|

ललितपुर : गोदावरी नपा-१२ ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा चलिरहेको छ। घण्टाकर्ण चतुर्दशी गथामुँगका दिन राति नवदुर्गा मन्दिर अगाडि विधिवत् रूपमा बलि सहित पूजाआजा गरेपछि यो जात्रा शुरु भएको हो। ​

पूजा शुरु गर्ने क्रममा ३४ जना गुठियारले स्नान गरी चोखो भएर सामूहिक बाजासहित तान्त्रिक विधिबाट भवानीको पूजा पनि गरेका छन्। नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिपूर्वक पूजा गर्ने क्रममा मन्दिरमा ताल्चा लगाएपछि जात्रा शुरु भएको मानिने नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले बताए।

उनका अनुसार मन्दिरमा ताल्चा १२ वर्षे जात्राको क्रममा एकपटक मात्र लगाइन्छ। अन्य वर्षमा ३ सय ६५ दिन नै खुला राख्ने परम्परा छ। यसरी लगाएको ताल्चा अब भाद्र ९ गते जुग चह्रे तिथिमा पूजाआजा गरी खोलिन्छ ।

जात्राको शुरुको दिनमा नवदुर्गा भवानीका ती गुठियारले राष्ट्रप्रमुखलाई सुपारी चढाउँछन् अनि क्रमशः अन्य पर्वपूजा शुरु हुन्छ। १२ वर्षे जात्रा अवधिभर मुख्य २८ वटा पूजा सञ्चालन गर्नुपर्छ । त्यसका लागि ६० वटा बलि आवश्यक पर्छ।

कुल्पी यज्ञ, पाटन दरवार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ‚ बुङमतीमा नृत्य प्रस्तुत गराइन्छ। साविक दलचोकीमा आँग सिं भनी स्वः सि (चापको काठ) लिन जाने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने, श्वेत भैरवको नृत्य गराउने चलन छ। यो जात्रालाई लिएर अनावश्यक हल्ला नगर्न‚ भ्रममा पार्न र त्रसित नबनाउन पत्रकार सम्मेलनमार्फत आग्रह गरिएको छ। 

१३ देवगणको नृत्य
जात्राका क्रममा विभिन्न १३ देवगणको नृत्य गर्ने चलन छ। नवदुर्गा नाचमा भैरव, काली, वाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बघिनी, इन्द्रायणी र श्वेतभैरव रहेको नवदुर्गा भवानी नाच गुठी संरक्षण समितिका अध्यक्ष प्रशान्त मालीले बताए। उनका अनुसार गणेश बन्ने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ। देवगणको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य भए पनि इन्द्रायणी देवीको भने नृत्य पछिल्लो समय हुन छाडेको छ।

‘नवदुर्गाको शक्तिको रूपमा पुजिने इन्द्रायणीको देवगण बनेर नृत्य गर्ने हरेक गुठियारको मृत्यु हुन थालेपछि पछिल्लो समय यो देवीको भेषमा नृत्य गर्न सबै डराउँदा यो नृत्य लोप हुने अवस्थामा छ’‚ उनले भने, ‘डरले त्यो नृत्य गर्ने आँट कसैले गरेको छैन । यसक्रममा १२ वर्षमा एकपटक मात्रै श्वेतभैरवको नृत्य गराइने चलन छ। १२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिने चलन छ। पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गरिन्छ। जात्राभरि आँग सिं अर्थात् स्वः सि (चापको काठ) ल्याउने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन गर्ने, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने चलन छ।

जात्राको इतिहास 
पाटन दरबारको नाचको विशेष आकर्षण नाचका रूपमा रहने ठेचोको नवदुर्गा नाच हो। ठेचोमा नवदुर्गा देवी जसलाई ‘शिवद्यःचाः’ पनि भनिन्छ। उनै देवीको लिच्छवि राजा मानदेवकी इष्टदेवता मनमानेश्वरी देवीसँग मितेरी साइनो भएको कथन छ। मनमानेश्वरी देवीलाई पनि भगवतीका रूपमा पुजिन्छ। त्यही देवीको आराधनाबाट लिच्छिवि राजाले किराती राजालाई हराएर शासन गरेको भनाइ छ। त्यसैले नवदुर्गा नाचको या १२ वर्षेे जात्रा लिच्छविहरूले पाटनमा किरात वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिएको समितिका अध्यक्ष माली बताउँछन्। भाषा वंशावलीमा उल्लेख भएअनुसार नवदुर्गा नाचलाई लिच्छवि राजा गुणकामदेवले ल्याएको खड्ग जात्राको रूपमा लिइन्छ। जात्राको मुख्य आकर्षण सुनाकोठीको कुल्पी यज्ञ रहेको छ। रातैभरि यज्ञ गरी नयाँ मुकुट, पोशाक, खड्गमा तन्त्र साधना गरी देउताको प्रतिष्ठा गरिन्छ । परम्परा अनुसार यो जात्राका क्रममा नरबलि पनि दिने चलन रहेको भनाइ चल्दै आएको छ । 


के गर्न हुने, नहुने ?

निषेधबारे बस्तीमा ‘नाय खिं’ बाजा बजाई मान्छेहरूलाई सूचित गराइने परम्परा रहेको नवदुर्गा भवानी नाच गुठी संरक्षण समितिका अध्यक्ष प्रशान्त मालीले जानकारी दिए। उनका अनुसार पछिल्लो समयमा सूचना टाँसिने मात्र नभएर सामाजिक सन्जालमै के गर्न हुने, के गर्न नहुने भन्ने विषयमा सूचना नै हाल्ने गरिएको छ। संरक्षण समितिका अध्यक्ष मालीले भने, ‘देउता गुप्तवासमा अर्थात् दुःखमा बस्ने भएकाले यो अवधिमा ठेचोमा खुसियाली मनाउन नहुने परम्परा छ। उनका अनुसार विभिन्न शक्तिपीठबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्छ भन्ने मान्यता छ। त्यसैले यो कर्ममा बाधा नपुगोस् भनी परापूर्वकालदेखि नै राति हिँडडुल गर्न निषेध गरिएको हो’‚ उनले भने।

यो अवधिमा नवदुर्गा गुठीको बाजाबाहेक बस्तीमा अन्य बाजा, घण्ट, सिट्ठी, ताली आदि बजाउन निषेध छ। बिहे, भोजभतेर, व्रतबन्ध गर्न नपाइने नियम छ। नवदुर्गाको फागुन चैतमा हुने धुखः नाचपछि मात्रै निषेध फुकुवा हुनेछ । यो नियम पालना नगरे अनिष्ट हुने कथन छ। देवीलाई गुप्तवास राखेर मंगलबार मारिएको ताल्चा एक महिनापछि मात्र पञ्चदानका दिनमा खुला गरिने भएको मालीले जानकारी गराए। नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ। यो बन्देज नवदुर्गा गुठीको धुःखः नामक नाच सम्पन्न नभएसम्म लागू हुन्छ। धुःखः नामक नाच फागुनचैतमा हुने गर्दछ । 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.