तालमा भेटिन्छन् जयस्थिति मल्लको पालाका सिक्का

|
तस्वीर सौजन्य : कमल खत्री

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनै पूर्णिमाको अवसरमा शुक्रबार पूजाआजा र भाकल पूरा गर्न पुगेका भक्तजन भीड लाग्यो।

समुद्री सतहदेखि ४ हजार ६ सय ६० मिटरको उचाइमा रहेको खयर भारानीमा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन खयर भारानी देवीको पूजा र भाकल गर्न देशका विभिन्न ठाउँहरूबाट भक्तजन आउने गर्छन्।

यस वर्ष जनै पूर्णिमाका दिन (आज) ७ सयभन्दा बढी भक्तजनले खयर भारानीको पूजा तथा भाकल गरेका पूजाका लागि त्यहाँ गएका म्याग्दीका पत्रकार कमल खत्रीले जानकारी दिए।

त्यहाँ रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। पाउद्वार गाउँको शिर तथा अन्नपूर्ण हिमालको फेदीमा खयर भारानी ताल रहेको छ। तालको छेवैमा खयर भारानी देवीको मन्दिर छ।

ताल‚ नांगा पहाड र हिमालले घेरिएको छ। यहाँबाट अन्नपूर्ण, धौलागिरि‚ माछापुच्छ्रे, मनास्लुलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ।

तालमा वरपरका हिमालका छाया दन्तलहरझैँ देखिन्छन्। बिहानीमा मौसम सफा भएका वेला वरिपरिको हरियाली सुन्दर देखिन्छ।

खयर भारानी मन्दिरमा वर्षको एकपटक जनै पूर्णिमाको दिन मेला लाग्ने गर्छ। त्यस दिन यहाँ भक्तजनको घुइँचो नै लाग्छ। यस क्षेत्रमा परापूर्वकालमा अविवाहित देवी खयर भारानीको बसोबास रहेको किंवदन्ती छ।

किंवदन्तीअनुसार बाराही माईका ९ बहिनीमध्ये जेठी बहिनी खयर भारानी हुन्। पोखराको फेवातालका बीचमा रहेकी बाराही देवी माइली बहिनी हुन्। राम्चेकी नांगी बाराही, शिखकी कान्छी बाराही, हिस्तानकी प्यारी बाराही पनि खयरकै बहिनीहरू हुन्।

खयर भारानी देवीको पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ। जनै पूर्णिमाको दिन म्याग्दीका विभिन्न ठाउँका भक्तजन यहाँ पुग्ने गर्छन्। राजधानी काठमाडौं, कास्की, चितवन, रुपन्देही, पर्वत, बागलुङलगायत जिल्लाबाट समेत भक्तजन पुग्ने गरेका छन्। भक्तजनले आफ्नो चाहना–मनोकांक्षा पुजारीलाई भन्ने गर्छन्।

पुजारीले‚ ‘हे देवी भक्तको मनोकांक्षा पुर्‍याइदिनू’ भन्दै तालबाट हिलो माटो, ढुंगा आदि झिकेर भक्तजनलाई दिने गर्छन्। खयर भारानी ताल र मन्दिरमा नरिवल र भेडाका साँडले पूजा गर्ने परम्परा छ। प्रसादका लागि भेटी चढाई धजा लिने गरिन्छ।

खयर भारानीमा पुग्न सदरमुकाम बेनी नजिकैको पाउद्वार गाउँदेखि २ दिन उकालो पदयात्रा गर्नुपर्छ। पाउद्वारबाट हिँडेर पहिलो दिनको बास बस्न खोप्रा डाँडा पुगिन्छ।

खोप्रामा सामुदायिक लज छन्। त्यहाँ खान र बस्नको सुविधा छ। खोप्रा ३ हजार ६ सय ६० मिटरको उचाइमा छ। खयर भारानी खोप्रा लेकबाट १ हजार मिटर उचाइमा रहेकाले हिमाली क्षेत्रको उकालो हिँड्नुपर्छ।

खयरखोलामा बास बसेर जनै पूर्णिमाको दिन राति २ बजेदेखि नै खयर भारानी जान भक्तजनको चहलपहल शुरु हुन्छ। बली चढाउने भेडाका साँड र बोका लिएर भक्तजन खयर भारानीदेखि केही तल रहेको धोती खोलामा राति नै पुगिसकेका हुन्छन्।

उकालो बाटोमा लाइट बालेर हिँडेका भक्तजनको ताँती जुनकिरीझैँ देखिन्छन्। भदौमा यहाँको यात्रा निकै रोमाञ्चक हुने रहेछ। कुहिरो र बादलसँग लुकामारी गर्दै हिँडेको अनुभूति हुन्छ।

वरपरका हिमशृंखला, हरियाली पाखा, विभिन्न प्रजातिका रंगीबिरंगी फूल, झुन्डझुन्डमा देखिने भेडाका बथान, आकाशमा देखिने सफा सेतो बादल, एकान्त ठाउँबाट स्वच्छ हावामा स्पर्श गर्दै उडेका पक्षी देख्दा मनै प्रफुल्ल हुन्छ।

खयर भारानीको थाननजिकै रहेको खयर भारानी तालमा जयस्थिति मल्लको पालाका सिक्का भेटिने गरेको स्थानीय बताउँछन्। यसैले यहाँ धेरै वर्ष पहिलेदेखि पूजाआजा हुने गरेको अनुमान लगाउन सकिन्छ। ताल परिसरमा मन्दिर नभएर थान मात्र रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.