|

म्याग्दी :  दुःख र पीडामा पनि मान्छे कसरी हाँसेर बाँच्न सक्दो रहेछ भन्ने उदाहरण बनेका छन्- म्याग्दीको बेनी नगरपालिका- २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा।

उमेरले ९७ औँ वसन्त पार गरे पनि उनको ठट्यौली व्यवहार देख्दा बालापनको झझल्को आउँछ। बाहिरबाट हेर्दा जति रसिक देखिन्छन्  उनकाे भोगाइ भने त्यतिकै निरसिलो र पीडादायक छ।

जन्मेर थाहा पाउने भएदेखि अहिलेसम्म कहिल्यै सुखको अनुभूति गर्न नसकेको बताउने थापाको स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो।

करिब एक दशक अघि गोडामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उनलाई सुखसँग कहिल्यै बस्न दिएन।

८४ वर्ष काटिसकेका वृद्धवृद्धालाई जीवित देवता मान्ने र सोही अनुसारको सम्मान तथा व्यवहार गर्ने नेपाली संस्कृति छ। ९७ वर्षीय थापाले पनि अरुबाट सम्मान र यथोचित व्यवहार त प्राप्त गरेका छन् तर, आफ्नै जिन्दगीले आफूलाई रुवाइरहेको बताउँछन्।

श्रीमती खीरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आएका थापा दम्पतीलाई स्याहार सुसार गर्ने आफ्नै सन्तान छैनन्। दाजुभाइका छोराहरू(दुर्गाबहादुर र हिराबहादुर) ले समयसमयमा सोधपुछ र परिआए हेरविचार गर्छन्।

३९ वर्षअघि २०४० सालमा छोरा मीनबहादुर थापाको युवावस्थामा मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो। त्यतिबेला त जेनतेन सहेर बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ उकुच बनेर चहर्‍यारहन्छ। दुखिरहन्छ।

थापा दम्पतीकी एक विवाहित छोरी छिन्। तर उनी बोल्न (अपाङ्ता भएकी) सक्दिनन्। उनी बेनी नगरपालिका– ३ तोराखेतमा बस्छिन्।

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्छन्। थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन तर सहाराको बन्धन (पत्नी) आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने पिरले थापालाई सताउने गरेको छ।

खानपान र दिनचर्या

थापाको न बास छ, न खाने गाँस (अन्न)। मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पती खानेकुराको भने सौखिन नै छन्। जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पतीलाई के खाउँ र के लाउँको समस्या भने छैन।

बिहान ६ बजे नै उठेर शौचादि कर्मपछि घरको तलपट्टि रहेको धारामा गई नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्छन्। त्यसपछि चिया बनाएर खाएपछि लठ्ठी सहित गाउँमा निस्कने थापा ९ बजेपछि खाना खानको लागि घरमा आउँछन्। खाना खाएपछि छिमेकीको घरमा गएर  ठट्टा गरी आफू हाँस्ने र अरुलाई पनि हँसाउने उनको बानी रहेको  थापाका छिमेकी पदमपाणि शर्माले  बताए।

'मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनुहुन्न। यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन', छिमेकी शर्माले भने। उमेरले नेटो काटे पनि उनको स्वभाव भने बालसुलभ नै छ उनको। स–साना बालबालिकासँग जिस्किँदै खेल्ने र रमाउने उनको बानी छ।

रोगले छोएन,दुःखले छोडेन

५० वर्षको उमेर पार गर्न नपाउँदै नानाभाँतिका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद छन्। रोगको बारेमा सोध्दा थापाले ठट्यौली शैलीमा भने, 'चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख  तितो हुने रोग छ बाबु मलाई। राती अलि धेरै खाँदा पेट साह्रो हुन्छ। बिहान उठ्दा गिलोगिलो हुन्छ,अरु त केही हुँदैन।'

उमेरमा अरुको ज्याला मजदुरी र बनिबुतो गरेर जीविका चलाउने उनकी श्रीमती खिरकुमारी पनि कम रंगिली छैनन्। ८० वसन्त पार गरिसकेकी खिरकुमारीका दुःख भनिसाध्य छैन।

बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म घरधन्दाले नछोड्ने खिरकुमारीलाई सबैभन्दा बढी कष्ट आफ्ना बूढाको कपडा धुँदा हुने बताउछिन्। “मगमग बसाउने कपडा धुन पाए पो हुन्थ्यो। ह्वास्सै गन्हाउने कपडा धुँदा जाँगरै मरेर आउँछ', बुढ्यौलीले चाउरी परेको अनुहारमा अलिकति लाज मिसाउँदै अट्टहासपूर्ण हाँसोसहित उनले भनिन्।

शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्छिन्।

हाँसिसकेर गम्भीर बन्दै खिरकुमारीले भनिन्, 'घर पनि थियो। कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्ष अघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौँ। झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ मृत्युका दिन कुरेर बसेका छौँ।'

‘सय कटे बिहे गर्थें’

मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन्। एक साँझ छिमेकीको घरमा गफिन आएका थापालाई ‘तपाइँको रहर के छ’ भनेर जिज्ञासा राख्दा उनको जवाफ यस्तो थियो,'सय वर्ष कटेपछि बिहे गर्ने रहर छ।'

बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन्। सोही रकमले घरको केही खर्च चल्ने गर्छ। अझैसम्म पनि थापा दम्पतीले खसीको मासु खान छोडेका छैनन्।

श्रीमती खिरकुमारीलाई फकाएर माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’भनेर जिस्क्याउँछन्।

'पहिला त मलाई खुब मन पर्थिन् यिनी, अहिले त...'भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भने, 'सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर यिनलाई सताउँथेँ म।'

रातका साथी कुकुर

दिनभर गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पतीलाई निकै नियास्रो लाग्छ।

नाता सम्बन्ध,घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैँभरी बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’

रात अवेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगन (गोठ अगाडीको भाग) मा बस्छन्। त्यहाँ थापा दम्पतीको साथी बन्छ घरमा पालेको सेतो कुकुर। घरको सुरक्षा गर्नेदेखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उनीहरूले ‘सेते’ नामले बोलाउँछन्।

'बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ', थापाले भने,'यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनेंँ तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ।' ठट्यौला थापाका यस्ता निरसिला कुरा सुन्दा सुन्नेहरुको आँखा रसाउँछन्।

सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ।

थापाका दाजुभाइका छोराहरु हिराबहादुर थापा, दुर्गाबहादुर थापा र हर्कबहादुर थापाले आँफैसंँग राख्न वा खाली रहेको घरमा बस्न पटक–पटक आग्रह गरे पनि थापा दम्पतीले मानेका छैनन्।

'बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामर्थ्य छैन,फोहोरमा बस्न मन मान्दैन', उनीहरूको एक स्वर छ।

हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहेका उनका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत सहयोग गर्ने, घर लिपपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पती मानेका छैनन्।

'यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन। छोरा नातिहरुको पनि आफ्नै समस्या छन्। घर व्यवहार छ। ठूलै समस्या परे गुहार्नुपर्छ। अहिले जनेतेन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन', उनले भने।

यसरी आफूले दुःख पाएर पनि आफ्नालाई दुःख दिन नचाहने थापा दम्पती गाउँमा पनि सबैका प्यारा छन्। कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापालाई गाउँलेले मान्छन्। दीर्घजीवन र आरोग्यताको कामना गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.