|

जनकपुरधाम : महोत्तरीमा अजय साहको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। चोरी गरेको रकम फिर्ता माग्दा हत्या गरिएको प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जित कुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम ४ घर भई वडा नं ७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका २ पौडेशवर घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण भन्ने प्रमिला महरा र २७ वर्षीय बिगुल मुखिया विन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ।

असार २० गतेदेखि जनकपुरधाम ७ बाट बेपत्ता भएका १८ वर्षीय अजय भन्ने अर्जुन साहको शव २३ असारमा महोत्तरीको लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साइडमा फेला परेको थियो।

यस्तो छ हत्याको कारण

करिब १ वर्षअघि प्रमिला महरा, उनका श्रीमान् बिगुल मुखिया र कृष्ण यादवले मृतक अर्जुन साहको घरबाट १ लाख नगद तथा सुनका गरगहना चोरी गरेका थिए।

करिब ६ महिनापश्चात मृतक अर्जुनकी आमाले प्रमिला र कृष्णलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि तिनीहरूबीच आपसी छलफल र सहमति भएको थियो।

जस अनुसार बिगुल मुखियाले १ लाख १७ हजार र कृष्णले २ लाख ४६ हजारको तमसुक बनाएर सम्पर्क बिहीन भएका थिए।

करिब २०–२५ दिन अगाडि अर्जुनकी आमाले जनकपुरधाममा उनीहरुलाई फेला पारी तमसुक बमोजिम आफ्नो पैसा नतिरे प्रहरीमा उजुरी गर्ने भनेपछि आमा र छोराको हत्या गर्ने योजना बनेको प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए।

प्रमिला, उनका श्रीमान् र कृष्णले आमा र छोराको हत्या गरेर अर्जुनकी आमाले लगाएको सुनका गरगहना, घरमा रहेको नगद र उनीहरुसँग बनाएको तमसुक लुट्ने योजना बनाएका थिए।

कृष्णले पूर्वयोजना अनुसार आफ्नो दाजु जित कुमार यादव र सन्तोष कुमारलाई अर्जुनलाई मारेर ३० हजार दिने भनेपछि असार २० गते बिहान जितले अर्जुनलाई फोन गरी लोहारपट्टीको फूलबरिया गाउँमा जाने भनेर रिक्सा रिजर्भमा लिएका थिए।

सोही दिन बेलुका जित र सन्तोष अर्जुनको रिक्सामा बसेर लोहारपट्टी ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा लगि गम्छाले घाँटीमा पासो लगाई रिक्सा भित्रै हत्या गरेर शवलाई सडक देखि पश्चिम पट्टीको नहरमा फाली रिक्सा लिएर उनीहरू फर्केका थिए।

उनीहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  ७ मुसहरी टोलस्थित माँ जानकी सप्लायर्स प्रा.लि. बालुवा डिपो नजिकको हिलो सडकमा रिक्सा छाडेर फरार भएका थिए।

प्रवक्ता विष्टले यस घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतका कार्यालयहरू, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी, प्रदेश कार्यालय वीरगंज, हाल जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले विभिन्न पक्षहरूबाट अनुसन्धान गरेपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको बताइएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.