|

स्थानीय निर्वाचनको मूल्यांकन र निर्वाचित जनप्रतिनिधिको काम हेर्न नभ्याउँदै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल शुरू भएको छ। 

राजनीतिमा चाख र चासो हुनेलाई यो रोचक हुनसक्छ। तर जति निर्वाचन र परिणाम आए पनि महँगी र अराजकता, हुने र नहुनेबीच बढ्दो खाडलले आम नागरिकलाई दिक्क पनि लागेको हुनसक्छ। 

निर्वाचन भनेको आफू निर्वाचित हुने र त्यसको लाभ आफू र आफ्नालाई दिलाउने दलहरूको संस्कार बस्यो। त्यसैकारण नागरिकले स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारलाई रोज्न पुगे। जब अति महशुस हुन्छ र निराशा बढ्न थाल्छ तब विकल्पको खोजी हुनु मानवीय स्वभाव नै हो। 

एकातिर पुरातनवादी परम्परा, शासकीय प्रणाली मन नपर्ने अर्कातिर नयाँलाई चुनाव गर्न नसक्ने नागरिकको धारणा र निर्णय क्षमताकै कारण सुशासन पाउन, निर्धक्क बाँच्न र हाम्रो लोकतन्त्र भनेर गर्व गर्ने ठाउँ नभएको त हो।

निर्वाचन भनेको आफू निर्वाचित हुने र त्यसको लाभ आफू र आफ्नालाई दिलाउने दलहरूको संस्कार बस्यो। त्यसैकारण नागरिकले स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारलाई रोज्न पुगे। जब अति महशुस हुन्छ र निराशा बढ्न थाल्छ तब विकल्पको खोजी हुनु मानवीय स्वभाव नै हो। 

निर्वाचनमा जसले विजय हासिल गरे पनि त्यो विजयमा जनमत छ। अब नेतृत्वलाई सरापेर कुनै काम छैन। किनकि कर्म गर्नुअघि त्यसको परिणाम कस्तो आउँछ त्यो पनि समयमै ख्याल गर्नुपर्छ। कर्म गरेपछि त परिणाम आई नै हाल्छ। आखिर हाम्रो रोजाइले किन सोचे अनुरूप परिणाम दिँदैन त? किनकी हामीलाई केन्द्रलाई बिर्सेर सतही कर्म र सतही परिणाममा रमाउने बानी भइसक्यो। 

केन्द्र हो आफ्नो जीवन, जीवनको रहस्य, जीवनमा आफू हुनुको खोजी अनि जीवनमा सही, सत्य र आवश्यक चिजको रोजाइ गर्न सक्ने विवेक। जब यी मूलभूत कुरा जीवनबाट ओझेल पर्छन् तब सबै रोजाइ हतासका, वासनायुक्त, लोभ र स्वार्थले भरिएका हुन्छन्। जब लोभ र स्वार्थ भरिन्छ अनि भय जीवित हुन्छ। भयको कारण असत्य र अनावश्यक रोज्न पुग्दछ मानिस यसमा दुईमत नै छैन। 

स्वार्थ जोडिएका चिज र मैले पाउनुपर्छ भन्ने लागेका चिज आफूलाई प्राप्त नभएर अरूलाई प्राप्त हुन्छ कि! यसकै भय र चिन्ताले मानिस सही रोजाइबाट चुक्छ र जीवनभर पछुताउँछ। ​

अपेक्षा के को ?

सिकन्दर युद्धका लागि भारत आएका थिए। युनान फर्किने क्रममा थिए। उनका मित्रले भने– भारतबाट फर्किंदा एकजना सन्यासी लिएर आउनु। सुन, चाँदी, हीरा, मोती, दौलत हामीसंगै छ, केवल सन्यासीको खाँचो छ लिएर आउनू। सिकन्दरले युद्धमा सबै लुटिसकेका थिए। तर सन्यासीको उनलाई याद भएन, जब याद गरे तब सिपाहीलाई भने– जाओ गएर एक सन्यासीलाई समातेर ल्याओ। सिपाहीहरू गाउँ पसे। सोधपुछ गरे, ‘सन्यासी कहाँ छन्?  उनलाई लिएर आउनु भन्नुभाछ सिकन्दरले।’ 

गाउँलेले एकजना सन्यासी भएको ठाउँ देखाइदिए र भने, ‘गएर सोधी हेर। हामीलाई विश्वास लाग्दैन कि उनी सिकन्दरको पछि लागेर जानेछन्।’ सिपाहीहरूले भने त्यसको चिन्ता नभएको बताए। उनीहरूको बुझाए थियो, ‘हामीसँग यति धारिलो हतियार छ। त्यो देखेपछि उनलाई जीवनको माया लाग्नेछ। अनि हाम्रो पछि लाग्नेछन्।’ 

