|

बिहीबार दुईवटा बलिउड फिल्म 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन' प्रदर्शनमा आएका छन्। 'रक्षा बन्धन'को अवसर पारेर आमिर खानको 'लाल सिंह चड्ढा' र अक्षय कुमारको 'रक्षा बन्धन' प्रदर्शनमा आएका हुन्।

प्रतीक्षित मानिएका दुवै फिल्मले प्रदर्शनको पहिलो दिन औसत कमाइ गरेका छन्। १ सय ८० करोडको लगानी रहेको 'लाल सिंह चड्ढा'ले पहिलो दिन १२ करोडको बक्स अफिस कलेक्सन गरेको छ भने ७० करोड बजेटमा बनेको 'रक्षा बन्धन'ले ७ करोड कमाएको छ। 

तर 'लाल सिंह चड्ढा' र अक्षयको 'रक्षा बन्धन' दुवैले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। जसले विश्वकै ठूला फिल्म उद्योगमध्ये गनिने बलिउडको खराब समयले निरन्तरता पाउने देखिएको छ। 

वर्ष २०२२ मा अधिकांश फिल्मले लगानीसमेत उठाउन नसकिरहेका वेला आमिर खानको 'लाल सिंह चड्ढा' बाट ठूलो अपेक्षा गरिएको थियो। फिल्मले व्यावसायिक रुपमा त राम्रो प्रदर्शन गर्न सकिरहेको छैन नै दर्शकबाट पनि मिश्रित प्रतिक्रिया पाइरहेको छ।

केहीले यो फिल्म सही समयमा प्रदर्शनमा आएको र सबैले हेर्नैपर्ने बताएका छन् भने केहीले फरेस्ट गम्पको नजिक पनि पुग्न नसकेको भन्दै आलोचना गरेका गरेका छन्। 'लाल सिंह चड्ढा' सन् १९९४ को ओस्कार विजेता फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो। 

त्यस्तै अक्षयको 'रक्षा बन्धन'ले पनि दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। तर हलमा दर्शकको उपस्थिति अपेक्षा गरिए अनुसारको छैन। बक्स अफिसमा कमजोर देखिएको अक्षयको 'रक्षा बन्धन' यो वर्षको लगातार तेस्रो फिल्म हो। 

'लाल सिंह चड्ढा'मार्फत आमिरले ४ वर्षपछि पुनरागमन गरेका हुन्। यसअघिको उनको ठग्स अफ हिन्दुस्तानले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेको थिएन।

अक्षय पनि ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’पछि 'रक्षा बन्धन' मार्फत असफलताको शृंखला टुंगाउने दाउमा थिए। तर, 'रक्षा बन्धन'कै अवसर पारेको आएको फिल्मले पनि बक्स अफिसमा उत्साहजनक प्रदर्शन गर्न सकेको छैन। 

कुनै समय आमिर, अक्षय जस्ता अभिनेताका फिल्म प्रदर्शनलाई चलचित्र प्रेमीहरूले उत्सवको रुपमा मनाउने गर्थे।

तर हरेक फिल्म प्रदर्शनको पहिलो दिन बक्स अफिसमा तुफान ल्याउने आमिरको ४ वर्षपछिको पुनरागमन र बक्स अफिसका राजा भनेर चिनिने अक्षयको 'रक्षा बन्धन' भने हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.