धनकुटा : शुक्रबार देशभर गाईजात्रा पर्व मनाइएको छ। गाईजात्रा नेवार समुदायले भदौ कृष्ण प्रतिपदाका दिन मनाउने गरेका छन्।
गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई सिँगारी परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दिने परम्परा छ।
पुत्रशोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरुप हांस्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति छ।
धनकुटामा शुक्रबार विभिन्न टोलबाट गाईजात्रा निकालिएको छ। नेवारी समुदायको बाहुल्य रहेको धनकुटामा निकालिएको गाईजात्रा श्रीवानीमा भेला भएर एकैपटक बजार परिक्रमा गराइएको छ। धनकुटामा यो पटक १९ जनाको नाममा गाईजात्रा निकालिएको छ।
गाईजात्रा मदनचोक, चुवाको बोट, कोशी ग्यास, परिचयम मोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो।
यसरी नगर परिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ। गाईजात्रासँगै लाखे नाच र लाठी नाच निकालिएको थियो।
गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।
हुनत गाईजात्रामा पहिले र अहिले धेरै फरक आइसकेको छ।
पहिले गाई नै चाहिन्थ्यो भने अहिले मानिसलाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको छ। अहिले गाईजात्रालाई दिवंगत आफन्तको नाममा गाईजस्तो आकृति बनाएर नगर परिक्रमा गराउने पर्व भनेर बुझ्न थालिएको नवीनकिशोर शाक्यले बताए। गाईजात्रा यति मात्र त हुँदै नभएको उनको भनाइ छ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना समेत हुने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।