सिपाहीहरू सन्यासीको नजिक गएर सबै बेलिबिस्तार लगाए। तर सन्यासी सिपाहीहरूको अनुहारमा हेरेर हाँस्न थाल र भने, ‘तिमीहरू मलाई लग्न सक्नेछैनौ।’ सिपाहीले धम्की दिए, ‘तिमीलाई ज्यानको माया छैन?’ सन्यासीले हाँस्दै भने, ‘यो धारिलो तरबारले तिमीहरूले मेरो गर्धन काट्नेछौ। तर मलाई भय छैन। किनकी जुन दिनदेखि भय हट्यो त्यहि दिनदेखि म सन्यासी भएको हुँ। अब कुनै चिज, कुनै परिस्थिति र कुनै व्यक्तिप्रति भय बाँकी छैन किनकी अब आशा, स्वार्थ र लोभ बाँकी छैन।’

सिपाहीहरूलाई आश्चर्य लग्यो, पहिलो पटक मृत्य' र हतियारसँग भय नभएको मानिस देखेका थिए, उनीहरूले। एउटा सिपाहीले ती सन्यासीको गर्धनमा नांगो तरबार राख्ने कोशिस गर्‍यो। तर उसको हात नै लुलो भयो कुनै शक्ति आएन। जो डराउँथ्यो उसलाई आक्रमण गर्न सिपाहीलाई मजा आउँथ्यो। तर, जसलाई मृत्यु र तरबारको भय छैन उसलाई मारेर पनि के फाइदा? उनीहरू रोकिए। 

सबै सिपाही फर्केर गए र सिकन्दरलाई सबैकुरा बताए। यो सुनेर सिकन्दर आफैँ सन्यासी छेऊ गए। उनले सन्यासीलाई भने, ‘तिमीले जे भन्यो त्यही दिएर, सम्मान दिएर, राज्य दिएर, सम्राट बनाएर राख्छु मसँग हिँड।’ सन्यासीले हाँस्दै भने, ‘मलाई दिने कुरा तिमीसँग छैन र तिमीसँग भएका कुरालाई मैले जीवनबाट पहिले नै त्यागिसकेको छु। अब मलाई तिमीसँग भएका विषय वासनाले छुन सक्दैन। मलाई कुनै लोभ, आशा, स्वार्थ र भय छैन, कुनै अहंकार छैन।’ 

सिकन्दरले भने, ‘तिमी मसँग जानु त पर्छ नै। नत्र म तिम्रो गर्धन छिनेर भुइँमा राखिदिन्छु।’ सन्यासी फेरि हाँस्न थाले र भने– मेरो गर्धन छिनेर भुइँमा राखे पनि म मर्दिन, तिमीलाई गर्धन नै जीवन हो भन्ने छ त्यसैले मृत्युसँग डर लाग्छ। जब मेरो गर्धन भुइँमा खस्छ त्यतिबेला पनि म मेरो गर्धन देख्न सक्छु, तिमीले पनि भुइँमा खसेको मेरो गर्धन देख्न सक्छौ। तर, फरक यो छ कि मैले तिमीलाई पनि देख्न सक्छु, तिमीले मलाई देख्न सक्नेछैनौ।’ 

भनिन्छ सिकन्दरले यो कुरा आफ्नो इतिहासमा पनि लेखे, ‘मैले सबैलाई जितेँ तर सन्यासीलाई सकिनँ। जो मृत्युसँग डराउँथ्यो, उसलाई मात्रै मैले जितेको रहेछु। जसलाई मृत्युको नै डर छैन, म ऊसँग हारे। 

अब प्रश्न उठ्छ– नेतृत्वकर्ता राजनीतिक दलको कुन कुराले हामी भयमा छौँ र उनीहरूले सधैँ हामीलाई जितिरहेका छन्? थाहा हुँदाहुँदै पनि हामी आफू हारेर उनीहरूलाई जित्न दिइरहेका छौँ। पछुताइरहेका पनि छौंँ।

आफ्नो अस्मिता के हो ? जीवनको उद्देश्य के हो ? शान्ति, प्रेम, आनन्द र विकास कसलाई चाहिएको हो ? को बाट यी  प्राप्त हुने हुन्?

जीवन नै स्थायी छैन भने कुन स्थायी चिज हामी नेतृत्व र शासन प्रणालीबाट चाहेका छौँ र किन पाएका छैनौँ ? कसको स्वार्थले, कसको कर्मले, कसको व्यवस्थापनले? एकपटक सोच्ने कि!

जीवनको खोजी के त ?

