काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूत जेसिका स्टर्नले नेपाल सरकारका मन्त्री र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसँग छलफल गरेकी छन्।
पाँचदिने नेपाल भ्रमणमा आएकी स्टर्नले बिहीबार कानुनमन्त्री गोविन्द शर्मा कोइराला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई सिंहदरबारमा भेटेर छलफल गरेकी छन्। उनका साथमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि मन्त्रालय पुगेका थिए।
दिउँसो बौद्ध स्तूपा पुगेर प्राइड कार्यक्रममा सहभागी उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिको अभियानमा ऐक्यबद्धता जनाइन्।
उनले मन्त्री रेग्मीलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नागरिकता लगायतका विषयमा चासो राखेर प्रश्न गरेकी थिइन्। भेटमा मन्त्री रेग्मीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको तथ्याङ्क सङ्कलन सुरु गर्न लागेको बताइन्। ‘यो समुदायको यकिन तथ्याङ्क जम्मा गरेर डाटा सेन्टर बनाउने गृहकार्य गरिरहेका छौँ’‚ मन्त्री रेग्मीले भनिन्।
स्टर्नले कानुन मन्त्री गोविन्द शर्मा कोइरालासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको संरक्षणमा अमेरिका र नेपालबीच साझेदारीबारे छलफल गरेको अमेरिकी दूतावासले जनाएको छ। स्टर्न अमेरिकी दूतावासको सहयोगमा युनिटी फर चेन्जले गरेको प्राइड कार्यक्रममा सहभागी भइन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूसँग सामूहिक तस्बिर लिए पनि उनले कुनै अभिव्यक्ति भने दिइनन्।
‘सबैलाई समान व्यवहार गरिने समाजको निर्माण गरौँ’ भन्ने नारा दूतावासले राखेको छ। दूतावासको सहयोगमा युनिटी फर चेन्जले साताव्यापी कार्यक्रम गरिरहेको अध्यक्ष सुदीप गौतमले बताए। ‘रेन्बो भिजिबिलिटी गाईजात्रा इभेन्ट’ नाम दिइएको पहिलो दिनको कार्यक्रम सोमबार वसन्तपुरमा सम्पन्न भएको गौतमले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।