|

जनकपुरधाम : झुलन महोत्सवको रौनकता  यतिवेला जनकपुरधाममा छाएको छ। साँझ पर्नासाथ रामजानकी, लक्ष्मण तथा राधाकृष्ण मन्दिरहरुमा झुल्नोत्सवको गीतगान सहितको रमझम सुरु हुन्छ।

दुलहीझैँ सजाइएको झुलामा भगवान सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने यस महोत्सवको आफनै धार्मिक महत्व छ।

साँझ पर्नासाथ जनकपुरधाम सहित यसक्षेत्रको रामजानकी र राधाकृष्ण मन्दिरहरुमा बेग्लै दृश्य देख्न पाइन्छ। श्रावण शुक्ल तृतियादेखि श्रावण पूर्णिमा रक्षाबन्धनसम्म परम्परागत रुपमा जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र राधाकृष्ण मन्दिर लगायतकामा झुलन महोत्सव मनाइन्छ।

अनेकौं झुलापर्वसम्बन्धी गीत गाउँदै जनकपुरधामस्थित जानकी मन्दिर लगायतमा तीज झुला मनाइँदै छ।

पौराणिका कालमा मिथिलावासीको अराध्यदेव सीताराम दैनिक रुपमा झुला झुल्ने गरेका थिए। झुलन पर्वको अवसरमा जनकपुरधामका मठ मन्दिरहरू सिंगारिएका छन् भने मन्दिरहरू अगाडि झुला बनाई सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने गरिन्छ। झुला पनि भनिने यो पर्व द्वापरकाल देखि नै मनाउँदै आएको जनविश्वास छ।

झुलन पर्व हेर्न नेपालका साथै भारतबाट पनि श्रद्धालुहरू जनकपुरधाम आउने गरेका छन्। मठ मन्दिरहरूमा भजन कीर्तनका साथमा झुला महोत्सव गरिन्छ। झुलनमहोत्सव पर्व जनकपुरधामको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाहीका साथै भारतको विहार सहितका मिथिलाञ्चल क्षेत्रको मठ मन्दिरमा १५ दिनसम्म मनाइन्छ।

झुलामा सहभागी हुनका लागि काठमाडौं, भारतको मधुवनी, सीतामढ़ी, जयनगर सहितका कालाकारहरु  आउने गरेका छन्।

अयोध्याका प्रमोद वन र मिथिलाका कञ्चनवन झुलापर्वको लागि विशेष महत्व राख्दछ। झूलामा मिथिलाका सखीहरु सहभागी हुने गरेको कुरा धर्मग्रन्थहरुमा समेत उल्लेख रहेका छन्। मिथिलावाटै यो परम्परा अवधमा पुगेको पनि बताइन्छ।

मणिपर्वत पर्व विधिवत् सम्पन्न भए पश्चात् साँझदेखि स्थानीय मठ मन्दिरमा धार्मिक रीति अनुसार झुलनोत्सव गर्ने गरिएको छ। जनश्रुतिअनुसार सीताको माईतीमा दाईजोका रुपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो। त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा पनि मणिपर्वत मनाउने परम्परा रहेका हुन्।

झुलन पर्वको भोलिपल्ट पूर्णिमाका दिन रक्षाबन्धन हुने गर्दछ। झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भ देखि नै भएको मानिन्छ। पौराणिक कालदेखि नै झुला पर्व मनाइने परम्परा रहेको भएपनि जनकपुरमा करिब १ सय ३० वर्ष भन्दा पहिला देखि झूला पर्व मनाउने गरिएको जनकारहरु बताउँछ।

सन्तहरुका अनुसार जनकपुरधाम स्थित सुन्दर–सदनका तात्कालिन महन्त स्व। सीताराम शरण गुप्तरामजीले यहाँ झूलाको शुरुवात गरेका थिए। सो पश्चात अन्य मठमन्दिरमा झूलापर्व मनाउन थालियो। जानकी मन्दिर, राममन्दिर सहित अग्निकुण्ड स्थित सुन्दर–सदन, झुलनकुञ्ज, विहारकुण्डका युगल विनोद कुञ्ज प्रेममाईको कुट्टीमा झुलापर्व धुमधामका साथ मनाइने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.