यसो हेर्दा त लाग्छ भौतिक सुविधा, सहजता, आफ्नोपन, मान–सम्मान, सम्पन्नता यही नै जीवनको खोजी हो। चाहे त्यो राजनीति मार्फत प्राप्त गर्ने प्रयास होस् या व्यापार–व्यवसाय या धर्मबाट।

धर्म के हो? निजतालाई जान्नु, निजतामा रमाउनु, आफ्नो आत्यन्तिकता, आफ्नो उमंगमा बाँच्न सक्नु धर्म हो। 

दोस्रोप्रतिको चिन्ता, चासो, गुनासो यहि त विद्रोह र राजनीतिको गुण हो। परम्परा, रूढिवादिता छुट्छ कि भन्ने भय यही नै राजनीति हो। भन्न त भन्छन् राजनीति परिवर्तनको द्योतक हो। तर, होइन नयाँ रूपान्तरण राजनीतिले ल्याएकै छैन। 

नयाँ व्यवस्था कागजमा आउँछ। व्यवहारमा आउँदैन। यो त सबैको अनुभूतिमा छ। विश्वासको पछि लाग्दा आफ्नो बोध के त्यो पनि छुट्ने अवस्था छ। अरुले जे भन्यो, जता देखायो, जुन कुरामा विश्वास दिलायो त्यति दौडिने बानी छ अनि परिणाम आएपछि सोच्छ मानिस, ‘मैले त यस्तो चाहेको थिइनँ।’

हाम्रो निर्भरता कोसँग किन छ? आत्मनिर्भरता हुने हो भने भय हुन्छ कि हुन्न? परस्परनिर्भरता पनि मानिसको गुण हुनसक्छ? खोजी भएको छैन अन्तर्मनसम्म बोध हुन पाएको छैन अन्तरात्मासम्म। त्यो अन्तरमनसम्म पुग्ने भाषा भनेको मौन हो, शुन्यता हो र शान्ति हो। तर, हामी संसारमा भाषण, घोषणापत्र, नीति, नियमका ठेलीले विश्वस्त पार्ने कोशिस गछौँ। अनि परिणाममा बोलेजस्तो हुँदैन। 

यसो हेर्दा त लाग्छ भौतिक सुविधा, सहजता, आफ्नोपन, मान–सम्मान, सम्पन्नता यही नै जीवनको खोजी हो। चाहे त्यो राजनीति मार्फत प्राप्त गर्ने प्रयास होस् या व्यापार–व्यवसाय या धर्मबाट।

सधैँ झैँ बुद्ध शान्त प्रसन्न मुद्रामा आफ्ना शिष्यहरूलाई ज्ञान बाँड्न बगैँचामा आउनु भयो। शिष्यहरू आतुर थिए आज गुरूबाट कस्तो ज्ञान मिल्ने होला भनेर। 

बुद्ध आउनुभो। रूखमुनि लगाइएको आफ्नो आसनमा बस्नु भयो। उहाँको हातमा सधैँ भन्दा फरक एउटा थुंगा फूल थियो। बुद्धले त्यही फूललाई हेर्नु भयो। मुस्कुराउनु भयो। पाँच मिनेट बित्यो, १० मिनेट बित्यो, आधा घण्टा बित्यो, एक घण्टा बित्यो बुद्ध केही बोल्नु भएन।

शिष्यहरू एक अर्कामा मुखामुख गर्दै थिए गुरूले के भन्नुहोला भन्ने। तर, दुई घण्टा पछि बुद्ध केहि नबोली सबै शिष्यको अनुहारमा हेर्नु भो र मुस्कुराउँदै आफ्नो कोठातिर लग्नु भयो। मौनताको सन्देश दिन बुद्धले दुई घण्टा साधकको सान्निध्यमा रहनुभयो। तर साधकहरू शब्दकै पर्खाइमा समय खेर फाल्छन्। 

गाह्रो हुन्छ मौनता सामान्य मानिसलाई। शब्द नै शब्द र तर्कलाई मात्र उसले विश्वास गर्छ। शब्दमै ऊर्जा खर्चिन्छ। त्यही शब्दले विवाद ल्याउँछ। तिनै शब्दले विद्रोहमा लैजान्छ। बोलेर भन्दा बोध गरेर पनि कर्मलाई सार्थकता बनाउन सकिन्छ भन्ने कुरा बुद्ध अर्थात् सन्तलाई मात्र बोध हुने होइन सबै मानिसलाई हुन्छ। 
त्यसको लागि केवल धैर्य र आन्तरिक श्रवण, आत्मिक चिन्तन र अन्तरचेतनासँग साक्षात्कार हुने समय छुट्टयाउन जरुरी छ। 

बहिर्मुखी विकासको लागि जति मिहिनेत र ऊर्जा खर्च भएको छ त्यसको थोरै समय पनि आत्मिक चिन्तनमा दिने हो भने मानिसले गर्न खोजेको र पाउन खोजेको कुरा पाउने मात्र होइन कि जीवनको वास्तविक खोज पनि अनुभूति गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.