुग जुग जियाे'लाई छोडेर सबै फिल्म बक्स अफिसमा फ्लप साबित भए।​

फ्लप फिल्मको लिस्टमा प्रभासको 'राधे श्याम'देखि अक्षय कुमारका 'बच्चन पाण्डे', 'सम्राट पृथ्वीराज', साहिद कपूरको 'जर्सी', रणबीर कपूरको 'शमशेरा', कंगना रनौतको 'धाकड', टाइगर श्रफको 'हिरोपन्थी २', रणवीर सिंहको 'जयसभाइ जोरदार'सम्म छन्। जनवरीदेखि जुलाईसम्म प्रदर्शनमा आएका फिल्मको बक्स अफिस कलेक्सन र समीक्षा दुवै हेर्दा बलिउडको लागि खराब वर्ष चलिरहेको छ।

यस्तोमा अगस्ट ११ देखि बलिउडले नयाँ दिशा पाउने आशा धेरैले गरेका छन्। जुन दिन यो वर्षको मात्र नभएर बलिउडको इतिहासकै सबैभन्दा ठूला मध्येको एउटा बक्स अफिस क्ल्यास हुँदैछ। आमिर खानको 'लाल सिंह चड्ढा' र अक्षयको 'रक्षा बन्धन' एउटै मितिबाट प्रदर्शनमा आउँदैछन्।

जसमा बलिउडको अहिलेको अवस्था, दुवै अभिनेताको इमेज र अघिल्ला फिल्मको प्रदर्शनका कारण 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन'को क्ल्यासलाई चासोका रुपमा हेरिएको छ।

मिस्टर पर्फेक्सनिस्टका नामले चिनिने आमिरका हरेक फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान बनाउने अपेक्षा राखिन्छ। सन २००९ मा 'थ्री इडियट्स', २०१३ मा 'धुम ३', २०१४ मा 'पिके' र २०१६ मा 'दंगल'ले भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान बनाएका थिए।

उनको पछिल्लो फिल्म 'ठग्स अफ हिन्दूस्तान' भने व्यवसायिक रुपमा असफल भएको थियो। त्यसपछि आमिरका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन्।

ओस्कार विजेता हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लाल सिंह चड्ढा'मार्फत उनी चार वर्षपछि पर्दामा देखिँदैछन्। २० वर्षदेखि प्रयास गरेर रिमेकको लागि अधिकार खरिद गरिएको उक्त फिल्म निर्माणका लागि आमिरले दुई वर्षभन्दा लामो समय खर्चेका छन्।

कोरोनाका कारण रोकिएको फिल्म अगस्ट ११ देखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको हो।

'लाल सिंह चड्ढा'मार्फत आमिर बक्स अफिसमा फेरि नयाँ कीर्तिमान बनाउने लक्ष्यमा छन् भने बलिउडको लागि पनि यो फिल्मको प्रदर्शन महत्त्वपूर्ण छ। यस्तैमा बक्स अफिस किङ भनेर चिनिने अक्षय कुमारको प्रतीक्षित फिल्म 'रक्षा बन्धन'सँग 'लाल सिंह चड्ढा' भिड्दैछ।​

आमिरले एउटा फिल्मको लागि लामो समय छुट्याउँदा अक्षयले एकै वर्षमा चारको औषतमा फिल्म खेल्छन्। आमिरले 'लाल सिंह चड्ढा'पछि कुनै फिल्म साइन गरेका छैनन् भने अक्षयका यसै वर्ष रक्षा बन्धन बाहेक 'राम सेतु' र 'कठपुतली' प्रदर्शनको तयारीमा छन्। अर्को वर्ष प्रदर्शनमा आउने गरी 'सेल्फी', 'ओ माइ गड २', 'क्याप्सुल गिल'लगायतका चार फिल्मको काम भइरहेको छ।

अक्षय सबैभन्दा बढी कर तिर्ने बलिउड अभिनेता पनि हुन्। तर, यो वर्ष उनका लागि खासै सम्झन लायक बनेको छैन। ठूलो बजेटका 'बच्चन पाण्डे' र 'सम्राट पृथ्वीराज' फ्लप भएपछि अक्षय आफ्नो पारिश्रमिक नै घटाउन बाध्य भएका छन्। यस्तोमा 'रक्षा बन्धन' अक्षयका लागि महत्त्वपूर्ण फिल्म हो।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका दुवै फिल्मको प्रि बुकिङ खुल्ला भइसकेको छ। सुरुवाती आँकडा अनुसार रक्षा बन्धनको भन्दा 'लाल सिंह चड्ढा'को बुकिङ बढी देखिएको छ। 'लाल सिंह चड्ढा'को बजेट करिब १ सय ८० करोडमा रहेको छ भने 'रक्षा बन्धन'को बजेट ७० करोड बताइएको छ।

'लाल सिंह चड्ढा'ले केही ठाउँमा प्रदर्शन अघि नै धार्मिक आस्थामाथि ठेस पुर्‍याएको आरोप खेप्नु परेको छ भने रक्षा बन्धनकै अवसर पारेर प्रदर्शनमा आउन लागेको 'रक्षा बन्धन' अहिलेसम्म कुनै विवादमा भने तानिएको छैन।

११ अगस्टमा दुई फिल्म मात्रै भिड्दै छैनन्, अप्रत्यक्ष रुपमा याे भिडन्त दुवै अभिनेताकाे स्टारडम जाेगाउनकाे लागि पनि हुनेछ। जसमा एककाे हार, एककाे जित, दुवैकाे जित र दुवैकाे हार पनि सम्भव छ। उक्त भिडन्तको असर भारतमा मात्र नभएर नेपालमा पनि देखिनेछ। यिनै फिल्मका कारण उक्त दिन कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आउने छैनन्। 'लाल सिंह चड्ढा' अहिलेसम्मकै सबैभन्दा बढी मूल्यमा नेपाल भित्रिएको छ भने हलमा हेर्नका लागि विकल्पकाे रुपमा नयाँ फिल्म 'रक्षा बन्धन' मात्रै हुनेछ। 

यस्तोमा 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन' भिडन्तले बलिउडमा कस्तो तरंग ल्याउँछ र प्रदर्शनरत तथा प्रदर्शनका मुखमा रहेका नेपालीलगायत अरु फिल्मलाई कस्तो असर पार्छ त्यो भने हेर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.