|

काठमाडौं : प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धन पर्व। द्विजातिहरूले नयाँ जनै लगाएर र हातमा रक्षाबन्धन गरी मनाउँदैछन्।

बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। वैदिक धर्मावलम्बीहरूले अध्ययन अध्यापन सुरु गर्ने दिन अर्थात् उपाकर्म पर्व पनि यसै दिन मनाउँछन्। 

शुक्रबार जनैपूर्णिमा मनाइदैछ। उपत्यकाका विभिन्न धार्मिक पिठमा जनै फेर्ने र धागो लगाउनेको भीड लाग्ने गर्दछ।

पशुपतिनाथ क्षेत्रमा पनि विहानदेखि नै भीड जम्मा भएको छ।  विधिपूर्वक पुरोहितबाट हातमा बाँधिएको रक्षासूत्रले विभिन्न विपत्तिबाट बचाउने पुराणमा उल्लेख छ। तराईमा दिदीबहिनीले आफ्ना दाजुभाइका हातमा राखी बाँध्ने चलन पनि छ। 

काठमाडौं उपत्यका र पहाडी भेगमा नौथरी पौष्टिक गेडागुडी उमारेर पकाएर क्वाँटी खाने चलन छ। वर्षामा लागेको चिसो हटाएर शरीरमा ऊर्जा दिन क्वाँटी महत्त्वपूर्ण मानिन्छ।

जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्ड, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, मुस्ताङको दामोदरकुण्ड लगायत तीर्थस्थलमा भक्तजनहरूको घुइँचो हुन्छ। पश्चिमका बडिमालिका, महावै र छायानाथलगायत तीर्थस्ठलमा पनि मेला लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.